Tuesday Apr 21, 2026


एउटै मुद्दामा एक जना जेलमा अर्का व्यक्ति प्रतिनिधिसभा सदस्य ?

Image
१६ माघ २०७९, सोमवार
Avatar
नेपालि खबर

कैलाली । प्रतिनिधिसभा सदस्य तथा टीकापुर घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिका सचेतक अरुणकुमार चौधरी पनि फरार प्रतिवादी रहेको खुलेको छ । 

संसदीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेर चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । 

ट्र्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दामा जिल्ला अदालत कैलालीले करिब १० वर्षअघि उनलाई  ६ महिना कैद तोकेको थियो ।

अदालतको उक्त फैसलाअनुसार उनले कैद सजाय भुक्तान नगरी फरार बनेका थिए । ​उनीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते जनही छ महिना कैद र आठ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

२०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा  हालको लम्कीचुँहा नगरपालिका (तत्कालीन बलिया गाविस ५)  का महादेव बजगाईँले मुद्दा दायर गरेका थिए । 


मुद्दामा ट्र्याक्टर जलाएर आठ लाख १९ हजार ४२३ रुपियाँ बराबरको क्षति पुर्‍याएको दाबी बजगाईँले गरेका थिए । त्यसको केही वर्षपछि जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले तीनै जनालाई जनही छ महिना कैद र बिगो रकम असुल्न गर्न आदेश दिएका थिए ।

सोही घटनामा प्रहरीले शुक्रबार वीरबहादुर चौधरीलाई पक्राउ गरे पनि सांसद चौधरी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।

वीरबहादुर चौधरीले मुलुकी फौजदारी सम्झौता २०७४ को दफा १५५ बमोजिम नगद रुपैयाँ दाखिला गरी कैदमुक्त गरिपाऊँ भन्दै दिएको निवेदनमा अस्वीकार गर्दै अदालतले ६ महिना कैद भुक्तान गर्न आदेश दिएको थियो ।

एउटै मुद्दामा एक व्यक्तिले कैद भुक्तान गर्दा अर्का व्यक्ति भने प्रतिनिधिसभा सदस्य निर्वाचित भएर संसदमा गइरहेका छन् । अदालतले उनलाई फरार सूचीमा राखे पनि राज्यशक्तिकै आडमा प्रहरीले उनलाई पक्राउ नगरेको बताइन्छ ।

२०७४ मा लम्कीचुहाको प्रमुख र प्रदेश सभा सदस्यमा पराजित चौधरी २०७९ को चुनावमा प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनी निर्वाचित भएको पार्टीले अहिले पनि टीकापुर घटनाका राजबन्दीको रिहाइको मुद्दालाई नै प्रमुख एजेण्डा बनाइरहेको छ।

संसदमा पनि पार्टीले रेशमसहितका बन्दीलाई रिहा गर्नुपर्ने माग सार्दै आएको छ।

Advertisement

सम्बन्धित खबर