काठमाडौँ—राष्ट्रपति निर्वाचनको जगमा बनेको नौ दलीय गठबन्धनभित्र रहेका केही दलले ‘समाजवादी’ मोर्चा गठनको गृहकार्य गरिरहेका छन् । यो मोर्चाले आकार लिए शक्ति बाँडफाँटमा गठबन्धनको ठूलो दल कांग्रेसमाथि दबाब पर्ने देखिएको छ ।
मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका केन्द्रीय सदस्यहरूको बैठकलाई गत शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनमै समाजवादी मोर्चा बन्ने घोषणा गरेका थिए ।
मोर्चा निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको र त्यसले कम्युनिस्ट पार्टीहरूबीच एकताको नयाँ आधार बनाउने दाहालको भनाइ थियो । ‘संक्रमणकालीन न्याय, शान्ति प्रक्रिया र संविधानको सिद्धान्तलाई आधार मानेर मुलुकलाई राजनीतिक निकास दिनुपर्ने भएको छ । हाम्रो काँधमा रहेको यो जिम्मेवारी पूरा गर्न समाजवादी शक्तिहरूको सहकार्य जरुरी छ,’ दाहालले भनेका थिए, ‘मोर्चा बनाउन माओवादीले पहल र नेतृत्व गर्छ ।’
दाहालले भनेजस्तै माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीका नेताहरू मोर्चा बनाउने गृहकार्यमा लागेका हुन् । यी चार दलबीच राष्ट्रपति निर्वाचन अगाडि नै समाजवादी मोर्चा गठनबारे सैद्धान्तिक सहमति भएको थियो । उपराष्ट्रपति निर्वाचन, प्रधानमन्त्री दाहालद्वारा विश्वासको मत र मन्त्रिपरिषद् विस्तारपछि मुलुकको राजनीति सहज ढंगले अगाडि बढ्ने निष्कर्षसहित उनीहरू त्यसलगत्तै मोर्चा घोषणा गर्ने तयारीमा छन् । मोर्चा घोषणाका लागि अवधारणापत्रको मस्यौदा पनि तयार भइसकेको नेताहरूले बताएका छन् । ‘तीन दलबीच ‘समाजवादी मोर्चा गठनका लागि कुरा भइरहेको छ । केही कुरा टुंगिन बाँकी छ । उपराष्ट्रपतिको चुनावपछि छलफल गरेर निर्णयमा पुग्छौं,’ जसपा अध्यक्ष उपेन्द्र यादवले भने ।
मोर्चा गठनका लागि चार दलका शीर्ष नेता र कार्यदलमा रहेका नेताबीच संवाद पनि भइरहेको छ । मोर्चा र एकतासम्मका लागि काम गर्न माओवादीले उपाध्यक्ष कृष्णबहादुर महरा, एकीकृत समाजवादीले महासचिव बेदुराम भुसाल र जसपाले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा कार्यदल बनाएका छन् । बाबुराम भट्टराई नेतृत्वको नेसपा पनि मोर्चा गठनको पक्षमा छ । माओवादी उपाध्यक्ष महराले मोर्चा घोषणाको गृहकार्य भइरहेको तर चैत ५ पछि निर्णयमा पुग्ने बताए । ‘छलफल सकारात्मक छ । केही विषय टुंगिन बाँकी छ, चैत ५ पछि फेरि बसेर निर्णयमा पुग्छौं,’ उनले भने ।
एकीकृत समाजवादी पार्टीका महासचिव भुसालले समाजवादी मोर्चाको अवधारणापत्रको मस्यौदा तीन पार्टीका शीर्ष नेतालाई बुझाइसकेको जानकारी दिए । ‘नेताहरूले अध्ययन सकेपछि अवधारणापत्रलाई अन्तिम रूप दिन्छौं, त्यसपछि घोषणाको मिति तय हुन्छ,’ उनले भने । संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास निर्माण, राष्ट्रियताको प्रवर्द्धन, संघीयता कार्यान्वयनमा देखिएका कमजोरी हटाउनेलगायत मुद्दामा साझा धारणा बनाएर एक ठाउँमा उभिने तयारी रहेको भुसालले बताए ।
समाजवादी मोर्चाको गृहकार्य स्थानीय तहको निर्वाचनअघि पनि भएको थियो । तर संघ र प्रदेशको चुनावको मुखमा जसपा गठबन्धनबाट बाहिरिएपछि गृहकार्य रोकिएको थियो । माओवादी नेताहरूका अनुसार मोर्चा बनाएर सत्ता समीकरणमा निर्णायक शक्ति बन्ने रणनीति छ । मोर्चा निर्माणमार्फत संसद्मा बलियो शक्ति बन्ने चार दलको रणनीति छ । हाल प्रतिनिधिसभामा माओवादीका ३२, जसपाका १२, एकीकृत समाजवादीका १० सांसद छन् । मोर्चा बने संसद्मा ५४ सिट हुन्छ । त्यसमा कांग्रेसको अहिले कायम ८८ सिट जोड्दा बहुमत (१४२) पुग्छ ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay