Tuesday Apr 21, 2026


अरवौं ऋणमा बनेको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल सुनसान

Image
२७ पुष २०७९, बुधवार
Avatar
नेपालि खबर

‘यहाँ एयरपोर्ट छ, प्लेन यतै उतारिदेऊ’ भन्ने दिन धेरै टाढा छैन । किनभने, दुई अन्तर्राष्ट्रियसहित अरु केही नयाँ आन्तरिक विमानस्थलहरु तयार भएका छन् । तर, जहाज त्यता पुग्दैनन् । आइतबार उद्घाटित पोखराको क्षेत्रीय विमानस्थल त तयार भयो, तर विदेशबाट आउने जहाज अवतरण गराउने सुरसार छैन । काठमाडौंबाट पोखरा उड्ने डोमेस्टिक जहाजले अबदेखि नयाँ विमानस्थलमा अवतरण गर्ने र त्यहीँबाट उडान भर्ने भएका छन् ।

 

३ किलोमिटर पश्चिममा पुरानो विमानस्थल पनि चालु छ । त्यहाँचाहिँ हेलिकोप्टर, अल्ट्रालाइट (प्याराग्लाइडिङ) सहित त्यहीँबाट उडान हुने विभिन्न सेक्टरका जहाजले सेवा दिने भएका छन् । पोखराबाट १८ सीटे विमानहरुले जोमसोम, भरतपुर र भैरहवाका लागि उडान भर्ने गर्दछन् । ती जहाजले पुरानोबाट र तीभन्दा ठूला जहाजहरुले नयाँ विमानस्थलबाट सेवा दिने भएका छन् ।

 

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जस्तो विदेशी जहाजलाई त्यहाँ अवतरण गराऊ वा उडान तालिका बनाऊ भन्नका लागि पोखराको हकमा प्राविधिक समस्या छ । एक त विमानसेवा सहज बनाउनका लागि एउटा डाँडो पूरै खारिएको छैन, अर्कातिर त्यहाँ जहाज उडान र अवतरणका लागि पाइलटहरुले अलग्गै तालिम लिनुपर्ने हुन्छ । नत्र, जोखिमपूर्ण यात्रा हुनसक्छ । विदेशी विमानलाई अवतरण गराउनका निम्ति ती कम्पनीहरुले यात्रुहरुको सुनिश्चितता खोज्छन् ।

 

पोखरामा हालसम्म ३२० सिरिजसम्मका विमानले अवतरण गराएका छन् । त्योभन्दा ठूलो विमान लैजानका लागि भौगोलिक अवस्था अनुकूल छैन । त्यसैले चीनले विमानस्थल निर्माणका लागि दिएको सहुलियत ऋण तिर्नका लागि आन्तरिकतर्फका हवाई सेवामा भर पर्नुपरेको हो । कुनै पनि विमानस्थलमा एउटा जहाजले एकपल्ट अवतरण गर्दा निश्चित रकम तिर्नुपर्ने नियम छ । 

 

अन्तर्राष्ट्रिय विमानस्थलहरुमा विदेशी विमानको सेवा सञ्चालन गर्ने सरकारको अवधारणा थियो । तर, काठमाडौंको विकल्प निजगढ हो, त्यहाँ विमानस्थल बनाउने कुनै सुरसार छैन । भारतीय चाहनाविपरित भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेबाटै उसले सहज एयर रुट नदिने समस्या आइसकेको छ । त्यसमाथि भारतीय पक्षले कुनै हालतमा बन्नुहुँदैन भनेको निजगढमाथिको अलमल कायमै छ ।

 

उता, नेपालले अब विदेशमा गर्ने उडानहरुको संख्या र गन्तव्यस्थल थप्नुपर्ने स्थिति आइसकेको छ । अहिले नेपाल वायुसेवा र हिमालयन एयरलाइन्सका सेवा एसियाली मुलुकभित्रमात्रै सीमित छन् । नेपालमाथि युरोपेली मुलुकमा उडान प्रतिबन्ध जारी छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले नेपाललाई गम्भीर सुरक्षा चासो (एसएससी) को सूचीबाट हटाए पनि युरोपेली युनियनले हटाएको छैन ।

 

सन् २०१३ मा एसएससीबाट हटेको र २०२२ को सेफ्टी इभ्यालुएसनमा नेपालले ७० नम्बर पाएको छ, तर युरोपेली युनियनले उडान प्रतिबन्ध जारी नै राख्दा नयाँ गन्तव्यमा नेपाली जहाज पुर्याउन समस्या भएको हो । आइकाओको पछिल्लो इभ्यालुएसनलाई ‘धेरै राम्रो’ मान्न सकिन्छ । जनआस्थाले लेखेकाे छ,  उसको शर्त छ, हवाई विभाग फुटाएर रेगुलेसन र सर्भिसलाई छुट्याउने गरी कानुन बनाउनुपर्ने । त्यससम्बन्धी विधेयक संसदमा छ । 


Advertisement

सम्बन्धित खबर