Wednesday Sep 09, 2026


पृथ्वीनारायण शाहको आज जन्मजयन्ती मनाइँदै

Image
२७ पुष २०७९, बुधवार
Avatar
नेपालि खबर

काठमाडौं: प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।

यस वर्ष पृथ्वीनारायणको ३०१औँ जन्मजयन्ती मनाइँदैछ। विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो।

विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए। त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो। पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए।

पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ। पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए।

त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यकामा विजय हासिल गरेका थिए। नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१औँ जन्मजयन्ती मनाइँदैछ। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ।

Advertisement

सम्बन्धित खबर