मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने गरी बुधबारका लागि बोलाइएको प्रदेशसभा बैठकमा कांग्रेसका सांसद्हरु अनुपस्थित भएपछि बुधबारको संसद बैठक स्थगित भयो ।
सोहिकारण विश्वासको मतका लागि शुक्रबार दिउँसोे बैठक बस्दैछ । बुधबार विश्वासको मत दिनुपर्ने कांग्रेस काठमाडौंबाट हेटौंडा नर्फिएर विश्वासको मतको कार्यक्रम नै स्थगन गर्नु परेको अवस्थामा शुक्रबार बस्ने बैठकबाट मुख्यमन्त्री जम्कट्टेलले विश्वास मत पाउलान् वा पुनः कुनै अवरोध आउला ?
सत्ता गठबन्धनमा रहेको कांग्रेसले नै माओवादीका मुख्यमन्त्रीलाई बिश्वासको मत दिन आनाकानी गरेपछि बागमतीका मुख्यमन्त्री जम्कट्टेल अलमलमा परेका छन् ।
मुख्यमन्त्रीमा नियुक्त भएको २ महिना पनि नबित्दै अल्पमतमा परेका उनलाई गठबन्धनले साथ नदिने त होइन ? भन्ने चर्चा चलेको छ । त्यसोत, केन्द्रमा सरकारबाट बाहिरिएको एमालेका मन्त्रीहरुले बागमती सरकारबाट नबाहिरिँदा शंका मानेको कांग्रेसले एमाले सत्तामा रहँदा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने एजेण्डामा रहेको बुझिएको छ ।
एमालेले राजीनामा नदिएसम्म सरकारमा सहभागी नहुने कांग्रेसको अडान छ । यता, बुधबार नै प्रदेश सभा बैठक स्थगित भएपछि सरकारबाट राजीनामा दिने तयारी गरेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिएनन् ।
त्यसोत मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिन आव्हान गरेको प्रदेशसभा बैठकमा नै एमालेका चार मन्त्रीले राजीनामा दिने तयारी गरेका थिए। रोष्टमबाटै राजीनामाको घोषणा गर्ने र पछि मुख्यमन्त्रीलाई पत्र बुझाउने तयारीमा एमालेका मन्त्रीहरु थिए । तर बैठक स्थगित हुँदा शुक्रबारको बैठकपछि बाहिरिने एमालेका मन्त्री बताउँछन्।
केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका कारण वागमतीमा आफ्नो दाबी रहेको कांग्रेसले बताइरहेको अवस्थामा समय खट्काउँदै लगेर १३ गते पछि सरकार ढाल्ने खेलमा कांग्रेस लाग्न सक्ने समेत माओवादीका सांसदहरुले आंकलन गरेका छन्।
यता, कांग्रेसकै आन्तरिक कुराहरुको कारण बुधबारको प्रदेश सभा बैठकमा उपस्थित हुन नपाएको बताउँदै शुक्रबारे बैठकमा कांग्रेसका ३७ सांसदलेनै विश्वासको मत दिनेमा मुख्यमन्त्री जम्मकट्टेल ढुक्क देखिन्छन् ।
यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसद्को विश्वासको मत पाएका थिए । १ सय १० सांसद् रहेको प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तिमा ५६ सांसद्को समर्थन आवश्यक पर्छ ।
तत्काल माओवादीका जम्मरकट्टेललाई विश्वासको मत दिएपनि ३ महिनापछि कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने दावी नेताहरुले जनाएका छन् ।
प्रदेशमा सबभन्दा ठूलो दल कांग्रेसका ३६, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद् छन् ।
मुख्यमन्त्री जम्कट्टेललाई सत्ता गठबन्धनका ३ दलका ६७ सांसद्को समर्थन प्राप्त हुने देखिन्छ ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay