Wednesday Sep 09, 2026


गठबन्धनको बैठक बालुवाटारमा: मन्त्रिपरिषद् विस्तार र सरकारको न्यूनतम साझा कार्यक्रम आजै

Image
१६ चैत २०७९, बिहिवार
Avatar
नेपालि खबर

काठमाडौं । मन्त्रालय भागबन्डा मिलेसँगै मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सत्ता गठबन्धनको बैठक बसेको छ ।


प्रधानमन्त्री निवास बालुवाटारमा जारी गठबन्धनको बैठकमा अधिकांश नेताहरुको सहभागिता छ । मन्त्रिपरिषद् विस्तार अघि प्रधानमन्त्री दाहालले दलहरुसँग छलफल गरेका हुन् ।


बुधबार सत्ता गठबन्धनबीच मन्त्रालय संख्यामा समझदारी बनेसँगै प्रधानमन्त्री दाहालले आज मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । मन्त्रालय भागबन्डाको लगभग टुंगो लागेपनि कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे यकिन भइसकेको छैन । त्यसलाई पनि टुंग्याएर आजै मन्त्रिपरिषद विस्तारको तयारीमा लागेका प्रधानमन्त्री दाहालले गठबन्धन दलका नेताहरुसँग संयुक्त तथा एक्लाएक्लै छलफल गर्ने भएका छन् ।


दलहरुले ठूला बजेट भएका मन्त्रालयमा दोहोरो–तेहरो दाबी गरेकाले त्यसलाई मिलाउन प्रधानमन्त्रीलाई सकस परेको छ । यद्यपि, महिना दिनदेखि अधिकांश मन्त्रालय मन्त्रीविहीन रहेको र सरकार विस्तारमा ढिलाइ भइरहेकाले ती सबै विषयलाई आज साँझसम्म मिलाएर मन्त्रिपरिषद विस्तार हुने नेताहरुको दाबी छ ।


बुधबारको समझदारी तलमाथि नभए मन्त्रिपरिषद विस्तार र शपथ आजै हुने कांग्रेस नेताको भनाइ छ । दलहरुले आ–आफ्नो पार्टीको भागमा परेको मन्त्रालयमा मन्त्रीहरुको नाम आजै दिँदै छन् ।


बुधबारको गठबन्धन बैठकमा कांग्रेस ८, माओवादी ५, जसपा र एकीकृत समाजावादी २ – २, लोसपा १, नाउपा १, जनमत १ (राज्यमन्त्रीसहित), आमजनता र नेसपाले १ – १ मन्त्रालय लिने सहमति भएको छ । प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराउने तयारी गरेका छन् । यद्यपि, पार्टी सभापति रवि लामिछाने नेतृत्वमा सरकारमा सहभागी हुने अडान लिएका कारण तत्काल रास्वपा सरकारमा सहभागी हुने देखिएको छ । लामिछानेको सांसद पद खारेज भएको र गैरसांसदलाई सरकारमा सहभागी गराउने विषयमा गठबन्धनभित्र विवाद भएको छ।


सत्ता गठबन्धनमा कांग्रेसले अर्थ, परराष्ट्र, रक्षासहित ८ मन्त्रालय पाउने समझदारी भएको छ । गृह मन्त्रालय माओवादीले आफैँसँग राख्न चाहेपछि कांग्रेसलाई अर्थ मन्त्रालय दिने सहमति भएको हो ।


प्रमुख सत्तारुढ दल कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काले र एकीकृत समाजवादीबाट उपाध्यक्ष बेदुराम भुसालले दलको तर्फबाट सरकारमा नेतृत्व गर्दै छन् । मन्त्रिपरिषद् विस्तारपछि आजै सरकारको न्यूनतम साझा कार्यक्रम पनि सार्वजानिक गर्ने तयारी छ ।


१० पुसको सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री दाहालले एक महिनादेखि १६ मन्त्रालय आफैं चलाइरहेका छन् । १५ माघदेखि जनमत पार्टीका एक र माओवादी केन्द्रका चार मन्त्री मात्रै सरकारमा छन् । 

Advertisement

सम्बन्धित खबर