काठमाडौ । सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज दिउँसो ३ बजे बस्दैछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो संयन्त्रका संयोजक समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि आज संयन्त्रको बैठक बस्न लागेको हो।ओलीसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आज संयन्त्रको बैठक बस्ने र राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने बताएका थिए। प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बैठकमा राष्ट्रपति र सुदुर पश्चिम प्रदेश सरकारका विषयमा छलफल हुने बताएका छन्।
राष्ट्रपतिको उम्मेदवारबारे प्रचण्ड र ओलीबीच समान धारणा बनिसकेको छैन । प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन्। ओलीले पुस १० मा भएको सहमति अनुसार एमालेका उम्मेदवारलाई साझा उम्मेदवारका रुपमा अघि सार्नुपर्ने अडान लिँदै आएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि पहिलोपटक संयन्त्रको बैठक बस्न लागेको हो। बैठकमा राष्ट्रपतिको उम्मेदवारसँगै सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको विश्वासको मत लिन देखिएको संकट र सरकारका कामकारबाहीबारे निर्णयक छलफल हुने नेताहरुले दावी गरेका छन् ।
यसैबीच, रेशम चौधरीको रिहाईको विषयमा सत्ता गठबन्धनले लिखित प्रतिवद्धता नजनाएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक दिउँसो ४ बजेसम्मका लागि सरेको छ। मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बिहीबार १ बजेका लागि बैठक बोलाइएको थियो । तर नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने निश्चय अझै नगरेकाले बैठकको समय सारिएको हो ।
नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद काठमाडौंमा छन् । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो । नागरिक उन्मुक्ति पार्टीका सांसदले मत नदिए रावल नेतृत्वको सरकार ढल्छ । नागरिक उन्मुक्तिले आफ्ना नेता रेशम चौधरीको रिहाइ वा रिहाइको लिखित प्रतिबद्धता नगर्दासम्म विश्वासको मत नदिने अडान राखिरहेको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११, एमालेका १०, नाउपाका ७ र राप्रपाका १ जना सांसद छन् । नाउपाले विश्वासको मत नदिएको अवस्थामा सरकारलाई बहुमत पुग्दैन ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूहरूको माग पूरा नभएसम्म सरकारलाई विश्वासको मत नदिने अडान कायम रहेको बताइन् । उनले केही समयअगाडि सामाजिक सञ्जालमा सुदूरपश्चिमका ७ सांसदसहितको तस्बिरसमेत सामाजिक सञ्जालमा राखेकी छिन् ।
सुदूरपश्चिमका सांसद खुशीराम चौधरीले समेत आफूहरू पुरानै अडानमा रहेको र विश्वासको मत पाउनेरनपाउने कुरा सरकारको हातमा रहेको बताए ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay