काठमाडौं। सत्ता साझेदारीबारे भागबन्डा मिलाउन गठबन्धन दलहरुको बैठक आज बस्ने तयारी छ । प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत लिए लगत्तै चैत १० गतेभित्र मन्त्रिपरिषद् विस्तार गर्ने बताएका प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेसम्म सत्ता गठबन्धनको बैठकसम्म राख्न सकेका छैनन् ।
आजको बैठकबाट मन्त्रालय बाँडफाँड र सरकारमा जाने दलहरुको टुङ्गो लगाउने तयारी छ । खासगरी सरकारलाई विश्वासको मत दिएका सबै दललाई समेट्ने र गृह तथा अर्थ लगायतका महत्वपूर्ण मन्त्रालयमा कसरी भाग मिलाउने भन्ने सहमति नहुँदा मन्त्रिपरिषद बिस्तारमा सकस देखिएको हो ।
पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले आज र भोलि गठबन्धन दलसँग छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ । प्रधानमन्त्री दाहालले यसबीचमा गठबन्धनका केही घटकसँग मन्त्रिपरिषद विस्तारबारे छलफल गरे पनि सहमति जुटिसकेको छैन । प्रधानमन्त्री दाहालले गठबन्धन बैठक राखेर मन्त्रालय बाँडफाँडको प्रस्ताव गर्ने तयारी गरेका छन् । माओवादीले गृह मन्त्रालय आफैँसँग राख्न चाहेको छ । स्रोतका अनुसार कांग्रेसले अर्थ मन्त्रालय लिने भएपछि माओवादीले गृहमन्त्रालय लिने सहमति भएको हो ।
मन्त्रिपरिषद विस्तार हुँदा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको जिम्मेवारी हेरफेर हुने भएको छ । उनलाई उपप्रधानसहित गृहमन्त्री बनाउने प्रधानमन्त्री दाहालको तयारी छ । यस्तै माओवादीबाट सरकारमा रहेका केही मन्त्रीको समेत जिम्मेवारी हेरफेर हुने बुझिएको छ ।
सत्ता घटक दल कांग्रेसले अर्थसहित कम्तीमा आठ मन्त्रालयमा दाबी गरेको छ । कांग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारका बारेमा अन्य दलसँग भएको छलफलबारे जानकारी गराएका छन् । प्रधानमन्त्री दाहालले कांग्रेसलाई सात मन्त्रालय लिएर सहयोग गरिदिन आग्रह गरिरहेको कांग्रेस बैठकमा जानकारी गराइएको थियो ।
यस्तै, संसदमा दर्ता भएका विधेयकलाई यथाशक्य छिटो टुंगोमा पुर्याउने विषयमा पनि बैठकमा छलफलमा भएको नेताहरूले जानकारी दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयको सङ्ख्या बाँडफाँटको प्रारम्भिक प्रस्ताव तयार पारे पनि गठबन्धन भित्र सहमति जुटेको छैन । आज गठबन्धनमा रहेका दलहरूसँग परामर्श गरेर प्रस्तावलाई अन्तिम रुप दिने र सहमति जुटाएर भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay