देशको मायाँ छ भने साईंला दाई, उठ है लड्नलाई...
माटोको माया छ भने माईला दाई, तयार हौ भिड्नलाई...
व्यस्त जंगलको बिचमा, नाचिरहेका कलाकार.... गितले भने जस्तै, यतिबेला नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको राजनितिक दैनिकी पनि बदलिएको छ । कलाकारहरु कलाकारीताको अभ्यास गरिरहेका छन । नेताहरु राजनितिक अभ्यास, कतै बैठक– कतै भेला त कतै सामुहिक काम । यो विप्लव नेतृत्वको नेकपाको पछिल्लो अभ्यास हो । विप्लव पनि यसैमा व्यस्त छन् ।
क्रान्ति गछौँ भन्दै सरकार बिरुद्ध बिद्रोह सुरु गरेको नेकपालाई २०७५ साल फागुन २८ गते तत्कालीन सरकारले प्रतिबन्ध लगाएको थियो । जुन सरकारको निर्णय धेरैका लागि ‘सरप्राइज’ थियो ।
नभन्दै जसरी सरकारले प्रतिबन्ध लगाएको थियो, त्यसको दुई वर्षपछि अर्को ‘सरप्राइज’ दिने गरी विप्लव समूहसँग २०७७ साल फागुन २१ गते, ३ बुंदे सहमतिमा हस्ताक्षर भयो । विप्लव काठमाडौंमा सार्वजनिक भए ।
शान्तिपुर्ण राजनितिमा आइसकेपछि बिप्लवको पाटीको भुमिका मात्रै हैन, पार्टी महासचिब रहेका नेत्रबिक्रम चन्द विप्लवको दैनिकि पनि बदलिएको छ । विप्लव काम मै व्यस्त छन् ।
छुटै वाताबरणमा रहेका विप्लवको आफनै संरचना छ । कपिलवस्तुको शिवगढीमा श्रम र पसिना बगाउने आफ्नै कर्मथलो छ । रोल्पामा जन्मीएका विप्लवको राजनीतिक यात्रा २०३९ सालमा अखिल छैठौँबाट सुरु भएको हो । जो केहि समययता, परिवारसंगै कपिलबस्तुको शिवराज नगरपालिका– ९ शिवगढीमा बस्दै आएका छन ।
नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध थाल्दा माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) का उपाध्यक्ष रहेका विप्लव हक्की, आँटिलो र विद्रोही स्वाभावका नेता मानिन्छन् । जो छोटो समयमै, २०५४ सालमा पार्टीको कर्णाली उपक्षेत्रीय ब्युरो इञ्चार्ज हुंदै २०५५ भदौमा माओवादीको केन्द्रीय सदस्य बनेका थिए ।
२०६३ सालसम्म आइपुग्दा तत्कालीन माओवादीका ‘सुप्रिम कमाण्डर’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विश्वास पात्रका रुपमा पार्टीमा प्रभाव जमाएका तिनै विप्लव अहिले नेकपा माओवादीबाट निकै टाढा छन् ।
२०६३ सालमा भएको बृहत शान्ति सम्झौता पछि, निरन्तर असन्तुष्टि व्यक्त गर्दै आएका विप्लव ‘प्रचण्ड–बाबुरामको आत्मसमर्पणवाद र विसर्जनवादबाट माओवादी जनयुद्धको क्रान्तिकारी आन्दोलन रक्षा गरेको’ भन्दै २०६९ सालमा मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी–माओवादीमा जोडीन पुगे । तर, क्रान्तिकारी स्वाभावका विप्लव त्यसको दुई वर्ष मै २०७१ मंसिर ८ गते नयाँ पार्टी घोषणा गरे ।
‘एकीकृत जनक्रान्ति’ को अवधारणा अघि सारे । संसदीय व्यवस्था र वैज्ञानिक समाजवादको विषयमा जनमत संग्रह हुनुपर्ने माग राखे । आफ्नै जनमुक्ति सेना बनाए । वम बारुदको श्रृंखला सुरु भयो । संसदीय चुनाव बहिश्कार गरे ।
तर क्रान्तिकारी छवीको वेग्लै कम्नुष्टि पार्टी खोलेको आठ बर्षपछि तिनै विप्लव वाम धुव्रिकरणको पक्षमा खुलेका छन् । किनकी कम्युनिष्ट विचारक कमजोर बन्दा, नेपालको कम्युनिष्ट आन्दोलन कमजोर भएको विप्लवलाई अनुभुति हुन थालेको छ । विप्लव भन्छन्– कम्युनिष्ट विचारकहरु अब बैचारीक रुपमा एकताबद्ध हुनुपर्ने बेला आएको छ ।
शान्तिप्रक्रिया सुरु भएपछि विस्तारै प्रचण्डसँग टाढिँदै गएका विप्लव सँग युद्धकालमा कर्णालीका कैयौं प्रहरी चौकी आक्रमणका सफल अनुभव जोडीएका छन् । युद्धकालमा सुरक्षाकर्मीसँगको हतियार खोसेर जनमुक्ति सेनालाई थप सम्बृद्ध बनाउन ज्यानको आहुती दिन तयार भएका तिनै विप्लव माथि यो बीचमा, बैज्ञानिक समाजबादको कोरा कल्पना गररे क्रान्तिको भद्धा मजाक गरेको आरोप लागिरहेको छ । किनकी विप्लव नेतृत्वको नेकपा ३ बुंदे सम्झौता पछि न क्रान्तिकारी छवी– न संसदीय राजनीतिमा अभ्यस्त, नेकपा कम्युनिष्ट आन्दोलनको दोवाटोमा अलमलीएको छ, यो कुरामा नेकपाका नेता भरत बम पनि सहमत छन् ।
विप्लव अहिले आफैं, आफ्नो विचार माथि न्याय खोजी रहेका छन् । पार्टीको श्रम नीति अनुसार सामुहिक खेती–पाती अर्थात जनकम्युन अभ्यासमा रमाई रहेका छन् । यो नेकपाको श्रम निति हो । त्यसैले उनि खेतीपातिमा ब्यस्त छन् ।
२०२४ साल फागुन ११ गते रोल्पाको केवरी भन्ने ठाउँमा जन्मिएका नेत्रविक्रम चन्द विप्लव मध्यम वर्गीय परिवारका कान्छा छोरा, बाल्यकाल रोल्पा मैँ बिते पनि २०४५ साल यता सपरिवार कपिलवस्तुको शिवगढीमा बस्दै आएका छन् ।
विप्लवको जीवन शैली आम नेताहरुको भन्दा भिन्न छ । जो प्राय कपिलबस्तु मै बस्छन् । किनकी ‘विप्लव’ नेतृत्वको नेकपाले पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तुमै बन्दै छ । काठमाडौमा नेकपाको कुनै सम्पर्क कार्यालय छैन । त्यसैले शिवगढीमा ‘मिनी रोल्पा’ को जस्तै अनुभुति हुन्छ । यो, जनयुद्धकालीन ‘फौजी लडाइँ त्यागेर राजनीतिक लडाइँ लड्दै गर्दा हामी अहिले पनि जनताको वीच मै छौं भन्ने राजनीतिक विम्व हो । किनकी, नेकपा, एकीकृत जनक्रान्तिमा सहर र गाउँ जोडेर गरिने विद्रोह त्यागेर अहिले शान्तिपूर्ण संघर्षको चरणमा छ । नेकपा माओवादीका केन्द्रीय सदस्य सञ्जीव भन्छन्, यो क्रान्ति कै अर्को चरण हो ।
यो शिवगढीमा रहेको विप्लवको दरवार । झट्ट हेर्दा लाल दरबार जस्तै देखिन्छ । यो भवन निमार्णमा दुई करोड रुपैंया भन्दा बढी खर्च भएको छ । यो भवन परिसरमा करिब पाँच रोपनी जमिन छ । जहाँ नेकपाले नेपालको राजनीतिक विद्रोहहरुमा ज्यान गुमाएका सबै सहिदको तस्विर तथा प्रतिमा राखेर सहिद स्मृति पार्क निर्माण गर्ने योजना बनाएको छ ।
यो सम्पत्ति विप्लवको हैन–यो नेकपाको हो । नेताहरु भन्छन्– यहाँ ‘राणा शासनयता भएका प्रगतिशील आन्दोलनका सम्पूर्ण योद्धा र सहिदहरूको सम्मानमा पार्क बन्ने छ । शिवगढी अर्थात जनकम्युनका रुपमा विकास गरिएको यही जमिनमा जन–स्वास्थ्यको भवन बनिसकेको छ । पार्टीको सम्पर्क कार्यालय र सभागृह भवन बन्ने गुरु योजना बनेको छ ।
कपिलवस्तुलाई विप्लवले किन मिनि रोल्पा अथवा जनकम्युन का रुपमा विकास गरिरहेका छन् त ? के साँच्चै विप्लवको हृदय परिवर्तन भएको हो ? के कार्य दिशा फेरिएको हो ? निकै भावुक तर अविचलीत् विप्लव भन्छन्– समयले नै बताउने छ, किनकी, ‘युुद्धको प्रयोग दश वर्षमा भइसकेको छ तर क्रान्तिको मर्म–भावना र कार्यभार अहिले पनि उत्तिकै सान्दर्भीक छ ।
शान्तिपूर्ण राजनीतिको कार्यदिशा अपनाउने तर संसदीय व्यवस्था स्वीकार नगर्ने नीति लिएका विप्लवले यो बीचमा सशस्त्र युद्धकालको राप जोगाउने हुटहुटीमा ठक्करै ठक्कर खाएका छन् । त्यसैले त, अहिले हठि स्वाभावका तिनै विप्लव–टाढिएका कम्युनिस्ट खेमाभित्र अलग धारको अन्तर्घुलन खोजी रहेका छन् । यो जति राजनीतिक बाध्यता हो–उति नै राजनीतिक आवाश्यकता पनि हो ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay