काठमाडौँ — सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार भएको निर्वाचनमा उनले प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै सभामुख चुनिएका हुन् ।
घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछाने थिए भने न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला रहेका थिए ।
प्रतिनिधिसभामा मत विभाजन प्रक्रियामार्फत् भएको चुनावमा घिमिरेको पक्षमा १६७ मत पर्यो । २७५ सदस्यीय प्रतिनिधिसभामा बिहीबार २६८ सांसद उपस्थित थिए । घिमिरेको विपक्षमा १०० मत पर्यो । पहिलो प्रस्तावमै घिमिरेको पक्षमा सभामुख निर्वाचित हुन आवश्यक न्यूनतम १ सय ३८ मत कटेकाले उनलाई ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले निर्वाचित भएको घोषणा गरेका हुन् ।
सभामुखको पदका लागि एमालेका घिमिरे र कांग्रेस सांसद ईश्वरी न्यौपानेले उम्मेदवारी दिएका थिए । घिमिरेलाई सभाको बहुमत प्राप्त भएपछि न्यौपानेलाई सभामुख बनाइयोस् भन्ने प्रस्तावमा मतविभाजन गरिएन । नेमकिपाका प्रेम सुवालले घिमिरेकाे पक्ष र विपक्षमा मत नदिई तटस्थमा मतदान गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि घिमिरेले कार्यकाल सम्हाल्नेछन् ।घिमिरे झापा-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
२०१५ सालको पहिलो संसद् र २०४७ सालमा प्रजातन्त्र पुन:स्थापनापछि बनेका संसद्को इतिहासअनुसार घिमिरे नेपालका नवौं सभामुख हुन् । २०१५ सालको पहिलो संसद्मा कृष्णप्रसाद भट्टराई सभामुख भएका थिए ।
२०४८ सालमा दमननाथ ढुंगाना, २०५१ सालमा रामचन्द्र पौडेल, २०५६ सालमा तारानाथ रानाभाट, २०६३ सालको अन्तरिम संसद्देखि पहिलो र दोस्रो संविधानसभामा सुवासचन्द्र नेम्बाङ, संविधान जारीपछि रुपान्तरित संसद्मा ओनसरी घर्ती, २०७४ सालको प्रतिनिधिसभाको ५ वर्षे कार्यकालमा कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटा सभामुख भएका थिए ।
यसैबीच, प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले बोली र व्यवहार दुवैमा निष्पक्ष र तटस्थ भूमिका निभाउने बताएका छन् । प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएपछि संसद् भवनबाट बाहिरिने क्रममा घिमिरेले सभामुखको रुपमा आफूले निष्पक्ष र तटस्थ भूमिका निभाउने बताएका हुन् ।
‘सभामुख चयनको क्रममा प्रजातन्त्रको सुन्दर अभ्यास भएको छ, त्यो अभ्यासबाट म निर्वाचित भएको छु, सभामुखको भूमिकामा राम्रो भूमिका निभाउनेछु,’ उनले भने, ‘त्यहीअनुसार योजनाहरू बनाएर काम गर्नेछु । निष्पक्ष र तटस्थ भूमिकामा मेरो बोली र व्यवहार देख्नुहुनेछ ।’
उनले विगतमा सभामुखहरूले गरेका कमजोरीहरूबाट शिक्षा लिएर अघि बढ्ने बताए । ‘यो दलीय व्यवस्था हो । दलहरूसँग छलफल गरेर, समन्वय गरेर नै अघि जाने हो,’ उनले भने ।
उनले प्रतिनिधिसभा संचालन गर्दा कसैलाई पनि दलीय आधारमा भेद्भाव नगर्ने बताए ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay