Saturday Jun 06, 2026


नेपालको हवाई सुरक्षा थप संवेदनशीलः ईयूको हवाइ सुरक्षा कमिटी नेपाल नआउने

Image
७ माघ २०७९, शनिवार
Avatar
नेपालि खबर

काठमाडौ । युरोपियन युनियन (ईयू)को हवाइ सुरक्षा कमिटी नेपालको हवाइ सुरक्षा मूल्यांकन गर्न ‘अनसाइट एसेसमेन्ट भिजिट’मा नआउने भएको छ।

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोनो डेप्रेजले संयुक्त विज्ञप्ति जारी गरेर यति एयरलाइन्सको जहाज दुर्घटनाका कारण तत्काल युरोपियन युनियनको हवाइ सुरक्षा समितिले गर्न लागेको स्थलगत अनुगमन स्थगित भएको बताएका हुन्। 


गत जुनमा स्थलगत अनुगमनपछि पनि ईयूको हवाइ सुरक्षा कमिटीले नेपाली वायुसेवा कम्पनीलाई कालोसूचीबाट बाहिर निकालेको थिएन।

सन् २०१३ देखि नेपालका वायुसेवा कम्पनीलाई कालोसूचीमा राख्दै आएको ईयूले अर्को महिनाभित्र हवाइ सुरक्षाको अवस्थाका विषयमा पुनः स्थलगत अनुगमन गरेर पुनर्विचार गर्ने योजना सार्वजनिक गरेको थियो । 

गत आइतबार यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना भएपछि कालोसूचीसम्बन्धी प्रतिवेदन अद्यावधिक गर्ने ईयूको हवाइ सुरक्षा कमिटीले तत्कालका लागि स्थलगत अनुगमन नगर्ने भएको हो।

मुलुकको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित र प्रभावकारी बनाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरी नियामक निकाय र सेवा प्रदायक छुट्याउन ईयूले दबाब दिँदै आएको छ।

आइकाओले गत भदौ तेस्रो साता बुझाएको सेफ्टीसम्बन्धी अडिट प्रतिवेदनले पनि सेवा प्रदायक र नियामकको काम छुट्टाछुट्टै निकायबाट हुनुपर्ने विषय उठाएको थियो।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओले नेपालको हवाइ सुरक्षामा पर्याप्त सुधार आएको निष्कर्ष दिए पनि ईयूले नेपालमाथिको प्रतिबन्ध कायमै राखेको छ।

Advertisement

सम्बन्धित खबर