काठमाडौ । नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरुको नाम अझै टुंग्याएको छैन । पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको आकांक्षी धेरै भएपछि माओवादीमा पनि अरु दलमो जस्तै समस्या परेको हो ।
माओवादीबाट रेखा शर्मा र सुदन किँराती दुईमन्त्री बन्ने लगभग सुनिश्चित् भएको तर थप एक मन्त्रीका लागि धेरै जनालाई विकल्पमा राखेर छलफल गरिराखिएको बताईएको छ ।
‘रेखा शर्मा र सुदन पहिलो पटक मन्त्रीमा अवसर पाउन लागेकाले उनिहरुको नाममा विवाद नरहेको नेताहरुले बताएका छन् । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले रेखा शर्मालाई उपराष्ट्रपति बनाउन प्रस्ताव गरेपनि शर्माले राजनीतिक क्रियाशीलता अहिले नै अन्त्य नगर्ने भन्दै मन्त्री बन्न चाहेको माओवादी श्रोतको दावी छ । त्यसैले, शर्मा मन्त्री बन्ने लगभग निश्चित् जस्तै भएको छ । यसबाहेक प्रदेश १ बाट पटक पटक चुनाव जितेर पनि अहिलेसम्म अवसर नपाएकाले प्रधानमन्त्री दाहालले सुदन किंरातीलाई मन्त्री बनाउन चाहेको देखिन्छ ।
तेस्रो मन्त्रीको सुचीमा मधेशबाट माओवादीको चुनाव चिह्नबाट जितेर आएका नेपाल समाजवादी पार्टीका सहअध्यक्ष महिन्द्र राय यादवलाई राखिएको भएपनि माओवादी भित्र विवाद छ । तर यादवलाई मन्त्री बनाउन नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले दबाब दिइरहेको बुझिन्छ । अहिले नेसपाले माओवादीसँग पार्टी एकताको कसरत समेत गरिरहेकाले यादवले बाजी मार्न सक्छन् ।
‘मधेशबाट पार्टीको चुनाव चिह्नबाट जितेर आउनुभएको छ । महिन्द्रजीलाई सरकारमा सहभागी गराउन पार्टीभित्र दबाब छ । अब कसरी समेटर लानुहुन्छ प्रधानमन्त्रीकै हातमा छ’, ती नेताले भने ।
नेपाल समाजवादी पार्टीसँग पार्टी एकता प्रक्रिया पनि अगाडि बढेकाले यादवलाई सरकारमा सहभागी गराउनुपर्ने दबाब प्रधानमन्त्री प्रचण्डमाथि छ ।
सत्ता साझेदारमा माओवादीबाट प्रधानमन्त्रीसहित बढीमा ६ जना मात्रै सहभागी पाउने भएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ सहभागी भइसकेका छन् ।
माओवादीले कम्तीमा ४ मन्त्रालयको दाबी गरेपनि साझेदार दलहरुमा भागवण्डा गर्दा थप ३ जनामा भन्दा धेरै पाउने अवस्था छैन ।
यद्यपी, यही बिषयमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिसकेका छन् । यही विषयमा आज सत्ता साझेदार दलको बैठकमा छलफल भएपनि, मन्त्रालयको भागबण्डा र मन्त्रीको नाम टुंगीन सकेन ।
भागमा पर्ने तीन मन्त्रालयमा शर्मा र किरातीलाई सरकारमा सहभागी गराउने विषयमा विवाद नभएपनि यादवबारे सहमति बन्न नसकेको नेताहरु बताउँछन् ।
उनको ठाउँमा सिन्धुपाल्चोकका माधव सापकोटा ‘सुवोध’लाई सहभागी गराउन चर्को दबाब छ । सुवोधलाई मन्त्री बनाउन पूर्वसभामुख अग्निप्रसाद सापकोटा आफैं लागेका छन् । सुवोध अग्निका भतिजा हुन् ।
यस्तै, नुवाकोटका हितबहादुर तामाङ र रुकुमपूर्वका पूर्ण घर्तीलाई पनि मन्त्री बनाउनुपर्नेमा पार्टीभित्र छलफल चलिरहेको अर्का एक नेताले बताए ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay