Tuesday Apr 21, 2026


शीतलहरले महोत्तरीको जनजीवन प्रभावित

Image
२८ पुष २०७९, बिहिवार
Avatar
मधेश ब्युरो

महोत्तरी । शीतलहरले दुई सातादेखि महोत्तरीको जनजीवन प्रभावित बनेको छ।

दिनानुदिन बढेको जाडोले सर्वसाधारणले कामकाज गर्न पाएका छैनन्। सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा चिसोका कारण सर्वसाधारण घरबाहिर कमै निस्किने गरेका छन्। 

बालबालिका र वृद्धवृद्धा बिरामी हुने क्रम बढेको जिल्लास्थित स्वास्थ्य संस्थाले जनाएका छन्। चिसोकै कारण जिल्ला अस्पतालमा बिरामीको संख्या बढेको चिकित्सक बताउँछन्। 

बारी र  खेतमा लगाइएको हिउँदे बाली, दलहन, तेलहन र तरकारी खेती चिसोका कारण कुहिन थालेको किसानले बताएका छन्। 


चिसोकै कारण जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा सर्वसाधारणको चहलपहलमा कमी आएको छ। यातयातका साधन न्यूनरूपमा चल्न थालेका छन्। चिसोकै कारण हाट बजारमा किनमेल गर्न आउनेको संख्या घटेको छ। 


१० नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीका गाउँ बस्तीमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा गोबर, गुइँठा र खर पातको घुर बनाएर आगो बाल्ने गरेका छन्। 


जाडोबाट जोगाउन १५ वटै पालिकाले गाउँ बस्तीमा सर्वसाधारणलाई ताप्नका लागि ठाउँठाउँमा दाउराको व्यवस्था गरेका छन्।


जलेश्वरस्थित नेपाली सेनाको रणभीम गणले गरिब दलित बस्तीमा दाउरा बाल्ने, तातो पानी र चिया दिने काम गरिरहेको छ। जिल्लाभर ३२३ विद्यालयको पठनपाठन पनि बन्द गरिएको छ। 

Advertisement

सम्बन्धित खबर