Thursday Sep 10, 2026


अमेरिकी उपमन्त्री नुल्यान्डले आज उच्चस्तरीय भेटवार्ता गर्दै

Image
१६ माघ २०७९, सोमवार
Avatar
नेपालि खबर

काठमाण्डाै  नेपाल भ्रमणमा आउनुभएकी अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले आज उच्चस्तरीय भेटवार्ता गर्दै हुनुुहुन्छ ।

हिजो वासिङ्टन डीसीबाट सिधै नेपाल आउनुभएकी उहाँले नेपालको नयाँ सरकारसँग अमेरिकी साझेदारीको बृहत् एजेन्डामा छलफल गर्न लाग्नुभएको हो ।

उहाँले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला पौड्याल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । काठमाण्डौमा रहेको अमेरिकी दूतावासका अनुसार उपमन्त्री नुल्यान्डले पाटन दरबार स्क्वारको भ्रमण पनि गर्नुहुनेछ ।

नुल्यान्डले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अवलोकन गर्ने भन्दै दूतावासले नेपालको सांस्कृतिक सम्पदामा अमेरिकालाई गर्व महसुस भएको उल्लेख गरेको छ ।

नुल्यान्ड अमेरिकाकी एक अनुभवी कुटनीतिज्ञ हुनुहुन्छ । उहाँले ३३ वर्ष कुटनीतिक क्षेत्रमा काम गरिसक्नुभएको छ । उहाँ तीन वर्षदेखि अमेरिकाको राजनीतिक मामिला सम्बन्धी उपमन्त्री हुनुहुन्छ । उहाँले राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री जोन केरीको नेतृत्वको बेलामा सन् २०१३ देखि २०१७ सम्म युरोपेली र युरेपियन मामिलाका लागि सहायक मन्त्रीको रुपमा काम गर्नुभएको थियो ।

यस्तै, अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनको कार्यकालमा प्रवक्ता र राष्ट्रपति जर्ज डब्ल्यू बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेशनको लागि अमेरिकी राजदूतको रुपमा पनि उहाँले काम गर्नुभएको थियो । 

Advertisement

सम्बन्धित खबर