Saturday Jun 06, 2026


नालायकीपन र हिजडा प्रवृत्तिको फोहोरी राजनीति

Image
१४ फागुन २०७९, आइतवार
Avatar
नेपालि खबर

दुई महिनाअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा केही आसेपासे, सत्तालम्पट, लोभीपापीबाहेक आमसर्वसाधारण नागरिकमा खासै उत्साह र चमक थिएन । १० पुसमा अकस्मात् बनेको एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपालगायतको गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बन्न सफल भएका थिए । प्रतिनिधिसभामा ३२ सिटमा सीमित भएको तेस्रो दलका नेता प्रधानमन्त्री हुँदा त्यसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामाथि व्यङ्ग्य गरिरहेको थियो ।


स्वाभाविकरूपमा प्रधानमन्त्री पहिलो दल बन्न सफल कांग्रेसबाटै हुनुपथ्र्यो तर नैतिकता हराएको राजनीति र खराब खेलका कारण त्यसो हुन सकेन । कांग्रेस आफंैले पनि अनैतिक राजनीति गर्दै आइरहेकाले ऊ आफंै त्यस्तै खालको अनैतिक राजनीतिक खेलको सिकार हुन पुग्यो र प्रधानमन्त्री पद गुमायो ।


तेस्रो दलका नेता प्रधानमन्त्री भएपछि त्यसले सकारात्मक सन्देश दिने कुरै थिएन । यो लोकतन्त्र र प्रतिस्पर्धात्मक शासन प्रणालीकोविपरीत थियो । पहिलो हुनेले सत्ता नपाउने तर तेस्रो हुनेले सत्ताको नेतृत्व गर्ने प्रवृत्ति अराजनैतिक थियो । पुष १० मा बनेको गठबन्धनमा गर्भदेखि नै अविश्वासको गन्ध आइरहेको थियो । गठबन्धनमा रहेका राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी केही नयाँ गर्न सकिन्छ कि भनेर सरकारमा गएका थिए । तर, वर्षौंदेखि सत्ताको रसस्वादन गर्न पल्केका लोकतान्त्रिक गणतन्त्रका कथित संरक्षक भन्नेहरूका अगाडि उनीहरू टिक्ने कुरै थिएन ।


आपूmलाई लोकतान्त्रिक गणतन्त्रको संरक्षक भन्ने उनीहरूको दाबी नक्कली दाबी हो । हिजो गणतन्त्र ल्याउन उनीहरूले केही कुर्वानी गरे होलान् तर यसलाई सफलताका साथ हुर्काउन उनीहरू असफल भइसकेका छन् । अहिलेका शासकको नैतिक स्खलन, अपारदर्शीता र भ्रष्ट चरित्रका कारण संघीय लोकतान्त्रिक गणतन्त्र दिनानुदिन संकटग्रस्त बन्दै जान थालेको छ । सम्भवतः आगामी पाँच वर्षभित्र यिनै नक्कली शासकका कारण यो गणतन्त्र दुर्घटनामा पर्ने पृष्ठभूमि तयार भइरहेको देखिन्छ ।


पहिलो र दोस्रो दल बनेका कांग्रेस र एमालेको नालायकीपन र हिजडा प्रवृत्तिका कारण तेस्रो दलका नेता प्रधानमन्त्री बनेका हुन् । 

१० पुषमा प्रतिकूल परिस्थितिबीच पनि प्रतिनिधिसभामा ३२ सिट ल्याएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जसरी पनि प्रधानमन्त्री बन्नु थियो । त्यसका लागि प्रचण्ड जे गर्न पनि तयार थिए । उनको दिमागमा प्रधानमन्त्री पदबाहेक अरू केही थिएन । एमालेको शरणमा गए र प्रधानमन्त्री बने । एमालेले राजनीतिक नैतिकतालाई तिलाञ्जलि दिएर तेस्रो दलका नेतालाई प्रधानमन्त्री बनायो र भयंकर ठूलो गल्ती गरेको थियो ।


तर, ८९ सिट ल्याएको कांग्रेसले सुरुमा ३२ सिट ल्याएको प्रचण्डलाई प्रधानमन्त्री दिन इन्कार गरेको थियो । कांग्रेसको त्यो अडान ठीक थियो तर, केही पाखण्डी स्वार्थी र सत्तालाई मात्रै सबैथोक सम्झने कांग्रेसका केही झुण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता गुमाएको भन्दै आलोचन गरे । यता ७८ सिट ल्याएको दोस्रो ठूलो दल एमालेले ३२ सिट ल्याएको दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएकोमा एमालेका कथित कार्यकर्ता मख्ख थिए । केपी ओलीको सो त्रुटिपूर्ण कार्यलाई एमालेका अल्पज्ञानी कार्यकर्ताले स्वागत गरे । किनकी उनीहरूको वरिपरि सत्ताको केही रस आउनेवाला थियो ।


उता सत्ताकै लागि मरिहत्ते गर्ने चरित्र बोकेको कांग्रेस सत्ता गुमेकोमा रन्थनिँदै थियो । जसरी हुन्छ सत्ता प्राप्ति उसको अर्जुनदृष्टि थियो । त्यसैगरी, सत्ताकै जुठोपिरो खान एमालेबाट चोइटिएको एकीकृत समाजवादी सत्तामा गएर रसस्वादन गर्न नपाएकोमा असह्य पीडामा थियो र रन्थनिएको थियो । उता मधेस शब्दलाई भजाएर सत्ताको जुठोपिरोमा हुर्किँदै आएको जसपालाई पनि जसरी पनि केही थान मन्त्री पद आवश्यक थियो । त्यसैले उसले पनि मरिहत्ते गर्नु स्वाभाविकै थियो । यसरी राजनीति स्वार्थी र लोभीपापीको लिलामी खेल बन्दै आइरहेको छ । अहिले राष्ट्रपतिको उम्मेदवारीका क्रममा देखिएको लफडा त्यही लोभीपापीको लिलामी खेलको शृंखला हो । यसले भोलिका दिनमा आफ्नै स्वार्थसमूहको मात्रै हित गर्छ । आमजनताको हित उनीहरूको दिमागमा कहिल्यै पनि घुसेको देखिँदैन ।



तत्कालीन समयमा एमालेले सत्ताकै रसस्वादन गर्न प्रचण्डलाई प्रधानमन्त्री बनाएको थियो । सत्ताबाहिर बस्न नसक्ने एमाले चरित्रका कारण ३२ सिट ल्याएको माओवादीलाई प्रधानमन्त्री दिएर सत्ताको रसस्वादनमा डुबुल्की मार्ने एमालेको प्रयास २ महिनामै चकनाचुर भएको छ । अहिलेको परिस्थितिमा नैतिकता, आदर्श, र जनहीतका गफ कसैले पनि नलगाउँदा हुन्छ । संघीयता र गणतन्त्रका ठूला ठूला बोक्रे गफ पनि कसैले नलगाए हुन्छ । सत्तालाई सबैथोक सम्झने चरित्र अलोकतान्त्रिक र पाङपुङे चरित्र हो । नेपाली राजनीतिमा अलिकति नैतिकता जीवित भएको भए तेस्रो दल र ३२ सिटमा खुम्चिएको दलका नेता प्रधानमन्त्री बन्न सक्ने थिएनन् । पहिलो र दोस्रो दल बनेका कांग्रेस र एमालेको नालायकीपन र हिजडा प्रवृत्तिका कारण तेस्रो दलका नेता प्रधानमन्त्री बनेका हुन् । हिजो १० पुषमा दोस्रो दल एमालेले ‘ब्लण्डर’ गल्ती गरेको थियो भने अहिले पहिलो दल कांग्रेसले प्रधानमन्त्रीमा दाबी छोडेर दोस्रो ‘ब्लन्डर’ गल्ती गरेको छ । लोकतन्त्र र प्रतिस्पर्धात्क शासन व्यवस्थामा तेस्रो हुने दलले प्रधानमन्त्री कहिल्यै कतै चलाउने अवस्था रहँदैन । ऊ सत्ताको साझेदार चाहिं बन्न सक्छ । तर, यहाँ कांग्रेस र एमालेलाई लडाएर तेस्रो दलले मुलुकको नेतृत्व गरिरहेको छ । त्यसैले सबैभन्दा बढी बेफकुफ नै यहाँको पहिलो दल कांग्रेस, एमाले र ती दलको नेतृत्व गर्ने फन्टुस नेता हुन भनेर किन नभन्ने ?


जनतालाई भने यी प्रमुख दल र तिनका नेताको सत्ताको झै–झगडा र सत्ता प्राप्तिको विषय कागलाई बेल पाक्यो हर्ष न बिस्मात जस्तै भइरहेको छ । जो प्रधानमन्त्री बने पनि जो सरकारमा आए पनि जनताका समस्या ज्यूँका त्यूँ हुने भएकाले जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान अहिले पनि उतिकै सान्दर्भिक छ । यी कथित नेता र दलले जनताको गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको समस्या समाधान गर्न कहिल्यै प्रभावकारीरूपमा पहल गरेका छैनन् । वर्तमान प्रचण्ड नेतृत्वको सरकारले पनि यो विषयलाई दुई महिनासम्म कहिकतै उठान गर्न नसकेकाले यो सरकार जनहितमा छैन भनेर प्रस्ट भन्न सकिन्छ । सत्ताको जुठोपिरोमा रमाउनु नै यो सरकारको मुख्य चरित्र हो । हिजो पनि यस्तै थियो र भोलि पनि यस्तै रहिरहने छ । जबसम्म जनताका गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको समस्या समाधान हुन सक्दैन तबसम्म यी सबै दल, तिनका नेता र सरकार पूर्णरूपमा असफल र असक्षम सावित भइरहने छन् र उनीहरूको अनैतिक र भ्रष्ट प्रवृत्तिका कारण जनताहरू वाक्कदिक्क छन् ।

Advertisement

सम्बन्धित खबर