बैतडी : सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउनेको संख्या न्यून छ। यस प्रदेशमा खोपको पूर्ण मात्रा लगाउनेको संख्या भन्दा ‘बुस्टर डोज’ लगाउनेको संख्या आधाभन्दा कम रहेको हो।
प्रदेशका ९ वटै जिल्लामा गरी हालसम्म कुल २२ लाख ३३ हजार ८३१ जनाले कोरोनाविरुद्धको पूर्ण मात्रा लगाएका छन्, जसमा तेस्रो तथा बुस्टर डोजको पहिलो मात्रा लगाउनेको संख्या भने १० लाख १५ हजार ३७ रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।
कैलालीमा सात लाख ३२ हजार ७८९ जनाले पूर्ण मात्रा लगाएकोमा तीन लाख ८६ हजार १८८ जनाले मात्रै बुस्टर डोज लगाएका छन्। कञ्चनपुरमा चार लाख ३९ हजार एक सय ६८ ले पूर्ण र एकलाख ९९ हजार ८५७ ले बुस्टर डोज पाएका निर्देशनालयले जनाएको छ।
यसका साथै प्रदेशभर कोरोना भाइरसविरुद्धको चौथो तथा बुस्टर डोजको दोस्रो मात्रा लगाउनेको संख्या भने २९ हजार ८५६ मात्रै रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ।
रोग फैलिएपछि मात्रै खोप लगाउनुपर्छ भन्ने सोचका कारण बुस्टर डोज लगाउनेको संख्या न्यून भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक मीनराज जोशीले बताए। ‘रोग फैलिएपछि मात्रै खोप लगाउनुपर्छ भन्ने सोच छ’, उनले भने, ‘यसले गर्दा बुस्टर लगाउनेको संख्या कम देखिएको हो। यो सोच हटाएर अनिवार्य रूपमा खोप लगाउन आग्रह छ।’
यसका साथै प्रदेशमा खोप कम मात्रामा आएकोले यो समस्या देखा परेको जोशीको भनाइ छ। ‘सरकारले नै कम मात्रा खोप पठाइदियो,लक्षित समूहलाई मात्र लगाउने उद्देश्यले पनि बुस्टर डोज पाउनेको संख्या कम देखिएको हो। खोप बढी मात्रामा आयो भने सबै समूहलाई लगाउछौँ’, उनले भने।
सुदूरपश्चिममा यसअघि कोभिसिल्ड, अस्ट्राजेनेका, भेरोसेल, जोन्सन एण्ड जोन्सन, फाइजर, मोडर्ना खोप लगाइएको हो। प्रदेशमा हाल पनि कोरोनाविरुद्धको खोप लगाउने अभियान जारी रहेकोले खोप लगाउन बाँकी सबैलाई खोप लगाउन आग्रह गरिएको छ। ५५ वर्षमाथिका नागरिक, दीर्घरोगी, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, कर्मचारीलगायतलाई बुस्टर डोज दिन थालिएको हो, जसका लागि ८९ हजार डोज खोप आएको जोशीले जानकारी दिए।
सुदूरपश्चिममा २०७७ साल माघ १४ गते कोरोना भाइरसविरुद्धको अभियान सुरु गरिएको थियो। प्रदेशमा खोप अभियानको आरम्भ सुदूरपश्चिमका तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए।
भारतसँग सीमा जोडिएको यस प्रदेशमा दैनिक कोरोना संक्रमण बढ्दै छ। संक्रमण देखिने अधिकांश भारतबाट फर्किएका रहेकाले यहाँ जोखिम बढेको छ। प्रदेशका सबै सीमानाकाहरुमा हेल्थ डेस्क स्थापना गरिएको र अनिवार्य कोरोना परीक्षण गराएर मात्रै भित्रिन दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।
संक्रमणको जोखिम बढेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशनालयले भनेको छ। यो प्रदेशमा हालसम्म ६ लाख ४७ हजार ७३४ जनाको कोरोना परीक्षण गरिएको छ, जसमध्ये ६१ हजार ९७७ जनामा संक्रमण पुष्टि भइसकेको छ।
संक्रमणकै कारण यो प्रदेशमा ६३५ जनाले ज्यान गुमाएका छन्।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay