Wednesday Sep 09, 2026


स्ववियु चुनावको नतिजा आउनेक्रम जारीः अधिकांशमा अखिल र नेविसंघको बर्चश्व

Image
६ चैत २०७९, सोमवार
Avatar
नेपालि खबर

वाग्मती डेस्क।त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा हिजो भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु चुनावको नतिजा आउन थालेको छ ।


काठमाण्डौका ठूला क्याम्पसमध्ये केन्द्रीय क्याम्पस कीर्तिपुर, शंकरदेव, पद्मकन्या, पब्लिक युथ र थापाथली इञ्जिनियरिङ क्याम्पस नेविसङ्घ विजयी भएको छ । महेन्द्ररत्न क्याम्पस ताहाचल, पुल्चोक इञ्जिनियरिङ, महाराजगञ्ज मेडिकल कलेज, महाराजगञ्ज नर्सिङ क्याम्पस  र पिपल क्याम्पसमा अनेरास्ववियु तथा नेपाल ल क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएका छन्। नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुङ्गेल निर्वाचित भएका छन् ।


नेविसङ्घबाट शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा सुशान्त बस्नेत, नेविसङ्घबाट पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा ज्योति पनेरु,  केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा श्यामराज ओझा, थापाथली इञ्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा विक्रम शाही, पब्लिक युथ क्याम्पसको स्ववियु सभापतिमा नविन पाण्डे विजयी भएका छन् ।

अनेरास्ववियुको तर्फबाट काठमाण्डौको महेन्द्ररत्न क्याम्प्स ताहाचलको स्ववियु सभापतिमा ईश्वर थापा, अनेरास्ववियुको तर्फबाट काठमाण्डौको पुल्चोक इञ्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा विराज अर्याल र पिपुल क्याम्पसको स्ववियु सभापतिमा रञ्जित भण्डारी विजयी भएका छन् । महाराजगञ्ज मेडिकल कलेज र महाराजगञ्ज नर्सिङ कलेजमा अनेरास्ववियुको पूरै प्यानल निर्वाचित भएको छ । मेडिकल कलेजको स्ववियु सभापतिमा आनन्दकुमार सिंह नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा नोविना बस्नेत विजयी भएकी हुन् ।


काठमाण्डौबाहिर अनेरास्ववियुले मकवानपुरको हेटौँडा क्याम्पस र निर्मल बहुमुखी क्याम्पस, झापाको कन्काई बहुमुखी क्याम्पस, कैलालीको लम्की बहुमुखी क्याम्पस र चौमाला बहुमुखी क्याम्पस, सर्लाही क्याम्पसमा जित हासिल गरेको छ ।


यस्तै, कपिलवस्तुको बुद्ध भूमि क्याम्पस, फलारी बाबा बहुमुखी क्याम्पस र नेपाल आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी भएको हो । मोरङको लेटाङ बहुमुखी क्याम्पस, नर्सिङ क्याम्पस, रमाइलो क्याम्पस कानेपोखरी र स्नातकोत्तर क्याम्पस विराटनगरमा पनि अनेरास्ववियुले जितेको छ ।


यस्तै पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरान, कञ्चनपुरको कृष्ण बैजनाथ बहुमुखी क्याम्पस, कपिलवस्तु बहुमुखी क्याम्पस, तनहुँको जनज्योति क्याम्पस, गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसमा नेविसङ्घ विजयी भएको छ । रुपन्देहीका ६ वटामध्ये पाँच क्याम्पसको नतिजा सार्वजनिक भएको छ । पाँच वटामध्ये तीन वटामा नेविसङ्घ र दुई वटामा अनेरास्ववियु विजयी भएका छन् । सिरहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसमा जनमत पार्टी निकट जनमत विद्यार्थी सङ्घको प्यानल नै विजयी भएको छ । पश्चिम नवलपरासीको रामग्राम ४ जितपुरमा रहेको पाल्ही बहुमुखी क्याम्पसमा पनि जनमत विद्यार्थी सङ्घको पूरै प्यानल विजयी भएको छ ।


दाङको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पसमा अखिल संयुक्तका हेमन्त बञ्जाडेसहितको प्यानल विजयी भएको छ । काठमाडौको पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघको प्यानलनै विजयी भएको छ। सभापतिमा ज्योति पनेरु विजयी भएकी छन्। उनले अखिल क्रान्तिकारीकी त्रिसना आले मगरलाई पराजित गरेकी हुन्। यस्तै सचिवमा नेविसंघकै भुपेश्री ऐर र कोषाध्यक्षमा श्रेया मैनाली विजयी भएका छन्।


वीरगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ। आइतबार भएको निर्वाचनमा स्ववियू सभापतिमा अनेरास्ववियुकी मनिषा चौधरी निर्वाचित भएकी हुन्। स्ववियूमा एक सदस्यबाहेक सभापतिसहित पदाधिकारी र सदस्यमा अखिल विजयी भएको हो। ९१ मतसहित चौधरी सभापतिमा निर्वाचित भएको निर्वाचन अधिकृत रोमिना श्रेष्ठले जानकारी दिइन्।यस्तै सचिवमा अनेरास्ववियुकै सृष्टि तिमिल्सिना ८९ मत, कोषाध्यक्षमा अनेरास्ववियुकै अर्चना गुप्ता ९२ मत ल्याएर निर्वाचित भएकी छन्। सदस्यमा अनेरास्ववियुकै मुना श्रेष्ठ र विवेक रानाभाट निर्वाचित भएका छन् भने अर्का एक सदस्यमा भने नेविसंघकी स्मृति थापा निर्वाचित भएकी छन्।

बाजुराको बुढीनन्दामा कर्फ्यु:

स्ववियु चुनावको क्रममा झडप भएपछि बाजुराको बुढीनन्दा नगरपालिका–१ र २ मा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।


सत्तारुढ गठबन्धन निकट विद्यार्थी सङ्गठन र एमाले निकट अनेरास्ववियुका विद्यार्थीबीच बुढीनन्दा क्याम्पसको स्ववियु चुनावको मतदानका क्रममा झडप भएपछि सम्भावित घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले हिजो बेलुकी ७ बजेदेखि अहिले बिहान ७ बजेसम्मका लागि कर्फ्यु लगाएको हो ।


बुढीनन्दाको कोल्टीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । झडप साम्य पार्न प्रहरीले हिजो दिउँसो २७ राउन्ड हवाई फायरसहित अश्रुग्यास प्रहार गरेको थियो । झडप भएपछि स्ववियु चुनावको मतदान स्थगित गरिएको छ ।

Advertisement

सम्बन्धित खबर