काठमाडौं।आयातमा संकुचन र रेमिट्यान्स वृद्धि हुँदा बाह्य क्षेत्र निरन्तर सुधार हुँदै गएको छ ।चालु आर्थिक वर्ष २०७९/८० को सुरुको दुई महिना साउन र भदौमा घाटामा रहेको शोधनान्तर स्थिति असोजपछि भने लगातार बचतमा रहेको छ । आर्थिक वर्षको ७ महिना सकिंदा माघमा शोधनान्तर बचत १ खर्ब ३३ अर्ब २१ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आर्थिक वर्षको ७ महिनाको तथ्यांकको आधारमा मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा उक्त तथ्यांक सार्वजनिक गरेको हो । पुस मसान्तमा ९७ अर्ब १० करोड रहेको शोधनान्तर बचत माघ महिनामा मात्रै थप ३६ अर्ब ११ करोडले वृद्धि भएको हो । अमेरिकी डलरमा शोधनान्तर बचत १ अर्ब १ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।
गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको थियो ।
शोधनान्तर स्थितिमा मात्रै नभई चालु आर्थिक वर्षमा चालु खाता घाटमा पनि उल्लेख्य सुधार भएको छ । गत आर्थिक वर्षको ७ महिनामा ४ खर्ब ११ अर्ब ३४ करोड रहेको शोधनान्तर घाटा चालु आर्थिक वर्षको माघ मसान्तमा आउँदा २९ अर्ब ६४ करोडले मात्रै घाटामा रहेको छ ।
व्यापार घाटामा १८.७ प्रतिशतले घटेको र रेमिट्यान्स २७.१ प्रतिशतले वृद्धि हुँदा त्यसको प्रभाव शोधनान्तर स्थित र चालु खातामा देखिएको हो ।
नेपालमा पछिल्लो एक महिना (माघ) महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघमा १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
चालु आर्थिक वर्षको ७ महिना (साउन–माघ)सम्म भने यस्तो रकम ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशतले बढेर ६ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष अमेरिकी डलरमा हुने विप्रेषण आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले बढेर ३ लाख १४ हजार ७६७ जना पुगेका छन् । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १०.१ प्रतिशतले बढेर १ लाख ६७ हजार ७०८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा २६५.९ प्रतिशतले बढेको थियो ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay