Tuesday Apr 21, 2026


जनमत पार्टीले सरकार छाड्योः प्रचण्डले फेरि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ?

Image
१७ चैत २०७९, शुक्रवार
Avatar
नेपालि खबर

काठमाण्डौ।खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले राजीनामा दिएका छन्। 


मन्त्री खानले शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पत्र बुझाएका हुन्। 



मन्त्री खान डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट सरकारमा सामेल भएका थिए।


सरकार विस्तारका लागि भागबन्डामा जनमत पार्टी असन्तुष्ट बनेको छ। यससँगै जनमत संघीय सरकारबाट बाहिरिएको छ।


गत पुस ११ गते नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धनबाट खान मन्त्री बनेका थिए।


सुरुदेखि नै उद्योग मन्त्रालयमा दाबी गर्दै आएको जनमत पार्टीलाई शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन हुँदा पनि खानेपानी राखेपछि खानले राजीनामा दिएका हुन्।


पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गठन भएको सरकारले देस्रो पटक विश्वासको मत लिएको १० दिन नबित्दै सत्ता सहयात्री दल जनमत पार्टी सरकारबाट बाहिरिएको छ । सरकारलाई समर्थन गरेर विश्वासको मत दिएको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी नभईरहेको बेला शुक्रवार नै जनमत पार्टीका एक मन्त्रीले सरकार छाडेका हुन् ।  


पुस १० गते सरकार निर्माण गर्दाको सहमति विपरीत माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले यसअघी पनि उद्योग मन्त्रालय नदिएको र अहिले पनि अन्तिम समयमा उद्योग मन्त्रालय अर्कै दललाई दिएको भन्दै शुक्रवार नै जनमत पार्टीले सरकार छाडेको हो । सत्तामा रहेको दल सरकारबाट बाहिरिएपछि, प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिनुपर्ने संविधानविद्हरुले बताएका छन् । संविधानको धारा १०० को २ मा विश्वासको मत र अविश्वासको प्रस्तावसम्बन्धी व्यवस्था छ। ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नुपर्नेछ’ उक्त धाराको उपदफामा भनिएको छ। सोही धाराको अर्को उपधारामा विश्वासको मत प्राप्त हुन नसकेमा प्रधानमन्त्री पदमुक्त हुने उल्लेख छ। 

३ उपधारा १ र २ बमोजिम पेस भएको प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुनेछ’ उक्त उपधारामा भनिएको छ।  २६ पुसमा प्रधानमन्त्री प्रचण्डले पहिलो पटक विश्वासको मत लिएका थिए भने दोस्रो पटक चैत ५ गते दाहालले संसदमा विश्वासको मत लिएका थिए ।

Advertisement

सम्बन्धित खबर