पोखरा । पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा चालक दलसहित ७२ यात्रु सवार रहेको पाइएको छ ।
बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । ६८ यात्रुमध्ये ३/३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेका छन् ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारमा दुर्घटना भएको हो ।
पोखरा अन्तर्राष्टिय विमानस्थलले उद्धार कार्य जारी रहेको र घटनामा के कति क्षति भएको एकिन हुन बाँकी रहेको जनाएको छ ।
दुर्घटनामा पर्ने यतिको उक्त विमान पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण गर्ने विमान थियो ।
प्रशिक्षक पाइलटसमेत रहेका क्याप्टेन कमल केसीसहितको चालक दलले पुस ७ गते यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेका थिए । नेपालमा ७२ यात्रु क्षमताको एटीआर विमान दुर्घटना भएको यो पहिलो घटना हो ।
पाइलटले बस्ती जोगाउन विमान सेती खोंचतिर लगेको देखियो : प्रत्यक्षदर्शी
पोखरामा भएको विमान दुर्घटनामा चालक दलले दुर्घटनाबाट बस्ती जोगाउन हरसम्भव प्रयास गरेको देखिएको छ ।
दुर्घटनास्थलमा उद्धारमा खटिएका सुरक्षाकर्मीहरुकाअनुसार विमान पुरानो आन्तरिक विमानस्थलको पूर्वपट्टि रहेको नेपाली सेनाको ब्यारेक पछाडि खसेको हो । नयाँ विमानस्थलतर्फ ल्याण्ड गर्नका लागि मोडिएको अवस्थामा विमान घनाबस्ती माथि उडिरहेको थियो ।
पोखराको फेवातालको ड्यामसाइड दक्षिणतर्फबाट पूर्वतर्फ मोडिएर नयाँ विमानस्थलतर्फ अघि बढ्दै गर्दा विमान खसेको प्रत्यक्षदर्शी र उद्धारमा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् ।
‘विमान एक मिनेट मात्रै ढिला दुर्घटना परेको भए पुरानो विमानस्थल माथि खस्ने थियो’ एक उद्धारकले भने, ‘एक मिनेट मात्रै थप अघि बढेको भए रामघाट बजार माथि जहाज बजारिने थियो ।’
अर्का एक प्रत्यक्षदर्शीका अनुसार प्लेनको पखेटा तलमाथि भएर आएको थियो । ‘हामी ३ जनासँगै थियौं । पाइलटले सेफ ठाउँ खोज्दा खोचमा खस्यो’ उनले थपे, ‘पाइलटले बस्ती जोगाउन विमान सेती खोंचतिर लगेर अर्को दुर्घटना जोगाउन हरसम्भव प्रयास गरेको देखियो ।’
प्रत्यक्षदर्शी अनिशा अधिकारीका अनुसार प्लेन जमिनमा बजार्ने बेलामा ठूलो आवाज आएको बताइन् । उनले भनिन्, ‘पहिले आफ्नो घरतिरै खस्ला जस्तो गरी जहाज आइरहेको थियो । तर जहाज हल्लिंदै सेती खोंचमा बजारिन पुग्यो ।’
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay