Tuesday Apr 21, 2026


पाँच महिनामा भित्रियो चार खर्ब ८० अर्ब रेमिट्यान्स: विदेशी मुद्रा सञ्चितिमा सुधार

Image
२९ पुष २०७९, शुक्रवार
Avatar
आर्थिक ब्युरो

२९ पुस, काठमाडौं । रेमिट्यान्समा भएको वृद्धि र आयात घटेसँगै व्यापार घाटामा भएको संकुचनले विदेशी मुद्रा सञ्चितिमा सुधार हुँदै गएको छ । उच्च आयातले अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको दबाब कम गर्न भन्दै आयातमा नियन्त्रण गर्ने नीतिले बाह्य क्षेत्रमा सुधार भएको छ ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिना (साउन–मंसिर) सम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजकि गर्दै विदेशी मुद्रा सञ्चिति बढ्दै गएको उल्लेख गरेको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति मंसिर मसान्तमा आउँदा ६.३ प्रतिशतले वृद्धि भई १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

यसबीचमा अमेरिकी डरलको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँमा हिसाब गर्दा ६ प्रतिशत भन्दा माथिले विदेशी विनियम सञ्चिति बढेपनि अमेरिकी डलरमा भने ३ प्रतिशतले बढेको छ । अमेरिकी डलरमा २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०७९ मंसिर मसान्तमा ९ अर्ब ८२ करोड कायम राष्ट्र बैंकले उल्लेख गरेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ११ खर्ब ३९ अर्ब २२ करोड पुगेको छ । यस्तै बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति १ खर्ब ५३ अर्ब ३४ करोड कायम भएको छ । २०७९ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात २०.७ प्रतिशतले, निर्यात ३४.६ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले घटेको छ । रेमिट्यान्स नेपाली रुपैयाँमा २३.० प्रतिशतले र अमेरिकी डलरमा १३.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

आयातमा भएको संकुचन र विदेशी विनियम सञ्चितिमा सुधार हुँदै जाँदा आयात पर्याप्तता सुचकमा पनि सुधार भएको छ । आर्थिक वर्ष २०७९/८० को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.० महिनाको वस्तु आयात र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

Advertisement

सम्बन्धित खबर