Friday Jan 09, 2026


ललितपुर मेयर कपः उपाधिमा एपीएफको ह्याट्रिक

Image
१६ चैत २०७९, बिहिवार
Avatar
खेलकूद ब्युरो

काठमाडौं । विभागीय टिम एपीएफले ललितपुर मेयर कप महिला टी-२० क्रिकेट प्रतियोगिताकाे उपाधिमा ह्याट्रिक गरेको छ ।


तेस्राे संस्करणको फाइनल खेलमा विभागीय टोली एपीएफले कोशी प्रदेशलाई ५४ रनले हरायाे ।

यो प्रतियोगिताको इतिहासमा अहिलेसम्मकै धेरै १५५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर १०० रनमात्र बनाउन सक्यो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३५ रन बनाइन् ।


पहिलो ओभरदेखि नै चोटका कारण असहज महशुस गरेकी उनी १३.२ ओभरमा विनु बुढामगरको बलमा बोल्ड हुनुअघि ४१ बल खेलेर ४ चौका प्रहार गरेकी थिइन् ।

कोशीकी अर्की ओपनर काजल श्रेष्ठले ६ रन बनाइन् । अप्सरी बेगमले १० रन जोडिन् । स्मृति कटुवालले ८ र नमिता श्रेष्ठले ७ रन जोडिन् । लतिका राजवंशी २१ रनमा अविजित रहिन् ।


बलिङमा एपीएफकी बिनु बुढामगरले २ विकेट लिइन् । उनले ४ ओभरमा १८ रन खर्चिइन् । रेखा रावल, सोनु खड्का र नेरी थापाले समान १–१ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको एपीएफले कप्तान सीता रानामगर र इन्दू बर्माको शतकीय साझेदारीमा मेयर कपकै सर्बाधिक १५४ रनको योगफल खडा गरेको थियो ।


ओपनर ज्योति पाण्डे २ रन बनाएर आउट भएपछि आएकी इन्दूसँग मिलेर सिताले दोस्रो विकेटका लागि १३६ रनको साझेदारी गरिन् । मेयर कपको तीन संस्करणमा यो सबैभन्दा ठूलो साझेदारी रह्यो ।


यसअघि पहिलो संस्करणमा आयोजक टिमका लागि अस्मिना कर्माचार्य र सुमन खतिवडाले १०८ रनको साझेदारी गरेका थिए ।


ओपनर सीताले ७९ रनको अविजित अर्धशतकीय पारी खेलिन् । उनले ६८ बलमा ९ चौका र २ छक्का प्रहार गरिन् । सीताले एपीएफको उपाधि यात्रामा दोस्रो अर्धशतक बनाएकी हुन् । यसअघि सुदूरपश्चिमविरुद्ध उनले ५२ रन जोडेकी थिइन् ।


त्यस्तै तेस्रो क्रममा आएकी इन्दुले ४१ बलमा ५ चौका र १ छक्का सहित ५१ रनको अविजित अर्धशतकीय पारी खेलिन् । एपीएफले २२ अतिरिक्त रन पाएकोको थियो । एपीएफको एकमात्र विकेट कोशीकी एलिसा खडियाले लिएकी हुन् ।


समूह चरणकाे खेलमा पनि एपीएफले काेशीमाथि ७ विकेटकाे जित रचेकाे थियाे । ५ टिम सम्मिलित प्रतियाेगितामा शीर्ष २ टिमले फाइनल खेलेका हुन् । एपीएफ अपराजित रहँदै उपाधि उठाउन सफल रह्रयाे ।

Advertisement

सम्बन्धित खबर