Saturday Jun 06, 2026


कोरोनाबाट चीनमा एक महिनामा ६० हजारको मृत्यु

Image
१ माघ २०७९, आइतवार
Avatar
नेपालि खबर

एजेन्सी । चीनमा गत महिना शून्य कोभिड नीति परित्याग गरेयता करिब ६० हजार मानिसले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

विश्वस्वास्थ संगठन र अमेरिकालगायतका पश्चिमा देशले कोरोनासम्बन्धी सही सूचना सार्वजनिक नगरेको भन्दै आलोचना गरेपछि चीनले नयाँ तथ्याङ्क सार्वजनिक गरेको हो।

राष्ट्रिय स्वास्थ्य आयोगकी चिकित्सा मामिला प्रमुख जियाओ याहुयीले शनिबार आयोजित पत्रकार सम्मेलनमा डिसेम्बर ८ देखि जनवरी १२ सम्ममा ५९ हजार ९ सय ३८ जनाले कोभिडका कारण ज्यान गुमाएको जानकारी दिएकी हुन्। 

तीमध्ये साढे पाँच हजारले कोभिड संक्रमणका कारण श्वासप्रश्वासमा अवरोध सिर्जना भएपछि ज्यान गुमाएको र बाँकी ५४ हजारले कोभिड र अन्य गम्भीर रोगको सम्मिश्रणका कारण ज्यान गुमाएको जियाओले बताइन्।

यसअघि चीनले ८ तारिख यता डिसेम्बर महिनामा जम्मा ३७ जनाले कोभिडसम्बन्धी संक्रमणका कारण ज्यान गुमाएको जनाएको थियो भने महामारी शुरु भएयता ५ हजारभन्दा बढीले मात्र कोरोनाका कारण ज्यान गुमाएको बताउँदै आएको थियो।


जियाओले कोरोना संक्रमण उच्च विन्दुमा पुगेर अब ओरालो लागिरहेको जानकारी दिएकी थिइन्। गत डिसेम्बर २३ मा २८ लाख ६० हजारभन्दा बढी मानिस ज्वरो क्लिनिक पुगेकामा जनवरी १२ मा यो संख्या घटेर ४ लाख ७७ हजार पुगेका उनले बताएकी छन्।


यसैबीच विश्व स्वास्थ्य संगठनले बेइजिङले नयाँ तथ्यांक सार्वजनिक गरेकोमा त्यसको स्वागत गरेको छ।  अन्तर्राष्ट्रिय स्वास्थ्य विज्ञहरुले चीनमा यस वर्ष कम्तिमा १० लाख मानिसले कोभिडसम्बन्धी संक्रमणका कारण ज्यान गुमाउने प्रक्षेपण गरेका छन्।

Advertisement

सम्बन्धित खबर