काठमाडौं।नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको छ । संघीय संसद भवनको शंकर हलमा आइतबार विहान बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरको महामन्त्री गगन थापाले बताए । उनले भने, ‘केन्द्रीय कार्यसम्पादन समितिबाट प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय भएको छ ।’
महामन्त्री थापाकाअनुसार कांग्रेसको संसदीय दलको बैठकले कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्नेछ । यो निर्णयसँग संसदमा कांग्रेस सत्ता पक्षको बेन्चमा बस्ने महामन्त्री थापाले बताए । यसअघि संसदमा कांग्रेस र एमालेले प्रमुख प्रतिपक्षी दाबी गर्दा संसद बैठक प्रभावित भएको थियो । फागुन १७ गतेका लागि बोलाइएको संसद बैठकमा कांग्रेस र एमाले दुवैको प्रमुख विपक्षीको दाबी थियो ।
सरकारमा जाने निर्णय गरेर कांग्रेस सत्ता पक्षको बेन्चमा बसेपछि एमालेलाई प्रमुख प्रतिपक्षीको बेन्चेमा बस्न बाटो खुला भएको छ । गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमै बसेको थियो । राष्ट्रपति निर्वाचनमा पुस १० को सत्ता समीकरणमा फेरबदल आएपछि एमाले विपक्षी कित्तामा पुगेको छ । प्रचण्ड नेतृत्वको सरकारबाट मन्त्री फिर्ता बोलाएर एमालेले समर्थन पनि फिर्ता लिइसकेको छ ।
मन्त्रीका लागि चार मापदण्ड:
नेपाली कांग्रेसले चारवटा मापदण्डका आधारमा सरकारमा मन्त्री पठाउने भएको छ । संघीय संसद भवनको शंकर हलमा आइतबार विहान बसेको कार्यसम्पादन समितिको बैठकले मन्त्री बनाउन चारवटा मापदण्ड तोकेको छ ।
बैठकले योग्यता, क्षमता, आपसी समझदारी र सन्तुलन कायम राखेर मन्त्रीलाई सरकार पठाउने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए । प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिएपछि कांग्रेस सरकारमा सहभागी हुने उनको भनाइ छ । उनका अनुसार कांग्रेस कसको नेतृत्वमा सरकारमा जान्छ भनेर टुंगो लागिसकेको छैन ।
कांग्रेसभित्र पाँच जना ‘हेभीवेट’ नेताबिच सरकारको नेतृत्व गरेर जान हानथाप चलिरहेको छ । उपसभापति पूर्णबहादुर खड्का, नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि, शेखर कोइराला र प्रवक्ता प्रकाशशरण महत कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जान चाहेको देखिन्छ ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन:
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन दिएको छ । संघीय संसद भवनको शंकर हलमा बसेको केन्द्रीय कार्यसम्पादन समितिले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए ।
सोमबार विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी छ । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको छ । सत्तारुढ दलहरुको आन्तरिक छलफलपछि मन्त्रालय टुंगो लगाइने महतको भनाइ छ ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay