Tuesday Apr 21, 2026


कहाँ हराउँदैछन् चिनियाँ अर्बपति ? बाओ फान पनि गायब

Image
२७ फागुन २०७९, शनिवार
Avatar
कृष्ण तिमल्सिना

एजेन्सी ।गत महिना प्रविधि उद्योगका ‘डिलमेकर’ बाओ फान एकाएक हराए। यसले चीनमा अर्बपति अचानक गायब हुने घटनाक्रमप्रति चासो बढाएको छ। 

टेन्सेन्ट, अलिबाबा र बैदुजस्ता इन्टरनेट क्षेत्रका चर्चित हस्ती कम्पनीहरुलाई आफ्नो ग्राहक बनाएको चाइना रेनासा होल्डिंग्सका संस्थापक उनलाई चिनियाँ प्रविधि क्षेत्रकै एक शक्तिशाली व्यक्ति मानिन्थ्यो। तर उनी गायब भएसँगै चीनमा अर्बपति हराउने घटनाक्रमबारे चासो बढेको हो। 



बाओको हराइले पनि उही लय पछ्याएको छ। उनको कम्पनीले चीनमा निश्चित नियमन अधिकारीको अनुसन्धानलाई सहयोग गरिरहेको घोषणा गर्नुअघि नै बाओ हराएको धेरै दिन बितिसकेको थियो। 


यो त एउटा चलन नै बसिसकेको छ– कुनचाहिँ सरकारी निकायले के अनुसन्धान गरेको र उनी कहाँ छन् भन्नेबारे अत्तोपत्तो छैन।


पछिल्ला वर्षहरुमा अलिबाबाका मालिक ज्याक मासहितका चिनियाँ व्यवसायीहरु हराइरहेकै थिए। अहिले बाओ अचानक अदृश्य भएपछि घटनाक्रम थप रहस्यमय बनेको छ।




त्यसो त यसरी अर्बपति हराउँदा धेरैको ध्यान आकर्षित हुन्छ नै तर चीनमा सरकारविरोधी र मानवअधिकारजस्ता अभियानमा भाग लिँदा हराएका धेरै चिनियाँहरुको कम चर्चा हुन्छ।  


बाओको अचानक अदृश्यले राष्ट्रपति सी चिनफिङले चिनियाँ अर्थतन्त्रमाथिको नियन्त्रणलाई कसिलो पारिरहेका छन् भन्ने बुझाइलाई फेरि एकपटक जोड दिएको छ। 


यही बेला चिनियाँ संसद ‘नेशनल पिपल्स कंग्रेस (एनपीसी)को वार्षिक सम्मेलन चलिरहेको छ। सम्मेलनले चीनको वित्तीय नियमन प्रणालीमा वर्षौँपछि ठूलो परिमार्जन गर्ने योजनाहरु छन्। 


योसँगै विशेषतः वित्तीय क्षेत्रमा निगरानी गर्न नयाँ वित्तीय नियमन निगरानीकर्ता (वाचडग) खडा गरिँदै छन्। सरकारी अधिकारीहरुका अनुसार यसले दशौँ खर्ब डलर मूल्यवान् चिनियाँ वित्तीय सेवा उद्योगहरु हेरिरहेका धेरै संस्थाहरुमा रहेका लुपहोल्स (प्वाल) बन्द गर्नेछ। 


सन् २०१५ मा मात्रै कम्तीमा पाँच जना कार्यकारीहरु सम्पर्कविहीन भएका थिए। तिनमा गुओ गुआङचाङ पनि एक थिए। उनी इंग्लिस प्रिमियर लिग फुटबल क्लब वल्भरहेम्प्टन वाडरर्सको स्वामित्वकर्ताका रुपमा पश्चिमा राष्ट्रमा बढी चिनिन्छन्। जो व्यावसायिक समूह फोसुन इन्टरनेशनलका प्रमुख समेत हुन्। 


उनी त्यो वर्षको डिसेम्बरमा सम्पर्कविहीन भएका थिए। कम्पनीले उनी सम्पर्कमा आएपछि मात्रै अनुसन्धानलाई सघाइरहेको बताएको थियो। 


त्यसको २ वर्षपछि चिनियाँ–क्यानडेली व्यवसायी सियाओ चिन्ह्वालाई हङकङको एक विलासी होटलबाट समातिएको थियो। उनी चीनका धनाढ्यमध्ये एक हँदै आएका थिए भने गत वर्ष भ्रष्टाचार आरोपमा जेल पठाइएको थियो। 


सन् २०२० को मार्चमा घरजग्गा क्षेत्रका हस्ती अर्बपति रेन झिकियाङ राष्ट्रपति सीले गरेको कोभिड महामारीमा व्यवस्थापनलाई लिएर जोकर (क्लाउन) भनेपछि गायब भएका थिए। त्यही वर्षको अन्त्यतिर एक दिने सुनुवाइपछि रेनविरुद्ध भ्रष्टाचारमा १८ वर्षको जेल सजाय भएको थियो। 



अझै यसरी हराउने उच्च शक्तिशाली व्यावसायिक व्यक्तिमध्ये अलिबाबाका संस्थापक ज्याक मा पनि भए। त्यतिखेर चीनकै सर्वधनाढ्य उनी देशको वित्तीय नियमनको आलोचनापछि सन् २०२० को अन्त्यतिर गायब भएका थिए। 


योसँगै एन्ट ग्रुपको ठूलो सेयर सूचीकरण रद्द भएको थियो। ‘साझा समृद्धि (कमन प्रस्परिटी)’ कोषमा लगभग १० अर्ब डलर दान गर्नुका बाबजुद उनी चीनमा २ वर्षयता देखिएका छैनन्। त्यसो त उनीविरुद्ध कुनै अपराधको अभियोग पनि लगाइएको छैन। 


मा अहिले कहाँ छन् भन्ने त खुलेको छैन तर उनी जापान, थाइल्यान्ड र अस्ट्रेलियामा बितेका महिनाहरुमा देखिएका कुराहरु आएका थिए। 


यता चीन सरकारले भने देशका केही धनाढ्यविरुद्ध चालिएका कदम पूर्णतः वैधानिक रहेको र भ्रष्टाचारलाई जरैदेखि निर्मूल पार्नेतर्फ केन्द्रित रहेको बताउँदै आएको छ। तर बेइजिङका कदमहरु अहिले चीनलाई संसारकै दोस्रो ठूलो अर्थतन्त्र बनाएको दशकौँको उदारीकरणलाई उल्ट्याउनेतर्फ देखिएका छन्। 


त्यही खुलापनबाटै चीनमा धेरै अर्बपतिहरु जन्मिन मद्दत ग¥यो जो आफ्नो अथाह सम्पत्ति आर्जनसँगै पर्याप्त शक्ति प्रयोग गर्नेतिर उन्मुख थिए। 


अहिले राष्ट्रपति सीका केही अनुगमनकर्ताहरु चिनियाँ कम्युनिष्ट पार्टीले त्यो शक्ति फर्काउन चाहेको बताउँछन्। जुन रहस्यमय तरिकाले भइरहेको छ। 


त्यहाँ अहिले ठूलो व्यवसाय (बिग बिजनेस)को सिद्धान्त अघि बढेको छ– विशेषतः प्रविधि क्षेत्रले राष्ट्रपति सीका पूर्ववर्तीहरु चियाङ जेमिन र हु चिन्ताओका नीतिअनुसार आफ्नो शक्ति बढाउन पाए। 



त्यसअघि बेइजिङको ध्यान परम्परागत शक्तिकेन्द्र हुन्थ्यो जसमा सैन्य, उद्योग र स्थानीय सरकार मुख्य थिए। 


यी क्षेत्रलाई कसिलो बनाउन सफल भएसँगै सीले अहिले अर्थतन्त्रलाई आफ्नो नियन्त्रणमा राख्न ध्यान केन्द्रित गरिरहेका छन्। उनको साझा समृद्धिको नीतिले मुख्यतः प्रविधि उद्योगहरुलाई विशेष अनुसन्धानसँगै कडाइ गरिरहेको छ। 


‘विशेषगरी कुनै एक उद्योग वा चाहेको समूहलाई लक्षित गरेर कहिलेकाहीँ यी घटनाक्रम ठूलै सन्देश दिनका लागि तयार गरिन्छ’, द इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका निक म्यारो भन्छन्। 


‘बेइजिङको मुख्य ध्यान ठूला प्रविधि उद्योग र यसका खेलाडीहरुलाई आफ्नो ब्रान्ड र प्रभाव विकास नगरून् भन्नेमा छ जसले उनीहरुलाई बेइजिङको चाहनाविपरीत जान दिँदैन’, ग्लोबल एडभाइजरी कम्पनी अल्ब्राइट स्टोनब्रिज ग्रुपमा चीन र प्रविधि नीतिका प्रमुख पल ट्रियोलोले भने। 


साझा समृद्धि भनेकै कानुनी शासन हो र यसले धनी र गरिब समान हुनुपर्छ भन्ने मान्यता राख्छ। बेइजिङले यो नीतिलाई सम्पत्तिको फराकिलो अन्तर साँघु¥याउने लक्ष्य लिएको छ। त्यसले कम्युनिष्ट पार्टीको स्थानलाई बेवास्ता गर्ने भन्दै धेरैले मुख्य मुद्दाका रुपमा यो अन्तरलाई लिइरहेका छन्।


चीनमा अहिले असमानता बढिरहेको छ भने सीले पार्टीको समाजवादी धारतर्फ अघि बढ्न पार्टीभित्र दबाब खेपिरहेका छन्। 


अर्बपतिहरु हराउनुलाई रहस्यका रुपमा त लिइरहेको छ नै, व्यवसायमाथि बेइजिङको निशानाले नसोचेको परिणाम दिनेतर्फ पनि ध्यानाकर्षण बढ्दो छ। 


चीनलाई नियाल्ने केही सरकारले नयाँ व्यवसाय प्रतिभालाई अँचेटेर जोखिम मोलिरहेको बताउँछन्। 


‘बेइजिङका यस्ता कदमले अर्को ज्याक मा बन्न खोजिरहेका प्रविधि उद्यमीलाई थप दबाब पुगेको छ’, ट्रियोलोले भने। 



यसबारे राष्ट्रपति सी पनि सचेत छन्। यही हप्ता एनपीसीमा आफ्नो भनाइ राख्दै उनले चीनलाई निजी क्षेत्रको महत्वपूर्ण आवश्यकता रहेको बताएका थिए। सँगसँगै उनले निजी उद्यम र उद्यमीलाई धनी र उत्तरदायी, धनी र न्यायी तथा धनी र मायालु बन्नुपर्ने बताएका थिए।  


नयाँ वित्तीय वाचडगको घोषणा त छँदै छ, गत महिना मात्र बैंकरहरुलाई समेत पश्चिमा बैंकरलाई आफ्नो उदाहरणका रुपमा नलिन भनिएको थियो। टिप्पणीकारहरुले यसलाई सीले वित्तीय प्रणालीलाई आफ्नो नजरमा राखेको अर्को प्रमाणका रुपमा लिएका छन्। 


‘बितेका महिनायता विशेषगरी वरिष्ठ कार्यकारीको बोनस स्किम र तलब तथा व्यवस्थापन र तल्लो तहका कर्मचारीले पाउने भुक्तानीको अन्तरमा केन्द्रित भई हामीले साझा समृद्धिको एजेन्डा वित्तीय क्षेत्रमा जाने देखिरहेका छौँ’, म्यारोले भने। 


तर अर्बपतिहरुमाथि सीले गरेका कडाइले उनलाई शक्तिमा रहिरहन कति मद्दत गर्नेछ भन्ने हेर्न बाँकी नै छ। अहिले चिनियाँ वित्तीय बजार, व्यवसाय र सिंगो अर्थतन्त्रमा रहेको ‘कन्फिडेन्स’चाहिँ निश्चित रुपमा जोखिममा छ।  बीबीसीबाट भावानुवाद 

Advertisement

सम्बन्धित खबर