Wednesday Sep 09, 2026


इतिहास रच्दै प्रचण्डः प्रतिनिधि सभा प्रतिपक्षीविहिन बन्दै

Image
२६ पुष २०७९, मङ्गलवार
Avatar
नेपालि खबर

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको एक नेताले जानकारी दिए । ती नेताले भने, ‘प्रतिपक्षीमा रहने गरी विश्वासको मत दिने निर्णय भएको छ ।

’यस्तै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ ।

लोसपाका सांसद शरत सिंह भण्डारीका अनुसार विश्वासको मत लिएर प्रतिपक्षमा बस्ने निर्णय अध्यक्ष महन्थ ठाकुरले सुनाएका हुन् ।

यसअघि लोसपाको संसदीय दलको बैठकले अध्यक्ष ठाकुरलाई विश्वासको मतबारे निर्णय गर्ने अधिकार थियो । ‘अध्यक्षज्युले विश्वासको मत दिने तर, प्रतिपक्षमा बस्ने निर्णय लिनुभएको छ’ भण्डारीले  भने ।

प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । त्यस अगावै लोसपाले आफ्नो निर्णय सुनाएको हो ।

यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आज बिहान बसेको बैठकले शर्तसहित विश्वासको मत दिने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।


‘बैठकले शर्तसहित समर्थन गर्ने भन्ने निर्णय गरेको छ । अहिले विश्वासको मत दिन्छ’ खतिवडाले भने, ‘हाम्रा एजेन्डाहरू राखिनेछन् । ती एजेन्डा पूरा नगरेमा कुनै पनि बेलामा त्यहाँबाट फर्कनसक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने भन्ने हाम्रो निर्णय छ ।’

राष्ट्रियता, सुशासन, बिग्रिंदै गएको अर्थतन्त्र र राष्ट्रिय महत्वका विषय आफ्ना एजेन्डा रहेको खतिवडाले बताए ।

Advertisement

सम्बन्धित खबर