काठमाडौँ—एकीकृत समाजवादीले वेदुराम भुसाल र प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ । पार्टी उपाध्यक्ष तथा राष्ट्रिय सभामा दलका नेता रहेका भुसालको नेतृत्वमा प्रतिनिधिसभामा प्रमुख सचेतक प्रकाश ज्वाला सरकारमा सहभागी हुने भएका हुन् ।
पार्टीको पदाधिकारी बैठकले दुवै जनालाई सरकारमा पठाउने निर्णय गरेको हो । यद्यपि उनीहरूलाई कुन कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे यकिन भइसकेको छैन ।
उपाध्यक्ष भुसालले पार्टीले दुवै जनालाई सरकारमा पठाउने निर्णय गरेको जानकारी दिए । उनले भने, 'मलाई र प्रकाश ज्वालालाई सरकारमा पठाउने निर्णय भएको छ । प्रधानमन्त्रीकहाँ नियुक्तिका लागि नाम पठाउने निर्णय भएको हो ।'
एकीकृत समाजवादीले तीन मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएकोमा अन्तिममा दुई मन्त्रालयमा सहमति जुटेको बताइएको छ ।
यसैबीच, नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुनेबारेमा प्रधानमन्त्री जवाफको प्रतिक्षा गर्ने भएको छ । बुधवार बसेको पार्टीको पदाधिकारी बैठकले आफ्नो दाबी तीन वटा मन्त्रालयमा रहेकोमा मन्त्रालय प्राप्त नभइसकेको र मन्त्रालय टुङ्गो पनि नलागेका कारण प्रधानमन्त्रीको उत्तरको प्रतिक्षामा रहेको बताएको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले आफ्नो पार्टीले धेरै त्याग गरिसकेकाले अब आफूले मागेका तीन वटा मन्त्रालयमा आफ्नो पार्टीको अडान रहेको बताएका छन् । खतिवडाले भने, तीन वटा मन्त्रालयमा हाम्रो दाबी छ । मन्त्रालय प्राप्त भइनसकेको र मन्त्रालय पनि टुङ्गो लागि नसकेकाले हामी प्रधानमन्त्रीको उत्तरको प्रतिक्षामा छौँ । जुनकुनै बेला पनि मन्त्रीको नाम दिनसक्ने गरी तयारीमा छौँ ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay