Tuesday Apr 21, 2026


नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने विश्व ब्यांकको प्रक्षेपण

Image
२० कार्तिक २०७९, आइतवार
Avatar
नेपालि खबर

आर्थिक व्यूरो । विश्व ब्यांकको विश्व आर्थिक परिदृश्य प्रतिवेदन २०२३ ले नेपालले कोभिड-१९ महामारीबाट परेको प्रभावबाट छिटो पुनरुत्थान गर्न लागेको जनाएको छ। जसले गर्दा विश्व ब्यांकले आर्थिक वर्ष २०७९-८० मा नेपालले ५.१ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको हो। गत आर्थिक वर्ष २०७८-७९ मा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहेको अनुमान गरिएको छ।

विश्व ब्यांकले आगामी आर्थिक वर्ष २०८०-८१ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ। त्यस्तै, दक्षिणएशियाका देशहरुमध्ये भारतको आर्थिक वृद्धिदर सन् २०२२-२३ मा ६.९ प्रतिशत, बाङ्लादेशको ५.२ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।

रुस(युक्रेन युद्धसँगै शुरू भएको विश्वव्यापी खाद्यान्न र उर्जाको महंगो मूल्य तथा मूल्यवृद्धिलाई कम गर्न संसारभरिका केन्द्रीय ब्यांकले अपनाएको वित्तीय कठोर नीतिका कारण दक्षिणएशियाका देशसमेत प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ।

सन् २०२३ मा दक्षिणएशियाको आर्थिक वृद्धिदर ५.५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। यो सन् २०२२ मा ६.१ प्रतिशत रहेको अनुमान छ।

विश्व ब्यांकले दक्षिणएशियामा खाद्यान्नको मूल्यवृद्धिसँगै विपन्न र न्यून आय भएका समूह खाद्य असुरक्षाको संकटमा धकेलिन सक्ने भन्दै चिन्ता जनाएको छ। त्यसैगरी, जलवायु परिवर्तनले यस्ता समूहलाई थप संकटमा पार्नसक्ने जोखिम पनि औंल्याइएको छ।

Advertisement

सम्बन्धित खबर