Tuesday Apr 21, 2026


लामिछानेविरुद्धको रिटको सुनुवाइ न्यायाधीश फुयालको इजलासमा

Image
२२ चैत २०७९, बुधवार
Avatar
नेपालि खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ ।

सुनुवाइ पेसी सूचीको 'ज' नम्बरमा रहेको छ । 


मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको सुनुवाइ हेर्न नमिलने भन्दै स्थगित भएको थियो । न्यायाधीश सिन्हा यसअघि संवैधानिक इजलासमा लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिटमाथिको सुनुवाइमा थिए । सो रिटको फैसलामा लामिछानेको नागरिकता तथा राहदानीको विषयमा आफ्नो धारणा दिएका थिए । सोही कारण उनले अहिलेको रिटमाथि आफूले सुनुवाइ नगर्ने निर्णय गरेका हुन् ।


सोमबार युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । प्रहरी, सरकारी वकिल कार्यालयले उनीविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए । यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो ।


महान्यायाधीवक्ताको लामिछाने विरुद्ध मुद्दा नचलाउने निर्णय कानुनविपरित रहेको भन्दै पौडेलले रिट दायर गरेका हुन् । पौडेलले यसअघि लामिछानेको सांसद पदको अयोग्यतासम्बन्धी रिट दायर गरेका थिए । सो रिटमा सर्वोच्चको संवैधानिक इजलासले लामिछानेको नेपाली नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नभएको भन्दै उनको सांसद पद खारेज गरिदिएको थियो ।


सोमबार दायर भएको रिटमा लामिछानेले अमेरीकी नागरिक हुँदाहुँदै नेपाली राहदानी प्राप्त गरी राहादनी सम्बन्धी कसुर गरेको पहिले नै स्थापित भएको उल्लेख छ । लामिछानेविरुद्धको सांसद पदको योग्यतासम्बन्धी रिटमा लामिछानेले आफूले अमेरीकी नागरिक रहँदारहँदै नेपाली राहदानी प्राप्त गरेको स्वीकार गरेका थिए ।


राहदानी प्राप्त गर्दा उनले आफू नेपाली नागरिक नै रहेको विवरण पेस गरि राहदानी प्राप्त गरेका थिए । सो कार्य राहदानी ऐन, २०७६ र साविक को राहदानी ऐन, २०२४ बमोजिम राहदानी म्बन्धी कसुर रहेको भन्दै लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउन माग गरिएको हो ।

Advertisement

सम्बन्धित खबर