काठमाडौं । बसुन्धारास्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय छिर्ने बित्तिकै ‘#आयोरवि’ लेखिएको बोर्ड देखिन्छ । त्यो बोर्डमा रास्वपा पार्टी सभापति रवि लामिछानेले नमस्कार गरेको पूर्ण कदको तस्वीर छ ।
आइतबार त्यही ह्यासट्याग ‘आयोरवि’ लेखिएको बोर्ड पार गर्दै लामिछाने पार्टी कार्यालय छिर्दा उनी सरकारबाट बाहिरिने निर्णय गर्न जाँदै थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्किएका लामिछाने पार्टी कार्यालय छिर्दा समर्थक र कार्यकर्ताले ‘आयो रविदाइ’ नारा लगाएका थिए ।
१३ माघमा सर्वोच्च अदालतको फैसलासँगै सांसद, गृहमन्त्री तथा पार्टी सभापति पद गुमाएका लामिछानेले त्यसयता लगातार गृहमन्त्रीमा फर्किने कसरत गरेका थिए । पद पाउन बालुवाटारदेखि बालकोटसम्म परिक्रमा गरिरहेका लामिछानेले अनेक प्रयत्नका बाबजुद पनि गुमेको गृहमन्त्री पद फर्काउन सकेनन् । आइतबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृहमन्त्रालय फर्काउने उनको अन्तिम कसरत असफल भएपछि उनी निराश भएर पार्टी कार्यालय बसुुन्धारा फर्किएका थिए ।
लामिछानेले गृहमन्त्री नपाउने भएपछि त्यसको मूल्य रास्वपाका अरु मन्त्रीहरुले चुकाउनुपर्यो । रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गर्यो । घोषणापत्रमा गरेका वाचा गृहमन्त्रालयमार्फत पूरा गर्न सकिने भएकाले आफूले गृहमन्त्रालयमा बढ्ता जोड गरेको लामिछानेको प्रष्टीकरण थियो ।
सांसद पद गुमे पनि आफू गैरसांसद नभएको तर्क गरिरहेका लामिछानेले भने, ‘म गैर सांसद होइन, प्रक्रियागत त्रुटिका कारणले सांसद गएको हो । अस्ति चुनाव जितेर आएको हुँ, यो लजिकले काम गर्ला कि भन्ने मेरो लोभ थियो, झिनो आश थियो ।’
सत्तारुढ दलहरुले १० पुसमा भएको राजनीतिक सहमति पूरा नगरेका कारण आफ्नो पार्टी सरकारबाट बाहिरिएको उनको दाबी थियो । रास्वपाको भागमा परेको गृहमन्त्रालय फेरि रास्वपालाई नफर्काएर आफूहरुमाथि राजनीतिक बेइमानी गरिएको लामिछानेको भनाइ थियो ।
नागरिकता विवादमा सांसद पद गुमेपछि चितवनवासीलाई आफ्नो कारणले दुःख भएको भन्दै माफी माग्न भ्याएका लामिछाने नागरिकताको विषय उठाउने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तामाथि भने पूरै आक्रामक बने ।
नागरिकतामा प्रक्रिया पूरा नगरेर आफूले गल्ती गरेको बताइरहेका लामिछाने आफ्नै कुरा काट्दै रातारात आफूलाई अनागरिक बनाउने गरी अदालतमा मुद्दा अगाडि बढाइएको भन्दै आक्रोशित सुनिए ।
बैठकपछि आफैंले तय गरेको पत्रकार सम्मेलनमा अदालतको फैसलाको सम्मान गर्छु भनिरहेका लामिछानेले आफ्नो नागरिकतामाथि प्रश्न उठाउनेहरुमाथि टिप्पणी गर्न उनले करिब दुई घण्टा खर्चिए ।
नेपालीसँगै हिन्दी र अंग्रेजी भाषामा समेत आफ्नो आक्रोश पोखेका उनले सञ्चारमाध्यमले अदालतलाई प्रभावित पारेको आरोप लगाउँदै उनले आफ्नो पदमुक्तिसँग सोझो साइनो नदेखिएको भारत र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि सम्बोधन गर्न पुगे ।
आफू कमजोर नभएको ठोकुवा गरिरहेका उनले गृहमन्त्रालय आफ्नो भागमा पर्दा स्वार्थ बाझिएको भन्दै आफूमाथि निरन्तर प्रहार गरिएको दाबी गरे ।
टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाएर चर्चामा आएका लामिछानेले आफूले तय गरेको विशेष पत्रकार सम्मेलनलाई ‘कोणसभा’ जस्तो बनाएका थिए । लामिछानेका हरेक पन्चलाइनलाई कार्यालय परिसरमा रहेका उनका समर्थक ताली बजाएर स्वागत गर्थे । कार्यकर्ताको हुटिङले हौसिंदै उनले पत्रकारलाई नै प्रतिप्रश्न गरे, ‘लखेटी लखेटी मलाई उपप्रधान गृहमन्त्री बनाउनुभयो, अब के बनाउनुहुन्छ ?’
‘प्रधानमन्त्री,’ कार्यकर्ताले हौसिंदै जवाफ दिए । दुवै हात फैलाउँदै लामिछानेले कार्यकर्ताको प्रस्ताव ग्रहण गरेका थिए । ४ मंसिरको चुनाव अगाडि उनी देश दौडाहाका क्रममा आफूलाई भावी प्रधानमन्त्रीका रुपमा ‘प्रोजेक्ट’ गरिरहेका थिए ।
‘नोट डाउन गर्नुहोस्’ भन्दै जंगिएका लामिछानेले आफूले गृहमन्त्रीमा दाबी गरेर ‘लाज’को राजनीति नगरेको बताए ।
उपप्रधानमन्त्री, सांसद, मन्त्री सबै पद गुमेपछि आफू आक्रोशित भएको स्वीकारिरहेका लामिछानेले ‘म मुडमा छु हैं’ भन्दै सञ्चारमाध्यम र विभिन्न पेशामा रहेका व्यक्तिको निजी जीवनमा प्रवेश गर्दै लाञ्छना पनि लगाए ।
‘मन्त्री पद गुमेको झोँकमा यो झोंक्किएछ भन्ने लाग्यो होला तपाईंलाई,’ लामिछानेले भने, ‘अलि अलि त हो, मन्त्री, सांसद सबै गुमेपछि रिस उठ्या छ, कम रिस उठ्छ ?’
‘रिस उठेको छ’ भन्दै सार्वजनिक जीवनमा रहेका व्यक्तिमाथि लाञ्छना लगाइरहेका लामिछाने राष्ट्रिय दलको मान्यता पाएका पार्टीका सभापति हुन् । केही दिन अगाडिसम्म उपप्रधानमन्त्री तथा गृहमन्त्री रहेका लामिछानेको भाषा र बोलीले तत्काललाई उनको ‘मुड’ फ्रेस देखिए पनि पार्टीभित्रका कतिपय सांसद र केन्द्रीय नेता भने विस्मित देखिएका छन् ।
‘उहाँले उठाएका कतिपय विषय पक्कै छलफलयोग्य होलान्, तर आज जुनस्तरको भाषा प्रयोग भयो, त्यसले त्यति मिठो फिलिङ दिएन’, एक केन्द्रीय सदस्यले भने । सरकारबाट बाहिरिए पनि रास्वपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।
मिडियाबारे रविले राखेका आलोचनाका केही बुँदा
–२०७२ साल मंसिर २६ गते शनिवार बिहान माइतीघर मण्डलामा बा २ च ६३०० नम्बरको भक्सवागन कम्पनीको सेतो रंगको निजी कार दुर्घटना हुँदा त्यसमा सवार ४ जना घाइते भएका थिए । कार सडकमा उत्तानो परेर सर्वसाधारणले प्रहरीलाई खबर गरेपछि घाइते युवायुवतीलाई नर्भिक अस्पतालमा लगियो । त्यो गाडी कसको थियो तपाईँहरूलाई थाहा छ ? तपाईँहरूलाई थाहा छ तर प्रहरीको रेकर्डमा छैन । त्यो कार कान्तिपुर मिडिया ग्रुपको नाममा थियो । चालक थिए, कैलाश सिरोहियाका जेठा छोरा सम्भव सिरोहिया । त्यो कार उनले चलाएका थिए । घटना सामसुम भयो । पूर्व राजकुमार पारस शाहले हेलमेट नलगाएको भनेर समाइन्छ भने कान्तिपुरको मालिकको छोरालाई नवयुवराज बनाइएको हो ? त्यो गाडीका तस्बिरहरू हामीसँग छन्, यो घटना लुकाइयो, यो कसैले छाप्न सक्छ ? हुन्न कसैले हुन्न ! कैलाश सिरोहियाले सिध्याइँदिन्छ । तर, रवि लामिछाने त्यस्तो कसैसँग डराउँदैन ।
–कोरोनाकालको एउटा घटनापनि सुनाउँछु, ‘कान्तिपुरका निर्देशक कैलाश सिरोहियाले अगष्ट २७, २०२० मा एउटा ट्वीट गर्नुभएको थियो । सोल्टी होटलको बारेमा जुन गाइँगुइँ चलेको थियो, त्यो गंभीर प्रकृतिको थियो । सायद कुनै महिलाले उहाँलाई दुर्व्यवहार गर्नुभयो होला, उहाँ दुर्व्यहारमा पर्नुभयो होला । यसबारे प्रहरीले कुनै अनुसन्धान त गरेन, जो ट्वीटमा भनिएजस्तो कैलाशले अहिलेसम्म कहाँ उजुरी दिए, त्यसबारे अहिलेसम्म के सुनुवाई भयो थाहा छैन ।सोल्टी होटेलसँग जोडेर..आएको कुरा गंभीर कुरा थियो, तर कसैले खोज्दैन । कान्तिपुर त छाप्दिन्छ नि रविको पासपोर्ट, यति जेल...! अब त्यो हाल्नेबित्तिकै अदालतले त हे¥यो, ओहो..न्यायाधीशले हेर्ने त त्यही पत्रिका हो, त्यो पत्रिका मधेसमा जाँदैन, गाउँमा जाँदैन, माफ गर्नुस् पत्रकार साथीहरु त्यो पत्रिकाले तपाईको मालिकलाई स्थापित ग¥यो, नेपाली जनताको मुद्दालाई स्थापित गरेन ।
–अझ कान्तिपुरको अर्को समाचारमा हुँदै नभएको सीआईबीको आधार बनाएर समाचार लेखिएको थियो, जुन अजय सुमार्गीले भनेका थिए, जुन अदालतको फैसलामा छ । काठमाडौं जिल्ला अदालतको फैसला, जसको अंश यस्तो छ–‘....नेपालमा अहिले प्रचलित तर खासै चर्चामा नआएको आर्थिक पदावदी गोल्डेन शेयर छ, यो त्यस्तो व्यवसाय हो जुन कुनैपनि ठूलो मिडिया कान्तिपुर दैनिकका सञ्चालक कैलाश सिरोहियालाई केही प्रतिशत नजराना दिनुपर्ने हुन्छ । निज सिरोहियाले शेयरको सट्टा पुरानै मोलमा जग्गा मागे भनेर स्पष्ट रुपमा भनेका थिए ।’
–चन्द्रागिरी हिल्सको निरन्तर समाचार र फलोअपपछि शेयर पाएपछि समाचार अकस्मात बन्द भयो ।
–राजालाई दाम चढाएजस्तो, कसैले व्यापार नै गर्न नहुने, उहाँलाई चढाउनुपर्ने, कसैले इन्सुरेन्स खोल्यो उहाँलाई चढाउनुपर्ने ?
–पोखराका शिव बास्तोला र गीता श्रेष्ठको नाममा जग्गा किन्दा देव विकास बैंकमा ५ करोड २५ लाख जम्मा गरेको कीर्ते भौचर देखाएर मालपोतमा जग्गा पास गरेको भन्ने अन्नपूर्ण पोष्टका र सिम्रिक एयरका मालिक रामेश्वर थापामाथि जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी मुद्दा जाहेरी परेको छ । अनुसन्धान नै नगरी चुपचाप दबाइएको छ ।
–आफूले जाँड खाएर गाडी पल्टाएर मान्छे हानेको लुकाउने, हामीले ४ वर्षअघि भनेको र मुद्दा लडिरहेको कुरा दिनदिनैको हेडलाइन ? अनि हामीलाई प्रश्न कन्फ्ल्क्टि अफ इन्ट्रेष्ट ? न्यायको सिद्धान्तअनुसार कानुन चल्नुपर्छ, म गृह मन्त्रालय पुगेपछि उहाँहरुलाई यसकै पिर प¥यो ।
–कहिलेकाहीँ उहाँहरु (मिडियाका सम्पादक) कतिको नैतिकवान हुनुहुन्छ भनेर सम्पादकनी भाउजुले मेसेज डिलिट गरेको छ कि छैन हेर्नु नि । सम्पादकनी भाउजुहरु भेट्न आउनुहोला तपाईंका आदर्शवान श्रीमानहरु जसले मलाई चरित्रहीन देखाउनुभएको छ, तपाईँका आदर्शवान सम्पादकहरुको वास्तविक हैसियत र मुकुण्डो म उतारिदिन्छु, आउनुहोस् ।
–जनता जान्न चाहन्छन् भन्ने ऋषि धमलाको बारेमा त के कुरा गर्ने ? कहिलेकाहीँ जोकर भएन भनेर सर्कस छोडिदिए हुन्छ, ५ करोडमा ग्यालेक्सी खोल्ने बेलाको भिडियो जिवी राईको मोबाइलमा छ । दीपक बोहोराको मोबाइलमा सरुवा गराइदिनुप¥यो भनेर मेसेज गरेको छ, उसको के कुरा गर्नु मैले !
उनले आफू नैतिकतामा नबस्ने मिडियाहरु मालिकहरुले अरुलाई नैतिकताको पाठ पढाउने भन्दै आक्रोश व्यक्त गरे । उनले आफू अमेरिका जानुअघि नेपाल टेलिभिजनमा कार्यक्रम चलाउँदा पनि असहयोग भएको, विश्वकै लामो टिभी अन्तर्वार्ता गरेर विश्व कीर्तिमान गरेर गिनिज बुकमा नाम राख्दापनि नेपाली सञ्चारमाध्यमले स्थान नदिएको र अहिले अत्यधिक प्रहार गरेको गुनासो गरे । उनले कान्तिपुर, अनलाइन खबर सेतोपाटी, रातोपाटीलगायतका मूलधारका मिडियाले आफ्नो बारेमा जे लेखेपनि फरक नपर्ने समेत बताए ।
लामिछानेको अभिव्यक्तिको महासंघद्वारा आलोचना
यसैबीच नेपाल पत्रकार लामिछानेले पत्रकार सम्मेलनका क्रममा दिएको अभिव्यक्तिको विरोध गरेको छ । पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाएको महासंघको ठहर छ । महासंघले विज्ञप्तिमार्फत धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको जनाएको छ ।
संसदको चौथो ठुलो दलका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेको व्यक्तिले सञ्चारक्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चारक्षेत्रमाथिको प्रहार भएको महासंघको विज्ञप्तिमा उल्लेख छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकार पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्कीबाट विचलित नहुने महासंघले जनाएको छ ।
‘सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ’, महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् अध्यक्ष लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्नेमा महासंघ प्रष्ट पार्न चाहन्छ ।’ महासंघले लामिछानेको धम्कीपूर्ण अभिव्यक्ति दिएको ठहर गर्दै कडा शब्दमा निन्दा गरिने पनि विज्ञप्तिमार्फत जनाएको छ ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay