काठमाडौ ।मलमास अर्थात् अधिक वर्षका कारण आउँदो वर्ष २०८० सालका प्रायः सबै चाडपर्व झण्डै तीन हप्ता पछाडिसम्म धकेलिएका छन् ।
साउन महिनामा मलमास सुरु हुने भएकाले साउन कृष्णपक्ष पछाडिका सबै चाडपर्व १५ देखि १९ दिनसम्म पछाडि धकेलिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।
यसअनुसार २०८० सालमा तीजको व्रत असोज १ गते परेको छ । जबकी यस वर्षको तीज भदौ १४ मा मनाइएको थियो । यसपालि असोज १० गते घटस्थापनापछि दशैँ सुरु भएकोमा २०८० सालको घटस्थापना भने असोज २८ गते परेको छ ।
यस्तै कात्तिक ४ गते फूलपाती, ५ गते महाष्टमी, ६ गते महानवमी, कात्तिक ७ गते विजयादशी र ११ गते कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार कात्तिक २७ गते लक्ष्मीपूजा र कात्तिक २९ गते भाइटीका परेको छ ।
यसपालि कात्तिक १३ मा मनाइएको छठ पर्व २०८० सालमा भने मंसिर ३ गते परेको छ । मलमासकै कारण २०८० सालको चैते दशैँ २०८१ मा पुगेको छ । २०८० को चैत मसान्तमै चतुर्थी तिथि सकिने भएकाले चैता अष्टमीमा मनाइने चैते दशैँ २०८१ को वैशाखमा परेको समितिले जनाएको छ । यसवर्ष २०७९ को चैते दशैँ भने आउँदो चैत १५ गते मनाइँदैछ ।
फागुनमा मात्रै ११ दिन सार्वजनिक बिदा
फागुन महिनाभर ११ वटा सार्वजनिक बिदा पर्ने भएका छन् । विभिन्न दिवस, पर्व र शनिबारीय सहित ११ वटा सार्वजनिक बिदा पर्ने भएका हुन्। आज फागुन १ गते सरकारले जनयुद्ध दिवसको बिदा दिएको छ। ७ गते प्रजातन्त्र दिवस, ९ गते ग्याल्पो ल्होछार, १५ गते मगर दिवस, २२ र २३ गते पहाड र तराईमा फागुपूर्णिमा तथा २४ गते नारी दिवसको सार्वजनिक बिदा छ।
मगर दिवस राजपत्रमा प्रकाशित बिदामा सूचिकृत नभए पनि अधिकांश स्थानीय तहले बिदा दिने गरेका छन्। यसैगरी फागुन ६, १३, २० र २७ गते शनिबारको बिदा छ। फागुनकै ३ गते लुम्बिनी प्रदेशले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश स्तरीय बिदा दिएमा सार्वजनिक बिदाको संख्या १२ पुग्नेछ।
प्रदेश सरकारले पनि आ–आफ्नो प्रदेशको धर्म, संस्कृतिलगायतका अवसरमा वर्षमा अतिरिक्त ६ दिन बिदा दिन पाउँछन्। राजपत्रमा प्रकाशित सरकारी बिदाअनुसार यो वर्ष राष्ट्रिय स्तरका १ सय ३६ बिदा परेका छन्। तर प्रदेशहरुले पनि आफू अनुकुलका बिदा दिँदा सार्वजनिक बिदाको संख्या थपिँदै गएको छ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay