Wednesday Sep 09, 2026


बारा–२ मा कांग्रेसले उम्मेदवारी नदिनेः उपेन्द्र यादवलाई सघाउने

Image
१९ चैत २०७९, आइतवार
Avatar
नेपालि खबर

काठमाडौं : नेपाली कांग्रेसले बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ। आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ मा अध्यक्ष यादवलाई सघाउने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए। 


कांग्रेसले तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। तर, सत्ता गठबन्धन दलको हैसियतले अध्यक्ष यादवलाई सहयोग गर्ने निर्णय कांग्रेसले गरेको हो। 


वैशाख १० गतेको उपनिर्वाचनमा तनहुँ–१ मा कांग्रेसका भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा. स्वर्णिम वाग्ले, चितवन–२ मा रास्वपा सभापति रवि लामिछाने, कांग्रेसका श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार रहेका छन्।


यस्तै बारा–२ मा सत्ता गठबन्धनबाट यादव, रास्वपाबाट रमेश खरेल र जनमत पार्टीबाट शिवचन्द्र कुशवाह उम्मेदवार रहेका छन्। यस क्षेत्रमा एमालेले उम्मेदवार टुंगो लगाएको छैन्। 

जोशी र कोइरालाको कारबाही फुकुवा:

नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र चितवनका पूर्वसभापति विकास कोइरालामाथि गरिएको कारबाही फुकुवा गरेको छ।


केन्द्रीय कार्यसम्पपादन समितिको आइतबार बसेको बैठकले उनीहरुमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो। 



जोशी र कोइरालाले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिँदा गरिएको कारबाही फुकुवा गरिएको सहमहामन्त्री बद्री पाण्डेले बताएका छन्।


'बारा, चितवन र तनहुँको हकमा स्वतन्त्र उठेकाहरुको कारबाही फुकुवा भएको छ', उनले भने, 'यो वा त्यो व्यक्तिभन्दा पनि नीतिगत निर्णय गरेका हौँ। यसमा बागी र स्वतन्त्र उठ्नेहरु पर्नु भएको छ।'


मंसिर ४ को निर्वाचनका बेला कारबाहीमा परेकाहरको हकमा भने पछि निर्णय हुने उनले बताए।


'२०७९ को निर्वाचन बेलाको हकमा उपनिर्वाचनमा उहाँहरुले गर्ने कामहरुलाई हेरेर आगामी दिनमा निर्णय गर्ने र अनुशासन

समितिलाई सक्रिया पार्ने भन्ने निर्णय भएको छ', उनले भने।  


२०७४ को निर्वाचनमा तनहुँ–१ मा तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिएका थिए।


उनले बागी उम्मेदवारी दिए पछि कांग्रेसले जिल्ला कार्यसमिति तनहुँको सिफारिसमा २०५७ पुस २४ गते कारबाही गरेको थियो। 


त्यसबेला जोशीकै बागीका कारण मत काटिँदा पौडेल नेकपा एमालेका किसान श्रेष्ठसँग पराजित भएका थिए। 


उनले बागी उम्मेदवारी दिएपछि कांग्रेसले जिल्ला कार्यसमिति तनहुँको सिफारिसमा २०५७ पुस २४ गते कारबाही गरेको थियो। 


मंसिर ४ मा भएको निर्वाचनमा पनि जोशीले उम्मेदवारी दिएका थिए। तर पौडेल नेकपा एमालेका एकबहादुर रानालाई फराकिलो मतले हराए।


तनहुँ १ बाट रामचन्द्र उठ्ने भएपछि पाँच दलीय गठबन्धमा रहेको नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठ बारा पुगेका थिए।


२०७४ आफूलाई हराउने श्रेष्ठले ठाउँ खाली गरिदिएपछि मंसिर ४ को निर्वाचनमा सजिलै विजयी पौडेल फागुन २५ गते राष्ट्रपति भइसकेका छन्। 


तनहुँ १ मा मंसिर ४ को निर्वाचनमा कांग्रेसबाट विद्रोह गरेका जोशीले ६ हजार ८८६ मत ल्याएर तेस्रो भएका थिए। 


त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले तनहुँ १ मा ६ हजार ४४ मतसहित चौथो भएका थिए।


यद्यपि, भ्रष्टाचारको अभियोगमा जोशीको मुद्दा विचाराधीन नै रहेकाले उनको उम्मेदवारी भने निर्वाचन आयोगले खारेज गरेको थियो।


जोशीलाई विषेश अदालतले २०६९ साल साउन १० गते भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो। 


विषेशको फैसला विरुद्ध जोशीले सर्वोच्च अदालतमा पुनरावेदन दिएका छन्। सर्वाेच्चमा जोशीको मुद्दा विचाराधीन छ।


जोशी विगतमा गृह र शिक्षा, जलस्रोत, खेलकुदलगायत मन्त्री भइसकेका थिए भने कांग्रेसको सहमहामन्त्री पनि बनेका थिए। 


यस्तै तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध साविक चितवन क्षेत्र नम्बर ४ मा दोस्रो संविधानसभा चुनावमा विरुद्ध विकासले बागी उम्मेदवारी दिएका थिए।


सभापतिविरुद्ध बागी बनेपछि कांग्रेसले २०७० कात्तिक २ गते क्रियाशील सदस्यता खारेज गर्दै उनलाई कारबाही गरेको थियो। 


१२ औं महाधिवेशनबाट उनी जिल्ला सभापतिमा निर्वाचित भएका थिए। २०६७–०६९ सम्म चितवन कांग्रेसको नेतृत्वमा थिए।

Advertisement

सम्बन्धित खबर