काठमाडौं : तनहुँ, चितवन र बाराको उपनिर्वाचनमा रोचक प्रतिस्पर्धा हुने भएको छ। वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनमा रोचक प्रतिस्पर्धा हुने भएको हो।उपचुनावका लागि सोमबार भएको उम्मेदवारी दर्तामा कुल ६९ जना चुनावी मैदानमा छन्। जसअनुसार तनहुँ–१ मा ९ जना, चितवन–२ मा २४ जना र बारा–२ मा ३६ जना रहेका छन्। तीमध्ये दलको तर्फबाट ३३ र स्वतन्त्रबाट ३६ जना उम्मेदवार रहेका निर्वाचन आयोगले जनाएको छ।
तनहुँ–१ मा नयाँ अनुहार: तनहुँ–१ मा मुख्य गरी त्रिपक्षीय रोचक भिडन्त हुँदैछ। मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल विजयी भएको उक्त क्षेत्रमा मुख्य तीन दलका ‘हेभिवेट’ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र नेकपा एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार छन्। यस क्षेत्रमा तीनै जना नयाँ अनुहार हुन्।
वाग्ले चैत १६ गते कांग्रेस छोडेर रास्वपा प्रवेश गरेका थिए। उनी पहिलो पटक चुनावमा होमिँदैछन्। उक्त क्षेत्रमा वाग्ले नयाँ अनुहार हुन्। मंसिर ४ को निर्वाचनमा काठमाडौं–६ बाट पराजित खनाल पनि गृह जिल्लामा पहिलो पटक चुनाव लड्दैछन्।
उनीहरू दुवैमाथि कांग्रेसले ‘टुरिस्ट’ उम्मेदवारको आरोप लगाएको छ। भट्टराई तनहुँमा रहेर लामो समय राजनीति गरिरहेका नेता हुन्। तर, प्रतिनिधिसभा निर्वाचनमा उनी पनि नयाँ अनुहार हुन्।
यो क्षेत्रमा मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल विजयी भएका थिए। २५ हजार ३८१ मत पाएर विजयी भएका उनले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ पाएका थिए।
उनका निकटतम् प्रतिस्पर्धी एमालेका एकबहादुर राना मगरले १९ हजार ९८१ मत ल्याएका थिए। तेस्रो नम्बरमा कांग्रेसले कारबाही गरेका गोविन्दराज जोशी थिए। स्वतन्त्र उम्मेदवारी दिएका उनले ६ हजार ८८६ मत पाएका थिए।
उपनिर्वाचनलाई मध्यनजर गर्दै चैत १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनको कारबाही फुकुवा गरेको थियो।
यद्यपि उनले उक्त कारबाही फुकुवा आफूलाई स्वीकार्य नभएको बताएका छन्। जोशीले उपनिर्वाचनमा कुनै पनि दललाई समर्थन नगर्ने बताएका छन्। वाग्लेको उम्मेदवारीले अवस्था परिवर्तन हुने संकेत देखिएको छ।
तनहुँ १ मा गत मंसिरको निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसले सर्वाधिक २० हजार १५८ मत पाएको थियो। यस्तै एमालेले १६ हजार ६८३ र रास्वपाले १२ हजार ७७३ मत पाएको थियो। प्रत्यक्षमा रास्वपाको ६ हजार ४४ मत रहेको छ।
यस्तै सत्तारूढ दलहरू नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले सात हजार ३२३, एकीकृत समाजवादीले ९५०, जनता समाजवादी पार्टीले ३२३, जनमत पार्टीले १६३, राष्ट्रिय जनमोर्चाले ५० र लोकतान्त्रिक समाजवादी पार्टीले २४ भोट पाएका थिए।
चितवनमा उस्तै छ रवि 'क्रेज'
चितवन–२ मा रास्वपा सभापति रवि लामिछाने, एमालेका रामप्रसाद न्यौपाने, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ सहित २४ जना चुनावी मैदानमा छन्। तर, मुख्यगरी यी तीन जना उम्मेदवारबीच रोचक प्रतिष्पर्धा हुँदैछ।
न्यौपाने र श्रेष्ठ सोही क्षेत्रका युवा नेताहरू हुन् भने लामिछाने नयाँ उम्मेदवार हुन्। तर, त्यस क्षेत्रमा लामिछनेको चर्चा बढी छ।
मंसिर ४ गतेको निर्वाचनमा रास्वपा सभापति लामिछाने विजयी भएका थिए। उनी भारी मतान्तरका साथ विजयी भएका थिए। लामिछानेले ४९ हजार तीन सय मत पाएका थिए।
गठबन्धन नगरी चुनाव लडेका लामिछानेले कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसहितको गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ र नेकपा एमालेका कृष्णभक्त पोखरेललाई पराजित गरेका थिए। गठबन्धनको साथ पाउँदा पनि श्रेष्ठले जम्मा १४ हजार ९८८ र एमालेका पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए।
यसक्षेत्रमा गत मंसिरको निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले नै सबैभन्दा बढी मत पाएको थियो। तर लामिछानेले पाएको भन्दा समानुपातिकमा रास्वापले झण्डै ४ हजार मत कम पाएको छ।
निर्वाचन आयोगको तथ्याङ्क अनुसार रास्वपाले ३५ हजार ९४५ मत, नेकपा एमालेले १६ हजार ७८४, कांग्रेसले १२ हजार १३२, माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले ८ हजार ४०७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार २१८ र नेकपा एकीकृत समाजवादीले ६१६ मत पाएका थिए।
बारा–२ मा ‘हरूवा’बीच प्रतिस्पर्धा
जनता समाजवादी पार्टीबाट निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेसँगै रिक्त रहेको बारा–२ मा रोचक प्रतिस्पर्धा हुँदैछ।
यस क्षेत्रमा गत मंसिर ४ गतेको निर्वाचनमा विभिन्न क्षेत्रबाट पराजित उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुँदैछ। जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, नेकपा एमालेबाट पुरूषोत्तम पौडेल, नागरिक उन्मुक्ति पार्टीका डा कमरुल्लाह अन्सारी र आम जनता पार्टीबाट अरूणकुमार ज्ञवाली उम्मेदवार रहेका छन्।
यस क्षेत्रमा सत्ता गठबन्धनबाट मधेशवादी दलहरू एक्लाएक्लै चुनावी मैदानमा होमिएका छन्। उपेन्द्रलाई सत्ता गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाको समर्थन रहेको छ।
आफू प्रतिनिधिसभामा छिर्न रामसहायलाई उपराष्ट्रपति बनाएका उपेन्द्रले निर्वाचन क्षेत्र परिवर्तन गरेर चुनाव लड्दैछन्। यसअघि उपेन्द्र सप्तरी २ मा सिके राउतसँग पराजित भएका थिए।
पूर्वडीआइजी खरेल पनि काठमाडौं १ मा पराजित उम्मेदवार हुन्। यस क्षेत्रमा जसपाले यसअघि नेकपा एमालेको समर्थन पाएको थियो।
यस्तै आफूलाई मधेशको मसिहा भन्न रूचाउने डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट शिचन्द्र कुशवाह उम्मेदवार छन्। यस क्षेत्रमा उपेन्द्र र खरेल नयाँ उम्मेदवार हुन भने एमालेका पौडेल र जनमतका कुशवाह सोही क्षेत्रका स्थानीय नेता हुन्।
माओवादी केन्द्रबाट उम्मेदवार बनेका कुशवाह गत मंसिरको निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए।
रामसहाय १३ हजार ८२२ मत पाउँदा कुशवाहाले १३ हजार ४६८ मत पाएका थिए। साथै यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूको समेत दबदबा रहेको छ।
स्वतन्त्र उम्मेदवारहरू रामकिशोर प्रसाद यादवले ११ हजार ४३, रविन्द्रप्रसाद यादवले १० हजार ७५०, अरूण कुमार ज्ञवाली ७ हजार ६९८ मत पाएका थिए। यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारको मत जोड्दा २९ हजार ४ सय ९१ मत हुन्छ।
अर्थात् जसपा र माओवादी केन्द्रका उम्मेदवारले पाएको भन्दा २२ सय १ मत बढी हो। तर, जसपाबाट बागी उम्मेदवारी दिएका रामकिशोरले यसपटक उपेन्द्रलाई सघाउने भएका छन्। उनले पाएको मत उपेन्द्रलाई जाने देखिएको छ।
उपेन्द्रलाई हराउन कम्मर कसेर लागेको जनमत पार्टीले मंसिरको निर्वाचनमा २७ सय २५ मत मात्रै ल्याएको थियो। गत मंसिरको निर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा बढी जसपाले मत पाएको थियो।
जसपाले १३ हजार २४२, कांग्रेसले ११ हजार १७९, एमालेले ९ हजार १९३, जनमत पार्टीले ८ हजार ८४६, लोसपाले ४ हजार २३५, नागरिक उन्मुक्ति पार्टीले ३ हजार ७९४ माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले ३ हजार २६५, नेकपा एकीकृत समाजवादीले १ हजार ९९६ र राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ४५५ मत पाएका थिए।
विश्लेषकका नजरमा उपनिर्वाचन
राजनीतिक विश्लेषक हरि रोका उम्मेदवारको अवस्थाबारे विश्लेषण गर्नुभन्दा पनि तीन चार महिनाको अवधिमा उपनिर्वाचन हुने अवस्था आउनु दुःखद भएको टिप्पणी गर्छन्।
‘उम्मेदवारहरूको अवस्था भन्दापनि चार महिनाको अवधिमा उपनिर्वाचन गर्नुपर्ने अवस्था आउनु नै दुःखद् छ। किनकी रवि लामिछानेले आफ्नो कानुनी प्रक्रिया पूरा नगर्दा र संविधानले नमागेको सांसदलाई राष्ट्रपति र उपराष्ट्रपति बनाउँदा यो परिणाम आएको हो,’ उनले भने।
रोकाले रवि लामिछानेले नागरिकता र पासपोर्टमा कानुनी प्रक्रिया पूरा नगर्दा फेरि उपनिर्वाचन गर्ने अवस्था आउन सक्ने भएकाले पुनः सचेत हुन आग्रह गरे।
‘कुन क्षेत्रमा कुन उम्मेदवार कस्तो आयो भन्नु भन्दा पनि उपनिर्वाचन गराएर देशलाई आर्थिक भार पार्ने रवि, रामचन्द्र र रामसाहयहले सोच्नुपर्छ देशलाई आर्थिक रूपमा खर्चिलो बनाउने कि नबनाउने?’ उनले भने।
रोकाले पछिल्लो समय रास्वपाका गतिवधिले पार्टी नै अस्तित्वमा नरहने बताए। उनले भने, ‘रास्वपाले २० सिट ल्याएको छ। उनीहरू संघीयता र सिद्धान्तका विषयमा क्लिएर छैनन्। रास्वपामा रवि ‘वान म्यान’ जस्ता भए। उनले आफू भए ठिक नभए बेठिक भन्ने गरेका छन्।’
अर्का राजनीतिक विश्लेषक उत्तम सञ्जेल तीन चार महिनाको अवधिमा उपनिर्वाचन गरेर दलहरूले आफूलाई काम नलाग्ने प्रमाणित गरिसकेको बताउँछन्।
‘तीन चार महिनाको बीचमा भएको यो उपनिर्वाचनमा दलहरूले हामी काम नलाग्ने भयौं भनेर प्रमाणित गरेका छन्। पुराना मौजुदा दलहरूको असन्तुष्टिलाई परिपूर्ति गर्ने माध्यम मात्रै हो। रवि, स्वर्णिमहरू कुनै परिवर्तनको संवाहक हैनन्। उनीहरू एउटा ह्वीममा होमिएका छन्। उनीहरू कति पास हुन्छन् हेर्न बाँकी नै छ,’ उनले भने।
राजनीतिक विश्लेषक तुलनारायण साह बारा–२ मा उपेन्द्र यादव र शिवचन्द्र कुशवाहबीच मुख्य प्रतिस्पर्धा हुने दाबि गर्छन्।
‘यस क्षेत्रमा उपेन्द्र र शिवचन्द्रबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। किनकि उपेन्द्रजीलाई पाँच दल नेपाली कांग्रेस, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको समर्थन छ। त्यस क्षेत्रमा कांग्रेस माओवादीको राम्रै मत छ। फेरि जसपाका मुख्यमन्त्री पनि सोही क्षेत्रको भएका कारणले उपेन्द्रजीको सहज जित देखिन्छ,’ उनले भने, ‘जनमत पार्टीले पनि निर्वाचन गतिविधि आक्रामक बनाइरहेकाले दुई दलबीचको टक्कर पर्ने देखिन्छ।’
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay