Saturday Jun 06, 2026


राष्ट्रिय जनगणना २०७८ का केहि रोचक तथ्य

Image
११ चैत २०७९, शनिवार
Avatar
नेपालि खबर

काठमाडौं । नेपालमा एक दशक अवधिमा साक्षरता र सम्पत्तिमा महिला स्वामित्वजस्ता सामाजिक सूचकमा सुधार देखिएका छन् । बिजुली र एलपी ग्यासको प्रयोग पनि बढेका छन् । तर, खाना पकाउन अझै दाउरा प्रयोग गर्ने नेपालीको संख्या आधाभन्दा बढी रहेको जनगणनामा देखिएको छ ।


राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको २०७८ को जनगणना प्रतिवेदनअनुसार नेपालमा कुल साक्षरता प्रतिशत ७६ दशमलव २ प्रतिशत पुगेको छ । २०६८ को तुलनामा १० दशमलव ८ प्रतिशत साक्षरता वृद्धि भए पनि सरकारले २०६५ मै लागु गरेको निरक्षरता उन्मूलन गर्ने नीतिअनुसार लक्ष्य अझै टाढा देखिएको छ । सहरी क्षेत्रमा ७८.५ प्रतिशत र ग्रामीण क्षेत्रमा ७१.९ प्रतिशत जनसंख्या साक्षर छ । सबैभन्दा धेरै साक्षरता काठमाडौंमा र कम रौतहटमा देखिएको छ । उच्च शिक्षा अध्ययनमा सबैभन्दा धेरै ३५ दशमलव १ प्रतिशतले व्यवस्थापन विषय रोजेका छन् भने २९ दशमलव ९ प्रतिशतले शिक्षा अध्ययन गरेको देखिएको छ ।


१५ देखि ४९ वर्षसम्मका ६१ लाख ४५ हजार ३९ विवाहित महिलाले हालसम्म एक करोड २७ लाख ९९ हजार ६९ सन्तान जन्माएका छन् । जसमध्ये छोरा ५२ दशमलव ७ प्रतिशत र छोरी ४७ दशमलव ३ प्रतिशत छन् । विवाहित महिलामध्ये १२ प्रतिशतले सन्तान जन्माएका छैनन् । कुल जीवित जन्मिएका शिशुमध्ये ३ दशमलव २ प्रतिशतको मृत्यु भएको छ । देशमा कुल ६६ लाख ६६ हजार ९ सय ३७ परिवारमध्ये ४५ लाख ६३ हजार ६ सय ५९ अर्थात् ६८ दशमलव ४५ प्रतिशत परिवारमूली पुरुष छन् भने बाँकी २१ लाख ३ हजार २७८ अर्थात् ३१ दशमलव ५५ प्रतिशत परिवारमूली महिला छन् । २०६८ को जनगणनामा परिवारमूली महिलाको संख्या २५ दशमलव ७३ प्रतिशतमात्रै थियो ।


जनगणनाअनुसार कुल २३ दशमलव ८ प्रतिशत परिवारमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुवै रहेको पाइएको छ । कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ९५ दशमलव ५ प्रतिशतले शौचालयको प्रयोग गर्ने गरेका छन् भने ४.५ प्रतिशत परिवारसँग अझै पनि शौचालयको पहुँच नभएको तथ्यांक छ । उमेर समूहअनुसार १५ देखि ५९ का क्रियाशील श्रमशक्ति ६१ दशमलव ९६ प्रतिशत छन् जुन अघिल्लो जनगणनामा ५६ दशमलव ९८ प्रतिशत थियो ।


यस्तै नेपालमा अझै पनि आधाभन्दा बढी जनसंख्याले खाना पकाउन दाउरा प्रयोग गर्ने गरेका छन् । कुल परिवारमध्ये आधाभन्दा बढी अर्थात् ५१ प्रतिशत परिवारले खाना पकाउन अक्सर काठ वा दाउरा प्रयोग गर्ने गरेका छन् । ४४ दशमलव ३ प्रतिशतले एलपी ग्यास र शून्य दशमलव ५ प्रतिशतले मात्रै बिजुली प्रयोग गर्ने गरेको तथ्यांक छ ।


कुल जनसंख्याको २ दशमलव २ प्रतिशत अर्थात् ६ लाख ४७ हजार ७ सय ४४ जनामा कुनै न कुनै प्रकारको अपांगता रहेको छ । तीमध्ये ३ लाख ५१ हजार ३ सय १ पुरुष छन् भने २ लाख ९३ हजार ४ सय ४३ महिला छन् ।


नेपालमा २ हजार ९ सय २८ जना अन्य लिंगी छन् । जुन कुल जनसंख्याको शून्य दशमलव शून्य १ प्रतिशत हो । जनगणना अनुसार देशभर ७५ लाख ५२ हजार ६६ संरचनामा ७१ दशमलव ७ प्रतिशत आवासको रुपमा रहेको छ भने गोठ धन्सारको रुपमा १० प्रतिशत उपयोग हुँदै आएको छ । सहरी क्षेत्रमा बस्नेको संख्या गाउँको तुलनामा बढ्दो छ । तथ्यांक अनुसार सहरी क्षेत्रमा ६६ दशमलव १७ प्रतिशत नागरिक बसेका छन् गाउँको जनसंख्या ३३ दशमलव ८३ प्रतिशत छ । स्थानीय तहको समायोजनयता मात्रै सहरी जनसंख्या ३ प्रतिशतले बढेको छ भने ग्रामीण जनसंख्या त्यही हाराहारीमा घटेको देखिएको हो ।

Advertisement

सम्बन्धित खबर