कहिले कार्यवहाक पार्टी सभापतिको फुर्को, कहिले कार्यवहाक प्रधानमन्त्रीको फुर्को । अत्यन्तै कठिन समयमा प्रतिनिधि सभाको सभामुख । व्यवस्थापीका संसदलाई सन्तुलीत ढंगबाट सञ्चालन गरेको अनुभव, अनि त्यही व्यवस्थापीकामा १७ पटकसम्म प्रधानमन्त्री चुनिनका लागि निरन्तर असफल प्रयास गरेको नमिठो बिगत ।
यही निराशा र भरोसाको मझधारबाट गुज्रिरहेको रामचन्द्र पौडेलको ६ दशक पुरानो सक्रिय राजनीतिः अन्ततः सुखद विन्दुमा पुगेर टुंगीएको छ । मुलुकको सर्वोच्च पद राष्ट्रपतिको जिम्मेवारी सम्हालेसँगै पौडेलको सक्रिय राजनीतिमा पूर्ण विराम लागेको हो ।
संयोग नै मान्नु पर्छ, वीपी कोइरालालाई राजा महेन्द्रले ०१७ सालमा जेल हालेपछि अन्यौल र अनिश्चितताक कै बीचमा २०१७ साल फागुनमा १६ वर्षको उमेरमा राजनीतिमा छिरेका रामचन्द्र पौडेल त्यसको ६२ बर्षपछि त्यही सक्रिय राजनीतिबाट बाहिरिएका छन् र सिंगो राष्ट्रको अविभावक बनेका छन् । वीपी कोइराला ०३३ सालमा भारतको निर्वासनबाट फर्केपछि लामोसमय वीपीको नजिक रहेर काम गरेका पौडेलको राजनीतिक जीवन त्यसपछि निरन्तर पार्टीभित्र समन्यकारी भूमिकाको अभ्यास गर्दा–गर्दै बित्यो । पार्टीको नेतृत्व गर्ने र पार्टीको नेता चुनिएर प्रधानमन्त्री बन्ने पौडेलको प्रयत्न ६२ बर्षसम्म पनि सफल भएन ।
पौडेलको राजनीति युवा अवस्थामा शीर्ष नेताहरुबीचको अन्तरसंघर्षको घानमा प¥यो । तर पौडेल पार्टी भित्रको गुटगत राजनीतिबाट कहिल्यै भागेनन् । नेपाली कांग्रेसको मुल धार मै अडिएर निरन्तर सम्वन्ध सेतुको काम गरि रहे । बनारसमा रहँदा बीपी कोइराला र कोलकातामा रहेका सुवर्णशमशेरबीच बढेको मनमुटाव अन्त्यका लागि पौडेलले खेलेको भुमिकाको निरन्तरता, पार्टीको १४ औं महाधीवेशन सम्म पनि देखियो ।
पौडेलको अनुभव छ, पार्टी राजनीतिमा अनेक आँधीहुरी र बतास आउँदाखेरि पनि मैले कहिल्यै लोकतन्त्रको दीयो निभ्न दिएको छैन । कांग्रेस संकटमा पर्दा म कहिल्यै पनि विचलित भइन, अब पनि शिलत निवासमा बसेर लोकतन्त्रको दियो निभ्न दिने छैन, सबैको छहारी बन्ने छु ।
विसं. २००१ सालको असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुन पोखरामा जन्मेका पौडेल ०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई राजाले जेल हालेपछि आक्रोशको ज्वालामुखी बोकेर राजनीतिमा होमिएका हुन् । जो नेपाली कांग्रेसले २०१८ सालमा चलाएको सशस्त्र क्रान्तिमा सहभागि थिए । २०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनमा विद्यार्थी अभियन्ता बने । २०२३ सालमा सरस्वती क्याम्पसमा विद्यार्थी युनियनको सभापति चुनिए । २०२४ सालमा प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिव भए । २०२७ सालमा नेपाल विद्यार्थी संघ स्थापनामा अग्र मोर्चामा उभिए र संस्थापक केन्द्रीय सदस्य बने । ३० बर्षे पञ्चायती व्यवस्था विरुद्ध बिभिन्न मोर्चामा लड्दा लड्दै पौडेलको राजनीतिमा परिपक्कता आयो । २०४० सालमा नेपाली कांग्रेसले पौडेललाई केन्द्रीय प्रचार समितिको संयोजक बनायो । २०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बने । त्यसपछि पौडेल निरन्तर कांग्रेसको केन्द्रीय समितिमा क्रियाशील छन् ।
२०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भएपछि, २०४८ सालको निर्वाचनमा पौडेल तनहुँ १ बाट प्रतिनिधि सभा सदस्य चुनिए । त्यसपछि बनेको कांग्रेसको बहुमतको सरकारमा स्थानीय विकासमन्त्री तथा कृषि मन्त्री बने । २०५१ सालमा कांग्रेस भित्र चर्केको अन्तरद्धन्द्धले मुलुकलाई मध्यावधीमा लग्यो । मध्यावधि चुनावमा पनि तनहुँ २ बाट पौडेल सांसद चुनीए । मनमोहन अधिकारीको अल्पमतको सरकार बन्दा, पौडेल प्रतिनिधिसभामा सभामुख निर्वाचित भए । ५ वर्ष सभामुखको भुमिकामा रहंदा पौडेलको भुमिका सन्तुलित् नै रह्यो । २०५६ सालको चुनावमा पौडेल तनहुँ २ बाट तेस्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । २०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्री बनेपछि २०६२ सालमा पौडेल कांग्रेसको महामन्त्री बने ।
२०६३ सालमा तत्कालीन बिद्रोही नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति सचिवालयाको संयोजक बनेर संयोजनकारी भुमिका खेलेका पौडेल, २०६३ सालमा माओवादी सहितको सरकारमा शान्ति तथा पुनर्निमाण मन्त्री बने । पहिलो संविधानसभा चुनावमा तनहुँ २ बाट चौथोपटक निर्वाचित भएर पहिलो पटक नेपाली कांग्रेस संसदीय दलको नेता बने । तर करिब तीन दशकसम्म संसदीय चुनावमा जीत हात पार्दै आएका पौडेलको राजनीतिमा यही कार्यकालमा, तत्कालीन संवैधानिक व्यवस्थाका कारण राजनीतिक धब्बा लाग्यो ।। संसदमा प्रधानमन्त्री पदमा १७ पटक सम्म पराजय भोग्नु प¥यो । २०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, एमाओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट झलनाथ खनाल उम्मेदवार थिए । अहिले संयोग नै मान्नुपर्छ, १२ बर्ष अघी प्रधानमन्त्री बन्ने प्रक्रियामा पौडेलको तगारो बनेका तिनै प्रचण्ड अनि पौडेलसँग १७ पटक प्रतिस्पर्धा गरेर प्रधानमन्त्री चुनिएका झलनाथ खनालको रणनीतिक समिकरणले पौडेललाई मुलुकको राष्ट्रपति बनाएको छ ।
राजनीतिक यात्रा कै पृष्ठभुमी हेर्दा, २०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौंपटक निर्वाचित भएका पौडेलले पञ्चायती राजतन्त्र विरुद्धको संघर्षका क्रममा २०१९ देखि २०४६ साल सम्म पटक पटक १३ वर्ष जेल जीवन बिताएका छन् । त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर सँगै संस्कृत साहित्यमा शास्त्री पास गरेका पौडेलको प्रजातान्त्रिक समाजवादः एक अध्ययन, नेपाली कांग्रेस के भन्छ ? नयाँ सन्दर्भमा समाजवाद लगायतका पुस्तक प्रकासित छन् ।
लेखन सँगै पौडेलको राजनीतिक छवी निरन्तरः समन्वयकारी एवं मध्यमार्गी धार कै रहंदै आएको छ । जो पटक–पटक मन्त्री भएर सरकारमा गए, पार्टीमा महामन्त्री र उपसभापतिसम्म भए । तर, पनि सरकार र पार्टी दुवैतर्फको पहिलो स्थान हासिल गर्ने अवसर कहिल्यै जुरेन । पार्टीको १३ औं महाधीवेसनमा पहिलोपटक सभापतिमा उम्मेदवारी दिएर त्यसैलाई आफ्नो पहिलो र अन्तिम परीक्षा बनाएका पौडेलले जित–हारलाई राजनीतिक भविश्यसँग कहिल्यै जोडेनन् । त्यसैको परिणामः अहिले पौडेलले जीवनको अन्तिम तर अद्धित्तिय सफलता चुमेका छन् ।
नेपाली कांग्रेसभित्र मूल्यमान्यता र आदर्शको राजनीति गर्दा गर्दै गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सीके प्रसाई, महेन्द्रनारायण निधि, भीमबहादुर तामाङ, महेश्वरप्रसाद सिंहजस्ता नेताको जस्तै नियतिमा धकेलीने अवस्था आउँदा पनि आफ्नो राजनीतिक सक्रियतालाई अन्तिम पूँजी बनाएका पौडेललाई आज त्यही पूँजीले शितल निवास पु¥याएको छ । जसले अहिले पनि नेपाली कांग्रेसभित्र थोरै भएपनि नीतिगत–वैचारिक चिन्तन गर्न सक्ने नेताको छवी जोगाई रहेका थिए ।
पौडेल, न पटक–पटक मन्त्री हुँदा गम्भीर विवादमा मुछिए न पार्टीभित्र च्याउझैं गुट र उपगुट जन्मिँदा आफ्नै गुट बनाएर राजनीतिमा हावी हुनसके ।
त्यसैले तः अन्तरपार्टी वार्तालापमा कांग्रेसको आधिकारिक लाइनको वकालत गर्ने पौडेलको काँधमा अहिले संविधान संरक्षकको जिम्मेवारी आएको छ । राष्ट्रिय नेता हैन–राष्ट्रपति बनेर फराकीलो दायराबाट भुमिका खेल्ने जिम्मेवारी थपिएको छ । अनि पौडेललाई, समयले पेचीलो बनाई रहेको राष्ट्रिय स्वाधिनता, राष्ट्रिय एकता र मुलुकको सम्बृद्धिका लागि, परिवारवादको जालो बाट माथि उठ्दै, आफ्नो निष्ठा संरक्षणसंगै राष्ट्रिय एकताको प्रतिक बन्नुपर्ने भुमिका दिएको छ । जो कहिल्यै चतुर राजनीतिक खेलाडी बन्न सकेनन् तर शितल निवासको जग राजनीतिक दाउपेचको शिकार बन्न हुन्न भन्ने मान्यतामा अडिग रहे ।
आज शितल निवासको त्यही खल्वलीएको जगमा उभिएर ७८ वर्षीय रामचन्द्र पौडेलले कम्तिमा ५ बर्ष, मुलुकको निष्ठा, इमान र लोकतन्त्रको संरक्षक बन्नुपर्ने भएको छ । शितल निवासलाई पार्टी राजनीतिको प्रभावबाट अलग गराउनु पर्ने र अभिभावकको भुमिकामा सतीशाल जस्तै उभिनुपर्ने जिम्मेवारी आएको छ । पौडेलले फागुन २९ गते औपचारीक रुपमा शितल निवासको वागडोर सम्हाल्ने छन् । वाग्मती टेलिभिजन परिवार, पौडेललाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछ ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay