जनकपुरधाम । धनुषामा अपराधको श्रृंखला निरन्तर बढीरहेको बेला इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट गएराति ६ जना फरार भएका छन् ।
राति हिरासत तोडेर ६ अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । डीएसपी क्षेत्रीका अनुसार दुई जना हातहतियार, दुई जना लागूऔषध र दुई जनासहित ६ जना हिरासतमा थिए ।
उनीरुको तीव्र खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ । डीएसपी क्षेत्रीका अनुसार हिरासतमा जम्मा ७ जना थिए । तीमध्य सवारी दुर्घटना मुद्दाका एक जनाबाहेक सबै फरार भएका हुन् ।
इलाका प्रहरीको भवन पुरानो छ । हिरासतपट्टिको भाग कमजोर भएको कारण भित्ता फोडेर उनीहरू भाग्न सफल भएको प्रहरीको भनाइ छ । ‘प्रहरी डिउटीमै थिए, अगाडि । अगाडिबाट भित्रको हिरासतभित्र देखिंदैन । भवन धेरै पुरानो रहेकाले पछाडिबाट फोडेर अभियुक्त भागेछन्’, डीएसपी क्षेत्रीले भने , ‘उनीहरुको तीव्र खोजी कार्य भइरहेको छ ।’
दुई दिन अघी, धनुषामा अवैध हतियार पेस्तोलसहित दुई जना पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार जनकपुरमा पत्रकार सम्मेलन गरी मिथिला नगरपालिकास्थित नक्टाझिझ विश्वकर्मा चोकमा पेस्तोलसहित स्थानीय २६ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर महतोलाई पक्राउ गरिएको जानकारी गराएको हो ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त प्रहरी टोलीले बिहीबार साँझ विशेष सूचनाको आधारमा खानतलासी गर्दा उनीहरुलाई पेस्तोलसहित पक्राउ गरी थप अनुसन्धानको कामलाई अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धुनषाका प्रमुख एसपी विश्वराज खड्काले बताए ।
उनका अनुसार उनीहरुको साथबाट माउजर पेस्तोल १ थान, सो पेस्तोलमा लोड गरिएको म्याग्जिन १ थान र म्याग्जिनमा लोड गरिएको २ थान गोली बरामद गरिएको थियो । सो पेस्तोल भारतीय बजार जटहीबाट खरिद गरी ल्याएको खुल्न आएको उल्लेख गर्दै प्रहरीले थप अनुसन्धानको कामलाई तीव्रता दिइएको पनि जनाएको छ ।
यस्तै यही साता, धनुषा प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । धनुषाको पिडारी चोकबाट लागुऔषधसहित ४ जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपकुमार क्षेत्रीले बताए । पिडारी चोकको दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको अटोमा जुटको बोराभित्र कार्टुनमा राखिएको अवस्थामा प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागुऔषधसहित उनीहरूलाई पक्राउ गरिएको डीएसपी क्षेत्रीले बताए । पक्राउ पर्नेहरुमा प्रदेश २–०२–००१ स ०३५६ नम्बरको अटो चालक धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ, सोही ठाउँ बस्ने ज ११ प ४४४६ नम्बरको मोटरसाइकलमा सवार चालक २२ वर्षीय भरोसी यादव र सोही मोटरसाइकलमा सवार २१ वर्षीय इसराइन नदाफ रहेका छन् ।
अन्य पक्राउ पर्नेहरुमा ज ६ प १७८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका– ४ बस्ने ३२ वर्षीय दीपककुमार पूर्वे डीएसपी क्षेत्रीले बताए । प्रक्राउ पर्नेहरुमाथि थप अनुसन्धान भइरहेको छ ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay