Wednesday Sep 09, 2026


राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज मनोनयन: कांग्रेसले उम्मेदवारी नदिने

Image
२२ माघ २०७९, आइतवार
Avatar
नेपालि खबर

काठमाडौ ।  राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयले यसका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म ल्होत्से हलमा प्रस्ताव दर्ता गर्न सकिने जनाएको छ ।


आज दिउँसो ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने र त्यसपछि दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भोलि सोमवार दिउँसो १२ बजे उपाध्यक्ष चयनको मिति तय गरेका हुन् । 


तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि राष्ट्रिय सभाको उपाध्यक्षको पद रिक्त छ । उपाध्यक्ष  पदमा  सत्ता  गठबन्धनबाट माओवादी केन्द्रका उर्मिला अर्यालले उम्मेदवारी दिने तयारी छ । राष्ट्रिय सभामा अर्याल मधेस प्रदेशबाट सदस्य निर्वाचित सदस्य हुन् ।


सत्तारूढ  दलहरू  नेकपा  एमालेका  १६,  नेकपा  माओवादी  केन्द्रका  १५  गरी  ३१  जना  राष्ट्रिय सभा सदस्य छन् । ५९ सदस्यीय राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित हुन २९ मत आवश्यक हुनेछ । आफ्नो उम्मेदवार स्वतः पराजित हुने अंक गणित् पछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले भने उम्मेदवारी नदिने निर्णय गरिसकेका छन् ।


नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको हो । उसले नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको छ । राष्ट्रिय सभा उपाध्यक्ष पदको उम्मेदवारबारे छलफल गर्न आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा संसदीय समितिको बैठक बसेको थियो । बैठकपछि कांग्रेसका प्रमुख सचेतक एवम् संसदीय समितिका पदेन सदस्य रमेश लेखकले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने निर्णय भएको जानकारी दिएका हुन् । सत्ताबाहिरका नेपाली कांग्रेसका  १०,  नेकपा  एकीकृत  समाजवादीका  आठ,  जनता  समाजवादी  पार्टी  नेपालका  तीन,  लोकतान्त्रिक समाजवादी पार्टीका एक र राष्ट्रिय जनमोर्चाका एक गरी २३ जना सदस्य छन् । एक जना स्वतन्त्र र तीन जना मनोनीत छन् । रिक्त एक पदका लागि माघ २५ गते उपचुनाव हुँदैछ।

Advertisement

सम्बन्धित खबर