Thursday Sep 10, 2026


मन्त्रिपरिषद् विस्तार आजः मन्त्रीहरुको शपथ दिउँसो १ बजे

Image
३ माघ २०७९, मङ्गलवार
Avatar
नेपालि खबर

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । त्यसका लागि राष्ट्रपति भवन शीतल निवासमा मन्त्रीहरुको शपथको कार्यक्रम तय भएको छ । 


सोमबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएको हो । 


यद्यपि कुन पार्टीले कुन मन्त्रालय पाउने भन्नेबारे भने सार्वजनिक गरिएको छैन । गृहमन्त्री रवि लामिछानेले दलहरुले आ–आफ्नो पार्टीमा मंगलबार छलफल गरेपछि मन्त्रीहरुको नाम बाहिर आउने जानकारी दिए । 


‘पार्टीले कुन कुन मन्त्रालयको जिम्मेवारी लिने भन्ने कुरा सहमति भइसकेको छ । को को मन्त्री बन्ने भनेर मंगलबार नामसहित बाहिर आउँछ ।


बिहान एकपटक छलफल गर्छौँ, मन्त्रालयको बाँडफाडका लागि फेरि बस्नु पर्दैन,’ लामिछानेले सोमबारको बैठकपछि भने, ‘१ बजे शपथ हुन्छ । राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकिएको छ ।’


पुस ११ गते प्रधानमन्त्रीको शपथ लिएका प्रचण्डले मन्त्रिपरिषदलाइ पूर्णता दिन लागेका हुन् ।

राप्रपालाई मन्त्रीको टुङ्गो लगाउन सकस, पाण्डे र राणाबीच रस्साकस्सी

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले तीन मन्त्री पाउने तय भएको छ । सत्ता साझेदार दलमा सोमबार भएको सहमतिअनुसार राप्रपाले उपप्रधानमन्त्रीसहित ऊर्जा र सहरी विकासका साथै महिला बालबालिका वा खेलकुद मन्त्रालय मध्ये एक मन्त्रालय पाउने तय भएको हो । 

जसमा उपप्रधानसहित ऊर्जा मन्त्री पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन हुने निश्चित भएको छ ।

यस्तै नेता ध्रुवबहादुर प्रधान सहरी विकास मन्त्री बन्ने मोटामोटी सहमति भएको छ । तर, अर्को मन्त्री छान्न भने सो पार्टीलाई सकस पर्ने देखिएको छ । मन्त्रीमा उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शमशेर राणाबीच हानथाप देखिएको हो । उसो त जुम्लाबाट निर्वाचित ज्ञानेन्द्र बहादुर शाहीले पनि मन्त्री बन्ने आकांक्षा देखाएको भए पनि उनी यो पटक मन्त्री नबन्ने बताइएको छ ।

 

राप्रपा स्रोतका अनुसार लिङ्देन र प्रधान मन्त्री बन्ने निश्चित भए पनि पाण्डे र राणाबीचको रस्साकस्सीले नाम टुङ्गो लगाउन सकस भएको छ । पार्टी संसदीय दलको कार्यादेश अनुसार मंगलबार नै अध्यक्ष राजेन्द्र लिङ्देनले नाम टुङ्गो लगाउने ती नेताको भनाइ छ । 

यस्तै राप्रपाले एक राज्यमन्त्री समेत पाउने स्रोतको भनाइ छ । राज्यमन्त्रीमा मकवानपुरबाट निर्वाचित दीपक सिंह पठाउने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार नै मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् ।

Advertisement

सम्बन्धित खबर