Tuesday Apr 21, 2026


औद्योगिक क्षेत्रमा दैनिक नौ घण्टा लोडसेडिङ सुरू

Image
२७ पुष २०७९, बुधवार
Avatar
नेपालि खबर

आर्थिक व्यूरो । काठमाडौं । भारतबाट आयात रोकिएपछि नेपालको औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले पिक आवरमा औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ सुरू गरेको छ ।

बिहान सात बजेदेखि ११ बजेसम्म र साँझ पाँच बजेदेखि १० बजेसम्म गरी दैनिक नौ घन्टा औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्न थालिएको हो ।

प्राधिकरणले विराटनगर, वीरगन्ज, नेपालगन्ज, भैरहवा, पोखरालगायतका स्थानका उद्योगलाई पिक आवरमा विद्युत् प्रयोग नगर्न निर्देशन दिएको छ ।

पछिल्लो समय भारतबाट दैनिक २५–२६ सय मेगावाट घण्टा विद्युत् आयात भइरहेको थियो  । तर, बिहार प्रदेशमा भएको एक हजार तीन सय ३० मेगावाट क्षमताको एक पावर प्लान्ट प्राविधिक कारणले बन्द हुँदा आयात रोकिएपछि औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्न सुरु गरेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिनुभयो ।

उद्योगीहरूले भने विद्युत् कटौती गर्दा आफूहरू मर्कामा परेको बताएका छन् । पछिल्लो समय उद्योगहरूमा पर्याप्त मात्रामै विद्युत् आपूर्ति भइरहेको थियो  । एकाएक कटौती हुँदा २४ सै घण्टा चल्नुपर्ने उद्योगहरू प्रभावित भएको उनीहरुको गुनासो छ ।

नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित भएकाले हिउँदमा पानीको सतह घटेर आयोजनाबाट पूर्ण क्षमतामै विद्युत् उत्पादन गर्न सकिन्छ  । सोहीअनुसार नेपालको बिजुली उत्पादन घट्दा आन्तरिक माग धान्न गत मंसिरदेखि नै प्राधिकरणले भारतदेखि विद्युत् आयात गर्दै आएको छ ।

नेपालको पिक विद्युत् माग १७ सय मेगावाट हाराहारी छ  । तर, आयात रोकिएपछि मागअनुसार विद्युत् आपूर्ति गर्न सकिएको छैन् ।

Advertisement

सम्बन्धित खबर