Tuesday Apr 21, 2026


निर्जिवन बीमा कम्पनीले १० अर्बभन्दा बढी भुक्तानी रोकेः सरकार मौन

Image
९ माघ २०७९, सोमवार
Avatar
नेपालि खबर

वाग्मती विशेष रिपोर्ट । २०७६ सालको चैतमा हल्ला भएर वैशाखबाट सुरु भएको कोरोना बीमाले सुरुवाती समयमा निकै चर्चा कमाएको थियो । बीमाका लागि सरकारले ५० प्रतिशत अनुदान दिने र एक लाख रुपैयाँको बीमाका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ र ५० हजार रुपैयाँको बीमाका लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ मात्रै लाग्ने गरी बीमाको पोलिसी तयार भयो । 

अझ परिवारका सदस्यले सामुहिक रुपमा बीमा गरेमा प्रतिव्यक्ति ६ सय रुपैयाँकै दरले बीमा हुने पोलिसी बनेपछि सुरु भएको कोरोना बीमा सुरुवाती समयमा निकै चर्चित भयो । अझ कोरोना लागेर कागजात पेश गरेको एक साताभित्रै बीमा वापतको रकम भुक्तानी दिने भनेपछि त यसको चर्चा अझै चुलियो । 

तर अहिलेको स्थिति फरक छ । कोरोना बीमा गराएका करिब १ लाख १० हजारभन्दा बढी बीमितले अझैसम्म कोरोना बीमाको रकम पाएका छैनन् । बीमा कम्पनीहरु सरकारले रकम नदिएको कारण बीमाको रकम भुक्तानी गर्न नपाएको भन्दै पन्छिने गरेका छन् । बीमा कम्पनीहरुले अहिले पनि करिब १० अर्ब रुपैयाँ बराबरको कोरोना बीमाको रकम भुक्तानी गर्न बाँकी रहेको बीमक संघ नेपालका अध्यक्ष  चंकी क्षेत्री बताउँछन् । 

तत्कालीन समयमा २० वटाको सङ्ख्यामा रहेका बीमा कम्पनीले भुक्तानी गर्न बाँकी रकम १० अर्बभन्दा बढी छ । तर उनीहरुको टाउको दुखेको छैन । बीमितलाई दिएको पोलिसी भन्दा बाहिर गएर उनीहरुले सरकारलाई देखाउँदै भुक्तानी रोकेका छन् । प्रिमियम तिरेर पोलिसी खरिद गरेको भएपनि बीमा कम्पनीहरुले बीमितले पाउने रकम भुक्तानी नगरेको कारण यतिबेला बीमा कम्पनी ठग हुन् भन्दै बीमा कम्पनीप्रति बीमितको धारणा नकारात्मक बनेको छ । 

यसरी सुरु भयो कोरोना बीमा

विश्वभर कोरोना महामारी फैलिरहेको समयमा २०७६ सालको मंसिर महिनादेखि नेपालमा पनि त्यसको त्रास बढिरहेको थियो । कोरोना महामारी लागेमा मानिसको मृत्युसमेत हुनसक्ने र उपचारमा अत्याधिक खर्च हुनसक्ने त्रास थियो । 

नेपालमा पनि २०७६ चैत ११ गतेदेखि लकडाउनको घोषणा भयो । त्यसको केही समयपछि बीमा कम्पनीहरुको योजनामा, तत्कालीन बीमा समितिले कोरोना बीमाको नीति ल्यायो । 

सुरुवाती समयमा कोरोना संक्रमण भएको अवस्थामा उपचारमा सघाउ पुराउन सकिन्छ भन्ने उद्धेश्यबाट कोरोना बीमाको धारणा सार्वजनिक गरिएको थियो । त्यस बाहेक बीमा कम्पनीहरुले कोरोना बीमा गराउँदा कम्पनीहरुको बीमासम्बन्धी ब्राण्डिङ हुने र राम्रो नाफा हुने आंकलन गरियो । अनि बीमा कम्पनी र राष्ट्रिय बीमा समितिको योजनामा ल्याइयो कोरोना बीमा । 

कोरोना धेरै व्यक्तिलाई नलाग्ने आंकलनका साथ सुरु गरिएको बीमामा व्यापक नाफा हुने बीमा कम्पनीहरुले आंकलन गरेका थिए । तर समस्या कहाँ आइदियो भने २०७७ को मध्य वैशाखमा धेरैलाई कोरोना लाग्न थाल्यो । त्यसपछि आत्तिएका बीमा कम्पनीहरु कोरोना बीमाबाट ब्याक भएपनि अर्थशास्त्री रहेका अर्थमनत्री डा. युवराज खतिवडाले जोर जबरजस्ती गरेपछि कोरोना बीमालाई सरकारको नीति तथा कार्यक्रममै ल्याइयो र कोरोना बीमा गरियो । 

तर बीमा कम्पनीहरुको अनुमान र नाफाको सपना विपरीत नेपालमा धमाधम कोरोना संक्रमण बढ्यो । कुल १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गराएकामध्ये १ लाख ६२ हजार ७५१ जनालाई कोरोना पोजिटिभ देखियो । १ लाख ६२ हजारभन्दा बढीले कोरोना दावी गरेपछि १५ अर्ब ३५ करोड ६८ लाख २६ हजार ६२३ रुपैयाँ भुक्तानी गर्नुपर्ने भयो । 

तर कोरोना बीमावापत १ अर्ब रुपैयाँको मात्रै प्रिमियम संकलन गरेका बीमा कम्पनीहरुले आफूहरुले त्यति धेरै रकम दिन नसक्ने भन्दै हात उठाएका छन् । अहिले पनि तत्कालीन समयमा २० वटा निर्जिवन बीमा कम्पनीहरु १० अर्बभन्दा बढी रकमको बीमालेखको भुक्तानी गर्नुपर्ने दबावमा छन् । 

प्रिमियम उठाएर बीमाको रकम नदिने कम्पनीहरु

कोरोना बीमाको नाममा प्रिमियम उठाएपनि भुक्तानी नदिने निर्जिवन बीमा कम्पनीहरुको सङ्ख्या २० वटा रहेको छ । जसमा सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको दायित्व सबैभन्दा बढी छ । 

राष्ट्रिय बीमा कम्पनी लिमिटेड

अधिकांश सेयर नेपाल सरकारको रहेको राष्ट्रिय बीमा कम्पनीमा कुल ५० हजार १२५ जनाको कोरोना बीमाको दाबी भुक्तानी लिइएको थियो । कुल ४ अर्ब ७७ करोड, ७८ लाख १४ हजार ७५० रुपैयाँ बराबरको मागदावी गरिएकामा हालसम्म जम्मा १० हजार १८७ जनालाई ९७ करोड ९४ लाख ९२ हजार ३१२ रुपैयाँ मात्रै भुक्तानी भएको छ । उक्त बीमा कम्पनीले अझै पनि ३९ हजार ९३८ जनालाई ३ अर्ब ७९ करोड ८३ लाख २२ हजार ४३८ रुपैयाँ बराबरको बीमा रकम भुक्तानी गर्न बाँकी छ ।

शिखर इन्स्योरेन्स 

कोरोना बीमाको पोलिसी बेच्ने क्रममा आक्रामक व्यापार गरेको शिखर इन्सुरेन्सबाट कुल २० हजार ८२९ जनाले कोरोना बीमाको दावी लिएका थिए । यी बीमितलाई बीमा कम्पनीले कुल १ अर्ब ९८ करोड ८१ लाख २८ हजार ५० रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ । तर हालसम्मको भुक्तानीको अवस्था हेर्दा ७ हजार ३५४ जनालाई ७१ करोड ३९ लाख रुपैयाँको मात्रै भुक्तानी गरिएको छ । शिखर इन्सुरेन्सले बीमितलाई अझै पनि १ अर्ब २७ करोड ४२ लाख २८ हजार ५० रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

सगरमाथा इन्स्योरेन्स 

कोरोना बीमाको दावी भुक्तानीका लागि सगरमाथा इन्सुरेन्समा पनि १० हजार २८० जनाले दावी लिएका थिए । कुल ९४ करोड ५१ लाख २५ हजार रुपैयााको मागदावी लिइएकामा उक्त बीमा कम्पनीले हालसम्म ३ हजार ७८७ जनालाई ३६ करोड ६ लाख ७५ हजार रुपैयाँको मात्रै भुक्तानी गरेको छ ।

आइजिआई जनरल इन्सोरेन्स

सेवाग्राहीसँग बीमाको प्रिमियम असुल्ने तर बीमाको रकम भुक्तानी नगर्ने अर्को बीमा कम्पनी हो आइजिआई जनरल इन्सुरेन्स । यो कम्पनीमा कुल ६ हजार ७९८ जनाको कोरोना बीमाको दाबी परेकामा जम्मा १ हजार ७६२ जनालाई १९ करोड ५ लाख ५० हजार रुपैयााको मात्रै भुक्तानी दिइएको छ । आइजिआई लै अझै ४५ करोड ९६ लाख रुपैयाँ बराबरको कोरोना बीमाको भुक्तानी गर्न बाँकी नै रहेको छ ।  

प्रिमियर इन्सोरेन्स

कोरोना बीमाको भुक्तानी नदिने इन्सुरेन्स कम्पनीमा प्रिमियर इन्सुरेन्स पनि रहेको छ । प्रिमियर इन्सुरेन्सबाट कोरोना बीमा गराएका मध्ये ५ हजार ९८१ जनाले कोरोना बीमा दावी गरेका थिए । तर प्रिमियर यन्सुरेन्ज्सले हालसम्म २ हजार ४७१ जनालाई २४ करोड ५ लाख रुपैयाँ बराबर मात्रै भुक्तानी दिएको छ । प्रिमियरले अझै पनि ३ हजार ५१० जनालाई ३३ करोड ३ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । 

लुम्बिनी जनरल इन्सोरेन्स

कोरोना बीमा वापत पोलिसी बेचेर बीमाको रकम भुक्तानी नगर्ने कम्पनीमध्ये लुम्बिनी जनरल इन्सुरेन्स पनि एक कम्पनी हो । उक्त कम्पनीमा कोरोना बीमा गराएकामध्ये ५ हजार ७०८ जनाले बीमाको दावी गरेकामा २ हजार १७७ जनाले २१ करोड ५७ लाख रुपैयाँ बराबरको मात्रै भुक्तानी पाएका छन् । लुम्बिन िइन्सुरेन्सले अझै पनि ३ हजार ५३१ जनालाई ३५ करोड २१ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी नै रहेको छ । 

युनाइटेड इन्सोरेन्स

कोरोना बीमाको पोलिसी बेचेर बीमावापतको रकम भुक्तानी नगर्ने अर्को कम्पनी युनाइटेड इन्सुरेन्स पनि हो । युनाइटेड इन्सुरेन्समा कुल ४ हजार ६०४ जनाको कोरोना बीमाको दाबी परेकामा १ हजार ६२२ जनालाई कुल १५ करोड ७५ हजार रुपैयाँ मात्रै भुक्तानी गरिएको छ । उक्त बीमा कम्पनीले अझै पनि २ हजार ९८२ जनालाई २७ करोड ७६ लाख ३० हजारभन्दा बढी रकम भूक्तानी गर्न बाँकी रहेको छ ।

जनरल इन्सोरेन्स

हाल सानिमा जनरल इन्सुरेन्ससँग मर्च भएर सानिमा जनरल इन्सुरैनस बनेको जनरल इन्सुरेन्सले पनि बीमितलाई अझै २५ करोड ७८ लाख रुपैयाँ बीमा वापतको रकम भुक्तानी गर्न बाँकी रहेको छ । कुल ४ हजार ४७३ जनाले बीमा दावी गरेकामा हालसम्म १ हजार १८६ जनालाई १० करोड ९३ लाख २५ हजार रुपैयाँ मात्रै भुक्तानी गरिएको छ ।

एनएलजी इन्सोरेन्स

कुल ४ हजार ४१० जनाको कोरोना बीमाको दावी परेको एनएलजी इन्सुरेन्स १ हजार ९१० जनाको मात्रै कोरोना बीमाको भुक्तानी गरेको छ । कुल १८ करोड ५६ लाख ५० हजार रुपैयाँ भुक्तानी दिएको एनएलजी इन्सुरेन्सले अझै पनि २३ करोड ७७ लाख १० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । 

त्यसैगरी हिमालयन जनरल इन्सुरेन्ससँग मर्ज भएको एभरेष्ट इन्सोरेन्सले ३ हजार १५८ जनालाई २७ करोड ६ लाख २५ हजार रुपैयाँ भुत्तःानी गर्न बाँकी छ । ४ हजार १२६ जनाको दावी भएको नेपाल इन्सोरेन्सले २ हजार ८१६ जनालाई २७ करोड ५८ लाख ७५ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । 

त्यस्तै २ हजार ९०० जनाको इन्सुरेन्स गराएको प्रभु इन्सोरेन्सले १ हजार ९८८ जनाको १८ करोड ८६ लाख १२ हजार ६०० रुपैयाँ भुक्तानी गर्न बाँकी छ भने २ हशजार ४११ जनाको इन्सुरेन्स गराएको ओरिएण्टल इन्सोरेन्सले १ हजार २१३ जनाको १२ करोड २ लाख ४० हजार रुपैयाँ भुक्तानी गगर्न बाँकी रहेको छ । 

त्यसैगरी जनरल इन्सुरेन्ससँग मर्ज भएको सानिमा जनरल इन्सोरेन्सले १ हजार ११६ जनाको १० हरोड ६९ लाख भुक्तानी गर्न बाँकी छ भने १ हजार ६४३ जनाको इन्सुरेन्स गराएको प्रुडेन्सिलय इन्सोरेन्सले ७८७ जनाको ७ करोढड ६८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । १ हजार १०८ जनाको इन्सुरेन्स गराएको नेशनल इन्सुरेन्सबाट ६०० जनाले ५ करोड ७९ लाख ७५ हजार रुपैयाँ भुत्तःानी लिन बाँकी रहेको देखिन्छ । उक्त कम्पनीले अझै पनि ५८ करोड ४४ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी नै रहेको छ ।

सिद्धार्थ इन्स्योरेन्स

कोरोना बीमाको समयमा आक्रामक व्यापार गर्ने सिद्धार्थ इन्सुरेन्स कम्पनीमा पनि ९ हजार ३३ जनाले कोरोना बीमाको दावी भुक्तानी लिएका थिए । कुल ८५ करोड ५२ लाख १३ हजार २३४ रुपैयाँको दावी भुक्तानी लिइएकामा हालसम्म ३७ करोड २० लाख ४ हजार २३४ रुपैयाँको मात्रै भुक्तानी दिइएको छ भने अझै पनि ५ हजार १९० बीमितलाई ४८ करोड ३२ लाख ९ हजार रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी रहेको छ । 

हिमालयन जनरल इन्स्योरेन्स 

कोरोना बीमाको भुक्तानीको मागदावी हेर्दा हिमालयन जनरल इन्सुरेन्समा कुल ७ हजार ३४५ जनाको मागदावी परेको देखिन्छ । कुल अनुमानित ६६ करोड ५५ लाख २७ हजार ५०० रुपैयााको मागदावी लिइएकामा हालसम्म ३ हजार ७९० जनालाई ३५ करोड १८ लाख ७५ हजार रुपैयाँ मात्रै भुक्तानी गरिएको छ । हिमालयन जनरल इन्सुरेन्सले अझै पनि ३१ करोड ३६ लाख ५२ हजार ५०० रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी रहेको छ ।

नेको इन्स्योरेन्स

राष्ट्रिय वाणिज्य बैंकको धेरै सेयर रहेको नेको इन्सुरेन्सले पनि अझै ५ हजार ५२२ जनाको ५२ करोड ११ लाख २५ हजार रुपैयाँ तिर्न बाँकी छ । कुल ७ हजार २७६ जनाबाट ६९ करोड ३ लाख रुपैयाँको बीमा दावी भएकामा नेको इन्सुरेन्सले हालसम्म १ हजार ७५४ जनालाई १६ करोड ९१ लाख ७५ हजार रुपैयाँ मात्रै भुक्तानी दिएको छ । 

अजोड इन्स्योरेन्स

कोरोना बीमा गराउने अर्को बीमा कम्पनी अजोड इन्सुरेन्सले पनि कुल ५ हजार ६३४ बीमितलाई ५३ करोड ७९ लाख ६९ हजार १०० रुपैयाँ भुक्तानी गर्न बााकी नै छ । उक्त इन्सुरेन्समा कुल ७ हजार २५ जनाले बीमाको भुक्तानी दावी गरेकामा हालसम्म १ हजार ३९१ जनालाई १३ करोड २५ लाख २५ हजार रुपैयाँ मात्रै भुक्तानी गरेको छ 


भुक्तानी गर्न के गर्दैछन् बीमा कम्पनीहरु ?

यसरी २०७७ वैशाख महिनाबाट सुरु भएर करिब ६ महिनासम्म चलेको कोरोना बीमामा बीमा कम्पनीहरु चुर्लुम्म डुबेपछि यतिबेला कोरोना बीमाको पैसा नै दिन नसक्ने अवस्था आएको छ ।  सुरुमा बीमा गर्दा बीमा कम्पनीहरुले एक अर्ब रुपैयाँ मात्रै ब्यहोर्नुपर्ने गरी नीति बनाइएको थियो । 

बीमा कम्पनीहरुले लिएको दायित्व र अन्य संस्थाले लिएको दायित्व पूरा गरेपनि सरकारले लिएको दायित्व पूरा नगरेपछि कोरोना बीमाको भुक्तानी हुन नसकेको बीमक संघको दावी छ । 

कसल १५ अर्ब ३५ करोड ६८ लाख रुपैयाँ बराबरको कोरोना बीमाको दावी परेपछि सरकारले बाँकी रकम दिन आनाकानी गरिरहेको छ । तत्कालीन अर्थमन्त्री डा. युवराज खखिितवडाले पपुलर बन्न ल्याएको नीतिका कारण सरकारले १२ अर्बभन्दा बढी रकम दिनुपर्ने भएपछि सरकारले पछाडि हटेको छ । खर्च धान्न नसकेर सिभिल भएको सरकारले केही समय अगाडि १ अर्ब रुपैयाँ दिएपनि अझै ११ अर्बभन्दा बढी रकम तिर्न दिन बाँकी छ । 

सरकारले रकम नदिएपनि बीमितलाई रकम दिन नपाएका बीमा कम्पनीको व्यापार पनि कोरोना बीमाकै कारण घटेको छ । बीमा कम्पनीले बीमा गरेको रकम पनि नदिने रहेछन् भन्ने आभाष बीमितमा परेपछि अहिले बीमा गर्नेहरु पनि हच्किएका छन् । त्यसको असर बीमा कम्पनीको व्यापारमा देखिएको छ । 

कोरोना बीमासम्बनधी निर्देशिका तयार हुँदा कोरोना लागेर कागजात पेश गरेको सात दिनभित्र बमिावापतको रकम दिने भनिएको थियो । तर अहिले कोरोना लागेर कागजात पेश गरेको २ वर्षभन्दा बढी समय हुँदा पनि १ लाख १० हजारभन्दा बढी बीमितले कोरोना बीमाको रकम पाएका छैनन् । बरु बीमा गराउने कम्पनीले पोलिसी मात्रै बेच्ने रहेछन्, तर बीमाको रकम नदिने रहेछन् भन्ने अविश्वास बढाएको छ । सरकार भने तत्काल रकम दिन नसक्ने भनी पन्छिने गरेको छ ।

भिडियो रिपोर्टका लागि क्लिक गर्नोस्....

https://www.youtube.com/watch?v=l3_egOQlYpg


Advertisement

सम्बन्धित खबर