Friday Sep 11, 2026


राष्ट्रपतिको सवारी रवाफको चौतर्फी आलोचनाः डाक्टर कुटीएको विषयमा माफी माग्न दवाब

Image
२८ माघ २०७९, शनिवार
Avatar
नेपालि खबर

काठमाडौं । राष्ट्रपति भण्डारीले प्रहरीबाट कुटिएका चिकित्सकसँग माफी माग्नु पर्ने सांसद ज्ञानेन्द्र शाहीले माग गरेका छन् ।

राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका शाहीले विज्ञप्ति जारी गरी राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि कुटपिट भएकोले माफी माग्नुपर्ने बताएका हुन् ।

‘राष्ट्रपतिलाई सम्मान दिनुपर्छ तर जनतालाई सास्ती दिएर चिकित्सकमाथि घटेको घटनाको घोर निन्दा र भत्र्सना गर्दछु,’ उनले भनेका छन्, ‘साथै सम्माननीय राष्ट्रपतले यो विषयमा चिकित्सकसँग माफी मागर्न हार्दिक अनुरोध गर्दछु ।’

राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर फर्किंदा सडक खाली गर्ने क्रममा प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सकलाई कुटपिट गरेको थियो ।

चिकित्सक सर्जरी सकेर फर्किंदै थिए । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीबाट चिकित्सकमाथि नै कुटपिट भएपछि चर्को विरोध भएको छ ।

राष्ट्रपतिको चौतर्फी आलोचना

राष्ट्रपतिको सवारीको बेला सडक खाली गरेर नागरिकलाई सास्ती दिएको भन्दै चौतर्फी आलोचना भएको छ । हिजो राष्ट्रपति विद्यादेवी भण्डारी सङ्घीय संसद् भवन जाँदा र फर्किंदा शीतल निवासदेखि बानेश्वरसम्मको सडक खाली गराइएको थियो ।

सडक खाली गराइँदा विद्यार्थी, बिरामी, कर्मचारीलगायत काम विशेषले हिँड्नुपर्ने नागरिकले सास्ती खेपेको र वीर अस्पताल अगाडि डाक्टरलाई प्रहरीले कुटेको घटना सार्वजनिक भएपछि यसको चौतर्फी आलोचना भइरहेको छ ।

राष्ट्रपतिको सवारी हुँदा नागरिकले सास्ती खेप्नुपर्ने प्रवृत्ति नदोहोर्याउन सामाजिक सञ्जालमार्फत् धेरैले माग गरेका छन् । यसअघि पनि राष्ट्रपतिको सवारीमा सडक खाली गराइँदा नागरिकले विरोध गर्दै आएका थिए । नागरिकलाई सास्ती नहुने गरी सवारी चलाउन पटकपटक माग हुँदै आए पनि सरकार र सुरक्षा निकायले बेवास्ता गर्दै आएका छन् । विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधिमा विशिष्ट सवारीका बेला सडकमा समन्वय गरेर सुरक्षा व्यवस्थापन मिलाइने भनिए पनि सडक खाली गराएर सवारी गर्ने विषय उल्लेख छैन ।

राष्ट्रपतिलगायत अति विशिष्टको सवारीबाट सडकमा अनावश्यक चाप हुन नदिन सडकको एउटा लेन मात्रै खाली गराउने, त्यो पनि सवारी सकिनेबित्तिकै पूरै सडक खुलाउने बहस हुँदै आए पनि यसको कार्यान्वयन भएको छैन । 

सुरक्षाकर्मीलाई कारबाही गर्न माग

नेपाल चिकित्सक सङ्घले डाक्टरलाई कुटपिट गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरेको छ । हिजो राष्ट्रपतिको सवारीको बेला सडकमा हिँडडुल गरेको भन्दै प्रहरीले ट्रमा सेन्टरमा कार्यरत डाक्टर जनिथलाल सिंहमाथि लाठीचार्ज गरेको थियो ।

अस्पतालमा काम सकेर घर जान लागेका डाक्टरलाई परिचयपत्र देखाउँदासमेत सुरक्षाकर्मीले कुटपिट गरेको भन्दै सङ्घले दोषीमाथि कारबाही गर्न माग गरेको हो । आजसम्म कारबाही नभएमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने सङ्घले चेतावनी दिएको छ ।

यस्तै ट्रमा सेन्टरकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर ममता भट्टराईले पनि घटनाको विरोध गर्दै कुटपिट गर्ने सुरक्षाकर्मीलाई कानुनी कारबाही गर्न माग गर्नुभएको छ । उहाँकाअनुसार डाक्टर सिंहको टाउकोमा गम्भीर चोट लागेको छ र उहाँको ट्रमा सेन्टरको आईसीयूमा उपचार भइरहेको छ ।

हिजो सङ्घीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति विद्यादेवी भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडिरहेका डाक्टर सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए । राष्ट्रपतिको सवारी व्यवस्थित गर्न भन्दै सरकारले सधैँ सडक खाली गराउने गरेको छ ।

Advertisement

सम्बन्धित खबर