काठमाडौं । दुई साताको विश्रामपछि सहिद स्मारक ए डिभिजन लिग आज (सोमबार) देखि पुनः सन्चालन हुँदै छ । यसबीचमा मोफसलमा पाँच वटा नकआउट प्रतियोगिता भए भने राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री थ्री नेसन्स कप खेल्यो ।
यस व्यस्त तालिका लगत्तै खेलाडी ए डिभिजन लिगमा सहभागी हुँदैछन् । एन्फाले सार्वजनिक गरेको लिगको तालिकाअनुसार खेलाडीले आराम गर्ने मौका कमै पाउँछन् । छैटौं चरणको खेल सुरु हुँदासम्म लिगले भने मुख्य प्रायोजक नै भेटेको छैन ।
छैटौं चरण अन्तर्गत आज दुई खेल हुँदैछन् । दिउँसो २ बजे ललितपुरको च्यासल मैदानमा दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने छ । यस्तै एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो २ बजे संकटा क्लब र एफसी खुमलटारले खेल्ने छन् ।
लिगको पाँचौं चरण सकिँदासम्म तालिका रोचक बनेको छ । गत सिजन मात्रै शीर्ष डिभिजनमा डेब्यु गरेको सातदोबाटो १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । ८ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी ११ अंकसहित अपराजित रहँदै दोस्रो स्थानमा छ ।
साबिक विजेता मछिन्द्र रेलिगेसन जोनभन्दा मात्र एक स्थान माथि छ । तर दक्षिण एसियामा प्रभावशाली स्ट्राइकरको छवि बनाएका भुटानी खेलाडी चेन्चो ग्याल्छेनको अनुबन्धले मछिन्द्रको चर्चा बढेको छ । सातदोबाटो, मनाङ, चर्च ब्वाइज, जावालाखेल तथा त्रिभुवन आर्मी उपाधि दौडमा रहँदा एनआरटी र नेपाल पुलिस रेलिगेसन जोनमा छन् ।
सातदोबाटो लिगमा अग्रता कायमै राख्ने प्रयासमा रहँदा पुलिस बाँकी खेलमा लय समाउने अवसरको खोजीमा हुनेछ । एन्फाले लिगको १३ औं चरणसम्मको तालिका सार्वजनिक गरेको छ । तर तालिकामा विश्राम कतै राखिएको छैन । नेपाली फुटबलका प्रमुख प्रशिक्षक भेन्चेन्सो अल्बर्तो एनेसले भद्रगोल फुटबल खेलको सरंचनाप्रति आपत्ति जनाएका छन् ।
पेरिस ओलम्पिक छनोटअन्तर्गत महिला फुटबलको खेल हुने दिन चैत २२ र २५ गते भने लिगका खेल हुने छैनन् । त्यसपछि नयाँ वर्षको दिन बाहेक लिगमा विश्राम छैन । लिग छैटौं चरणमा प्रवेश गरिसक्दासमेत आर्थिक संकटमा रहेको एन्फाले मुख्य प्रायोजक नै भेटेको छैन ।
व्यावसायिक लिगको उद्देश्य स्तरीय खेलाडी उत्पादन गर्नु हो । तर एन्फाको उद्देश्य क्षमतावान खेलाडी उत्पादनमा भन्दा जतिसक्दो छिटो लिग सक्ने देखिन्छ । यसतर्फ क्लबहरु पनि चुपचाप छन् ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay