काठमाडौं । तनहुँ, चितवन र बारामा आज उपनिर्वाचनका लागि मनोनयनपत्र दर्ता गरिँदै छ । आगामी बैशाख १० मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयनपत्र दर्ता हुन लागेको हो ।
निर्वाचन आयोगले बारा - २, चितवन - २ र तनहुँ - १ मा हुने उपनिर्वाचनका लागि बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयनपत्र दर्ताको समय तोकेको छ ।
त्यसअघि हिजो (आइतबार) तीनवटै जिल्लामा निर्वाचन कार्यालयको आहृवानमा सर्वदलीय बैठक भएका थिए । बैठकमा उम्मेदवारी मनोनयन प्रक्रियालाई सौहार्दपूर्ण बनाउन दलहरु अलग-अलग समयमा निर्वाचन कार्यालय जाने सहमति भएको छ ।
सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा दलहरुको सहभागितामा बसेको बैठकमा मनोनयन दर्ता, सुरक्षा व्यवस्था तथा पालना गर्नुपर्ने आचारसहिंताबारे पनि छलफल भएको थियो । निर्वाचन कार्यालयहरुले आज उम्मेदवारी मनोनयन दर्ता तथा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिएको सूची प्रकाशन गर्ने तालिका बनाएका छन् ।
चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि भरतपुर १० मा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ताका लागि ठूला दलहरुलाई समय तालिका निर्धारण गरेको छ ।
नेपाली कांग्रेससहितको गठबन्धनले बिहान ११ बजे, नेकपा (एमाले) ले अपराह्न ४ बजे र राष्ट्रिय स्वतन्त्र पार्टीले दिउँसो १ बजे उम्मेदवारी दर्ताको समय पाएको छ । यद्यपि कांग्रेसले दिउँसो साढे १२ बजे उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ । जिल्ला सभापति राजेश्वर खनालले भरतपुरको चौबीसकोठीमा आमसभा गरेर मात्रै उम्मेदवारी दर्ताका लागि कार्यालय पुग्ने जानकारी दिए ।
कांग्रेसको उम्मेदवारी दर्ता गर्दा महामन्त्री विश्वप्रकाश शर्मा र सह-महामन्त्री डिना उपाध्याय पनि सहभागी हुँदै छन् । यस्तै एमालेको उम्मेदवारी दर्तामा पोलिटब्युरो सदस्य गोकुलप्रसाद बास्कोटा सहभागी हुँदै छन् ।
नेपाली कांग्रेससहितको गठबन्धनबाट कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने उम्मेदवारी दिँदै छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जीवलाल पुरीले उम्मेदवारी दर्ता गराउँदै छन् ।
गत मंसिर ४ गतेसम्म प्रतिनिधिसभाको निर्वाचनमा रास्वपा सभापति रवि लामिछाने निर्वाचित भएका थिए । उनको सांसद पद नागरिकता विवादसँगै सर्वोच्च अदालतले खारेज गरेपछि वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो । चितवन २ मा अहिले ४८० जना नयाँ मतदाता थपिएर एक लाख २४ हजार ६९५ जना पुगेका छन् ।
आज मनोनयन दर्तापछि भोलि २१ गते उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ । २२ गते उम्मेदवारको नामावली प्रकाशन गरिने, २३ गते दिउँसो १ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सकिने र सोही दिन निर्वाचन चिह्न प्रदान गरिने मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए । उनले मनोनयन दर्ताका दिन आचारसंहिता पूर्ण रुपमा पालना गर्न आग्रह गरेका छन् ।

तनहुँ १ बाट प्रतिनिधिसभामा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको र बारा २ बाट प्रतिनिधिसभामा निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि यी दुई निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो । चितवन २ मा भने रवि लामिछाने नेपाली नागरिकता दुरुपयोगसम्बन्धी मुद्दामा अदालतको आदेशअनुसार सांसद पदबाट निलम्बनमा परेका कारण उपनिर्वाचन गर्न लागिएको हो ।
प्रतिनिधिसभा सदस्य पदमा नेपालको संविधानको धारा ८४ को उपधारा (७) बमोजिम प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट निर्वाचित भएको हो सोही प्रक्रियाद्वारा पूर्ति गरिने व्यवस्था र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ मा यस्तो पदपूर्ति आयोगले तोकेको मितिमा हुने उपनिर्वाचनबाट हुने व्यवस्थाबमोजिम आयोगले उपनिर्वाचनको मिति र निर्वाचनसम्बन्धी कार्यक्रम स्वीकृत गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाएका छन् ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay