ललितपुर।ललितपुर महानगरपालिका वडा नं १ कुपण्डोलमा दादुराको लक्षण भएका बिरामी भेटिएका छन् । कुपण्डोलका विभिन्न विद्यालयमा दादुरा रोगको शङ्कास्पद बिरामी भेटिएका वडा कार्यालयले जनाएको छ ।
वडाका अनुसार अहिलेसम्म लक्षण देखिएका १० जना विद्यार्थीहरुको रिपाेर्ट परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र पाटन अस्पतालमा पठाइएको छ । दादुरा रुबेलाको महामारीलाई नियन्त्रण तथा रोकथाम गर्नको लागि बिरामी देखिएका विद्यालय बन्द गर्ने तयारी समेत गरिएको छ।
आधारभूत स्वास्थ्य केन्द्र १ वडाका प्रमुख मघुकरमणि आचार्यले दादुराको सङ्क्रमण पुष्टि भए छुट्टै आइसोलेशनमा बस्न र तत्काल वडामा जानकारी दिन समेत अनुरोध गर्नुभएकाे छ । ललितपुर महानगरपलिकाका प्रवक्ता राजु महर्जनले टेकुमा गरिएको नमुना परीक्षणमा रिपोर्ट नेगेटिभ अर्थात् दादुराको सङ्क्रमण नभएको जानकारी आएको बताउनु भयाे । तर, पाटनमा गरिएको परीक्षणको रिपोर्ट भने आउन बाँकी छ।
दादुरा छिट्टै सर्ने र फैलने रोग भएकाले सतर्क अवस्थामा रहेको उहाँले बताउनुभयो ।
यसअघी पुष दोस्रो साता बाँकेको नेपालगन्जमा दादुरा संक्रमण फैलिएपछि सरकारले खोप तथा खोज अभियानलाई तीव्र बनाएको थियो । त्यसवेला, नेपालगन्जका १० वटा वडाका ९० भन्दा बढी बालबालिकामा दादुराको संक्रमण देखिएपछि सरकारले १८ सयभन्दा बढी बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप दिएको जनाएको छ । यसबाहेक अन्य क्षेत्रमा पनि दादुरा संक्रमण फैलिएको छ कि छैन भनेर अध्ययन भईरहेको बेला ललितपुर मै दादुराको लक्ष्यणयुक्त विरामी भेटीएका हुन् । दादुराको शंका लागेमा स्वास्थ्यकर्मीले पहिचान गर्ने र प्रदेश तथा स्थानीय तहको सहकार्यमा त्यसको व्यवस्थापन गर्ने परिवार कल्याण महाशाखाले जनाएको छ। महाशाखाले खोप लगाउन छुटेका बालबालिकाको पहिचान गरेर माघपछि खोप कार्यक्रम चलाई रहेको छ ।
कोरोना महामारीका बेला कतिपय बालबालिका दादुरा विरुद्धको खोप लगाउन छुटेकाले पनि सङ्क्रमण देखिएको हुन सक्ने आशङ्का गरिएको छ । दादुरा रोकथामका लागि दादुरा विरुद्धको खोप नै उत्तम विकल्प भएकाले आफ्ना बालबालिकालाई खोपबाट नछुटाउन डाक्टरको आग्रह छ।
बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउने गरिन्छ । तर खोप अभियानका बेला यसअघि लगाएका र छुटेका १५ वर्षसम्मका सबै बालबालिकालाई खोप दिने गरिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा.विवेककुमार लालले बताउनुभयो।
उहाँका अनुसार दादुरा सङ्क्रमित बालबालिकामा ज्वरो आउने, नाकबाट पानी बग्ने, शरीरमा राताराता बिमिरा आउने लक्षण देखिन्छ। नेपालले सन् २०१९ सम्ममा दादुरा उन्मूलन गर्ने लक्ष्य राखे तापनि बेलाबेलामा प्रकोप देखिएकाले सन् २०२३ सम्ममा उन्मूलन गर्ने लक्ष्य सारिएको थियो । तर यही समयमा फेरि दादुराका सङ्क्रमित भेटिन थालेका छन्।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay