काठमाडौ।पूर्वमाओवादी घटकको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ । सशस्त्र द्वन्द्वका घटनालाई लिएर सर्वोच्चमा आज मुद्धा दर्ता हुने भएपछि माओवादीका नेताहरु एक ठाउँमा भेला भएका हुन् । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका साथै माओवादी आन्दोलनबाट प्राप्त उपलब्धी संस्थागत गर्न चाल्नुपर्ने कदमलगायतका विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सर्वोच्च अदातलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धका उजुरी हाल्न निर्देशन दिएपछि पूर्वमाओवादी घटक एक ठाउँमा जुट्न खोज्नुलाई महत्वका साथ हेरिएको छ।
सशस्त्रद्वन्द्व समाप्त भएको लामो समय बितेपनि द्वन्द्व व्यवस्थापनका कामले पूर्णता पाएका छैनन्। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगले प्रभावकारी काम नगर्दा पटक पटक सशस्त्र द्वन्द्वका घटना छलफलमा आउने गरेका छन्।
यसैबीच सोमबार आफ्नो पार्टीका सांसदलाई अभिमुखीकरण दिनेक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी कानून टुङ्ग्याउन माओवादी बाधक बनेको आरोप लगाएका थिए। आफू प्रधानमन्त्री हुँदा प्रचण्डलाई संक्रमणकालीन न्यायसम्बन्धी कानून टुङ्ग्याउन बारम्बार भन्दा पनि ऐन कानून बनाउन नदिएको आरोप ओलीले लगाएका थिए।
आजको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी कानून टुंग्याउने विषयमा पनि छलफल गर्ने बुझिएको छ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay