काठमाडौं । आफूले अगाडि सारेका योजना कार्यान्वयन हुन नसकेपछि केन्द्र सरकारले समन्वय नगरेको भन्दै काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले सार्वजनिकरुपमै आक्रोश पोख्न थालेका छन् । विभिन्न मन्त्रालयमा पुगेर सहयोगका लागि आग्रह गरेका उनले पछिल्लो समय केन्द्र सरकार र नेता लक्षित अभिव्यक्ति दिन थालेका छन् । यही क्रममा शनिबार उनले दिएको अभिव्यक्तिप्रति विभिन्न कोणबाट टिप्पणी भएका छन् ।
बागमती किनारका सुकुम्बासी बस्ती हटाउने विषयमा गृह मन्त्रालयबाट सहयोग नपाएपछि असन्तुष्ट महानगर प्रमुख बालेन्द्र शाहले शनिबार बिहानै सिंहदरबारको फोहोर नउठाउने भन्दै केन्द्र सरकारको विरोध गरे ।
गत साता उपप्रमुखहरुको राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गरेका शाहले काठमाडौंको गैरीगाउँस्थित अनधिकृत बस्ती हटाउन शुक्रबार डोजर पठाएका थिए । गृह मन्त्रालय र प्रहरी प्रशासनसँग पहिल्यै समन्वय गरिए पनि बस्ती हटाउने क्रममा स्थानीयले सडकमा टायर बालेर नाराबाजी र अवरोध गर्दा माथिको आदेश नभएको भन्दै प्रहरीले कुनै प्रतिक्रिया जनाएन ।
केन्द्र सरकार मातहकै अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अनुरोधमा महानगरले बागमती खोला किरानाका अव्यवस्थित बस्ती उठाउने प्रयास गरेको काठमाडौं महानगरपालिका १३ का वडाध्यक्ष हिरालाल तण्डुकार बताउँछन् । तर, यस विषयमा संघीय सरकारको असहयोगले नै महानगर खेलौना जस्तो देखिएको उनको भनाइ छ ।
वडाध्यक्ष तण्डुकार भन्छन्, ‘गृह मन्त्रालयले सहयोग नगर्दा हाम्रो प्रयास असफल भयो, समय बर्बाद भयो, इनर्जी खेर गयो । महानगर खेलौना जस्तो भयो ।’
गृह मन्त्रालयको असहयोगका कारण बस्ती व्यवस्थापन गर्न महानगर पछि हट्ने अवस्था आएको उनको गुनासो छ ।
‘सुकुम्बासी व्यवस्थापनको विषयलाई महानगरले बुझेन’
खोला किनारका अव्यस्थित बस्तीलाई काठमाडौं महानगरपालिकाले एउटा कोणले मात्र हेरेको काठमाडौं क्षेत्र नम्बर ५ का सांसद प्रदीप पौडेलको बुझाइ छ । नीति प्रक्रियामै केन्द्र सरकारसँग समन्वय अभावका कारण महानगरले आफ्नो योजना कार्यान्वयन गर्न नसकेको उनको दाबी छ ।
‘सुकुम्बासी बस्ती व्यवस्थापन स्थानीय तहको मात्र समस्या होइन, संघीय सरकारको पनि हो । यो समस्याको एउटा कोण मात्र बुझेर हल हुँदैन’ सांसद पौडेल भन्छन्, ‘सबै कोणबाट बुझेर हल गर्नका लागि संघीय सरकारले स्थानीय सरकारलाई सहयोग गर्नुपर्छ । यो कठिन विषय भएकाले निर्णय गर्ने प्रक्रियामै महानगरले संघीय सरकारलाई जोड्न आवश्यक छ ।’
यो समस्या पुरानो र एकदमै गाँजिएर रहेकाले समाधान गर्न कठिन रहेको पौडेलको भनाइ छ । सुकुम्बासी व्यवस्थापन तीन वटै सरकारको समस्या रहेको बताउँदै उनी भन्छन्, ‘राजधानीका यस्ता समस्या समाधान गर्न सबै तहका सरकारले छलफल गरेर के गर्न एउटा निचोड निकाल्नुपर्छ । अनि आफ्नो अधिकार क्षेत्रभित्र बसेर कार्यान्वयन गर्नुपर्छ ।’
विवादको सिलसिला
शनिबार बिहानै बालेन्द्रले फेसबुक लेखे– ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’
त्यसपछि उनी सडक छेउका प्रहरी कार्यालयहरु हटाउनुपर्ने अन्यथा महानगरले आफैं हटाउने भन्दै अर्को प्रतिक्रियातर्फ लागे, जसले प्रहरी र महानगरवीचको समन्वयको अभावलाई दर्साउँथ्यो ।
गत साता उपमेयरहरुको राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचनामा उत्रेका मेयर शाहले सिंहदरबारको फोहोर नउठाउने भन्दै ‘नेताहरुलाई सिसडोलमा डम्प गर्ने’ जस्तो अराजनीतिक अभिव्यक्ति किन दिए होलान् ? कुन घटनाले मेयर शाहलाई यस्तो उत्तेजित गरायो ? यसबारे विभिन्न अनुमान र विश्लेषण हुन थालेका छन् । तर, यसमा महानगरले थालेका योजनालाई केन्द्र सरकारले गरेको असयोग वा विमति नै मुख्य कारण रहेको महानगर स्रोतको तर्क छ ।
शुक्रबार मात्रै काठमाडौंको गैरीगाउँमा काठमाडौं महानगरले अनाधिकृत बस्ती हटाउन डोजर पठाएको थियो । स्थानीय सुकुम्बासीले सडकमा टायर बालेर नाराबाजी र अवरोध गरेपछि महानगरको डोजर फर्केको थियो । त्यसअघि पनि मेयर शाहले सुकुम्बासी बस्ती हटाउन बल प्रयोगको प्रयास गर्दै आएका थिएक । त्यसका लागि महानगर प्रहरीबाट मात्र सम्भव नभएकाले संघीय प्रहरीले साथ दिनुपर्ने मेयरले माग राख्दै आएका थिए । रवि लामिछाने गृहमन्त्री भएका बेला यही विषयमा कुरा गर्न बालेन्द्रले रविलाई भेटेका थिए ।
अहिले पनि गृह मन्त्रालयले बल प्रयोगमा महानगरलाई साथ दिनुपर्ने बालेन्द्रको माग थियो । तर, शुक्रबार गृहले सहयोग नगरेपछि उनी गृहमन्त्रालय र प्रहरीसँग आक्रोशित बनेको देखिन्छ ।
बागमती किनाराको सुकुम्बासी बस्ती हटाउने विषयमा महानगर र सरकारका अन्य निकायवीचमा समेत मतान्तर देखिँदै आएको छ । यसअघि महानगरले डोजर पठाउँदा भिडन्त भई नगर प्रहरीसमेत घाइते बनेका थिए । गृहले सहयोग नगरेकै कारण नगर प्रहरी घाइते बनेको र दोषीमाथि कारवाही नगरिएको बालेन्द्रले गुनासो गर्दै आएका थिए ।
उता, राष्ट्रिय भूमि आयोगले भने सुकुम्बासी समस्या आफूले हेरिरहेको हुनाले अन्यत्र व्यवस्थापन नगरी बल प्रयोग गरेर हटाउन नमिल्ने तर्क गर्दै आएको छ । अर्कोतर्फ बागमती सभ्यता एकीकृत विकास समितिले पनि नदी किनारका बस्ती हटाउनका लागि सूचना जारी गर्दै आएको छ ।
त्यसो त मेयर शाहले पनि सुकुम्बासी व्यवस्थापनका लागि आयोगसँगको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । तर, आयोगले सुकुम्बासीको लगत संकलनको तयारी गरिरहकै बेला मेयर शाह डोजर चलाउने प्रयासमा छन् । त्यसको विरोधमा सुकुम्बासीहरुले प्रर्दशन गर्दै आएका छन् ।
यसैवीच चैत १५ गते आयोजित कार्यक्रममा काठमाडौंका मेयर शाहले पहिले बागमतीलाई जोगाऔं, अनि लिपुलेक, लिम्पियाधुरा जोगाउँला’ भन्ने टिप्पणी गरे । प्रधानमन्त्री दाहाललाई संघीय सरकार स्थिर नहुँदा स्थानीय तहले दुःख पाएको भन्दै मञ्चबाटै व्यंग्य गरे । जवाफमा प्रधानमन्त्री दाहालले आफ्नो सरकार पाँच वर्ष टिक्छ भनेका थिए ।
शनिबार बिहान मेयर शाहले नै ‘आजदेखि सिंहदरबारको फोहोर उठ्दैन’ भनेपछि अब राजधानीको फोहोर नउठ्ने हो कि भन्ने चिन्ता देखिएको छ । तर, महानगरपालिकाका कर्मचारी भने बालेन्द्रको फेसबुक स्टाटस व्यक्तिगत भएको बताउँछन् ।
राजनीतिक असन्तुष्टिलाई फोहोर उठाउने विषयसँग दाँजेकोमा मेयरप्रति एमाले महासचिव शंकर पोखरेल र पूर्वमुख्यसचिव लीलामणि पौडेलले सामाजिक सञ्जालबाटै आलोचना गरेका छन् ।
काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले भने मेयर शाहको फेसबुक स्टाटसप्रति अनविज्ञता प्रकट गरे । उनले यस विषयमा आफूले बोल्न नमिल्ने भन्दै थप प्रतिक्रिया दिन मानेनन् ।
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले मेयर शाहको स्टाटसले देखिने फोहोरभन्दा पनि नदेखिने फोहोर प्रति इंगित गरेको हुन सक्ने प्रतिक्रिया दिए । उनले नियमित रुपमा फोहोर उठिरहेको जानकारी दिँदै फोहोर उठ्दैन भनेर मेयर शाहले किन फेसबुकमा लेखे, त्यसबारे जानकार नभएको जनाए ।
‘त्यो मेयर साबको व्यक्तिगत कुरा होला । फोहोर नियमित उठिरहेको छ,’ उनले थपे, ‘मेरो विचारमा उहाँले देखिने फोहोरभन्दा पनि नदेखिने फोहोरको कुरा गर्नुभएको होला ।’
प्रवक्ता मानन्धरले महानगरको सुकुम्बासी बस्ती हटाउने अभियानमा केन्द्र सरकारबाट भइरहेको असहयोगप्रति मेयर शाहले असन्तुष्टि जनाएको हुन सक्ने संकेत गर्दै भने, ‘सरकारबाट भइरहेको असहयोगप्रति उहाँले असन्तुष्टि जनाउनुभएको हुन सक्छ ।’
आफूलाई संघले असहयोग गरेको भए आपसी समन्वयन बढाउनुपर्ने वा पत्रकार सम्मेलन गर्ने वा औपचारिक विज्ञप्ति निकालेर आफ्ना धारणा राख्नुपर्नेमा मेयरजस्तो गरिमामय पदमा बसेको व्यक्तिले ‘नेताहरुलाई सिसडोलमा डम्प गर्ने’ बताउनु अमर्यादित र असभ्य तरिका भएको भन्दै दलका नेताहरुले आलोचना गरेका छन् ।
एमाले महासचिव पोखरेल सामाजिक सञ्जालमा लेख्छन्, ‘मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ । जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नैपर्दछ ।’
सिंहदरबारभित्रै रोकियो फोहोर
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आज फोहोर उठेको छैन। शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारको फोहोर आजदेखि नउठ्ने बताएका थिए।
सहरी विकासअन्तर्गत परिवर्तन नेपाल नामक संस्थाले सिंहदरबार क्षेत्रको फोहर उठाउने र सरसफाइ गर्ने काम गर्छ।
मेयर बालेनले फोहोर उठाएर सिंहदरबारबाट बाहिर ननिकाल्न निर्देशन दिएका कारण फोहोर बाहिर ननिकालेको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिए।
‘हामीलाई फोहोर नउठाउन निर्देशन दिनुभएको छ,’ उनले भने, ‘त्यही भएर फोहोर सबै कार्यलयबाट उठाएता पनि सिंहदरबारबाट बाहिर निकालेका छैनौं।’
सिंहदरबारको फोहोर उठाएर अहिले पुतली बगैंचामा राखिएको छ। सिंहदरबारबाट दैनिक पाँच टन फोहोर उठ्ने गरेको छ।
शनिबार (हिजो) बालेन शाहले सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएका थिए।
काठमाडौं महानगर ११ का वडा अध्यक्ष हिरालाल तण्डुकारले वडा तहमा कुनै छलफल नगरी फोहोर नउठाउन बालेनले ठाडो निर्देशन दिएको बताए।
'कर्मचारीहरूलाई फोहोर नउठाउन निर्देशन दिइएको रहेछ। त्यही भएर आज फोहोर उठेको छैन,' उनले भने, 'मेरो वडामा भएको सिंदरबारभित्र फोहर नउठाउने भनेको कुरा उहाँकै फेसबुक स्टाटस पढेर थाहा पाएको हुँ।'
सरकारसँग कुरा नमिलेसम्म फोहोर सिंहदरबारबाट नउठ्ने मेयर बालेनका स्वकीय सचिव भूपदेवले जानकारी दिए।
‘हामीले सरकारका प्रमुखहरूसँग कुराकानी गरेर पटक पटक आफ्ना कुराहरू राखेका छौं,’ उनले भने, ‘तर सहयोग गर्ने भनेर कुरा गरेता पनि कहिले पनि सहयोग गरिएन। त्यही भएर फोहोर नउठाउने कदम चालेका हौं।
शाहका अनुसार महानगरले विशेषगरी सुकुम्बासी बस्ती हटाउन सहयोग मागेको थियो।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay