Wednesday Sep 09, 2026


राष्ट्रपति भण्डारीको निजी जग्गामा करोडौं खर्चेर भव्य आवास बनाउन प्रस्ताव !

Image
१७ माघ २०७९, मङ्गलवार
Avatar
नेपालि खबर

काठमाडौं । मुलुक चरम आर्थिक संकटमा पुगेको बेला सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि भण्डारी कै निजी जग्गामा सुविधासम्पन्न निवास निर्माण गरिदिने तयारी थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले भण्डारीको अवकाशपछि प्रयोग हुनेगरी निवास निर्माणसम्बन्धी योजना अघि बढाएको हो । श्रोतका अनुसार, राष्ट्रपतिको अवकाशपछि सहज बसोबासका लागि राज्यकै तर्फबाट निवास बनाइदिने प्रस्ताव आएको छ’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयस्रोतले भन्यो, ‘यो प्रस्ताव छिट्टै मन्त्रिपरिषद बैठकमा पेश भएर निर्णय भए आश्चर्य हुनेछैन ।’

सरकारले सरकारी जग्गामा भवन बनाएर राष्ट्रपति भण्डारीलाई अवकाशपछि व्यवस्थापन गर्न लागेको होइन । अहिले राष्ट्रपतिको परिवारका सदस्यको नाममा काठमाडौं उपत्यकाभित्र रहेको जग्गामा नै सरकारले निवास निर्माण गरिदिने गरी प्रस्ताव आएको हो । जुन जमिन भण्डारीको छोरी ज्वाईंको नाममा रहेको छ, अहिले सोही जमिनमा राज्यको लगानीमा संरचना बनाउन प्रस्ताव भएको बुझिन्छ ।

‘अवकाश पाएपछि उहाँको सम्मान र सुरक्षाको दृष्टिकोणले समेत सुरक्षाकर्मीको टुकडी उहाँको निवासमा बस्नुपर्ने हुन्छ । अहिलेको उहाँको निजी घर निकै साँघुरो भएकाले उनीहरुलाई व्यवस्थापन गर्न सम्भव हुने देखिएन’, शितलनिवासको सन्देश उधृत गर्दै प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘त्यसैले उहाँको नाममा रहेको जग्गामा सुरक्षाकर्मीको टोलीसमेत व्यवस्थापन हुनेगरी निवास, सुरक्षाकर्मीहरुको क्वार्टर र पहरा दिने संरचना निर्माण गरिदिन प्रस्ताव आएको हो ।’

सरकारले अवकाशप्राप्त विशिष्ट व्यक्ति तथा पूर्वपदाधिकारीहरुको सेवा सुविधासम्बन्धी छुट्टै कानूनी व्यवस्था गर्न सकेको छैन । अहिलेसम्म पूर्वविशिष्ट पदाधिकारीहरुको सुविधाका वारेमा भएका निर्णयहरु कार्यकारी (मन्त्रिपरिषद्को निर्णयबाट) प्रकृतिका छन् ।

अवकाश पाएका राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, पूर्वप्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरुले मन्त्रिपरिषदको निर्णयका आधारमा सुरक्षाकर्मी, घरभाडा, गाडी, इन्धन, सचिवालयका कर्मचारीहरु प्रयोग गर्दै आइरहेका छन् । कतिपय पूर्वपदाधिकारीहरुले निर्णयभन्दा बढी सुविधासमेत लिएका छन् ।

अहिले पूर्वराष्ट्रपतिले सचिवालयका लागि दुई कर्मचारी पाउँछन् । सुरक्षाको लागि सेनाको १०÷१२ जनाको टुकडी रहन्छ । बहालवाला राष्ट्रपतिको पारिश्रमिकको आधा हुनेगरी भत्ता, पत्रपत्रिका, टेलिफोन, सवारीसाधन र इन्धनको सुविधाको व्यवस्था गरिएको छ ।

पूर्व विशिष्ट पदाधिकारीहरुलाई राज्यको क्षमता अनुसार सुविधा दिने विषय मै आलोचना भईरहेको बेला प्रचण्ड नेतृत्वको सरकारले निजी सम्पत्तिमा सरकारी खर्चमा भव्य संरचना बनाउन खोजेपछि चौतर्फि आलोचना सुरु भईसकेको छ । किनकी गृह मन्त्रालय, अर्थमन्त्रालय तथा स्वयं प्रधानमन्त्रीको कार्यालयल कै अधिकारीले यो प्रस्ताव कुनै पनि दृष्टिकोणले उचित नभएको प्रतिक्रिया दिएका छन् ।

यसअघी सरकारले किसुनजी (पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई) का लागि बाडेगाँउमा आश्रम नै बनाइदिएको नजिर छ जुन संरचना भट्टराईले बाचुन्जेल भोगचलन गरेपछि स्वतः राज्य मातहत अथवा ट्रष्ट मातहत आएको छ ।

अहिले पनि सरकारले पूर्वविशिष्ट पदाधिकारीहरुका लागि आजीवन सुविधा दिन सक्ला । तर निजी जग्गामै भवन बनाइदिनुपर्ने प्रस्ताव दुर्भाग्यपूर्ण हो, श्रोतका अनुसार अधिकारीहरुले यस्तै सुझाव दिईरहेका छन् । 

तर पनि राष्ट्रपति कार्यालयका प्रेस विज्ञ टीका ढकालले राष्ट्रपति भण्डारीको अवकाशपछिको विषयमा कुनै तयारी नभएको प्रतिक्रिया दिए । ‘हामीले यहाँबाट प्रस्ताव पठाउने त टाढाको कुरा, कुनै छलफल समेत गरेका छैनौं, गर्ने कुरा पनि हुदैन’ उनले भने, ‘आगामी दिनमा समेत राष्ट्रपति कार्यालयबाट यस्तो खालको प्रस्ताव जाने सम्भावना छैन ।’

प्रथम राष्ट्रपति रामवरण यादवका लागि पनि सरकारले निजी निवास व्यवस्था गरेको छ । तर त्यो निवास भने बागडोल ललितपुरस्थित भाडाको घरमा व्यवस्था गरिएको हो ।

२०६८ मंसिरमा सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर पूर्व पदाधिकारीहरुलाई सुविधा दिने निर्णय गरेको थियो । सरकारको निर्णयविरुद्ध मुद्दा परेपछि २२ मंसिर २०६८ मा सर्वोच्च अदालतले ‘कानून बनाएर मात्रै सुविधा दिनु’ भनी निर्णय खारेज गरिदियो । त्यसपछि सरकारले ६ चैत २०७३ मा पूर्व विशिष्ट पदाधिकारीको सुविधासम्बन्धी विधेयक संसदमा पेश समेत भयो, तर अघि बढ्न सकेन ।


Advertisement

सम्बन्धित खबर