Wednesday Sep 09, 2026


टर्कीमा स्वास्थ्यसँगै मानवीय संकटः भूकम्पबाट मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

Image
२९ माघ २०७९, आइतवार
Avatar
नेपालि खबर

एजेन्सी । शक्तिशाली भूकम्पमा परी टर्कीए र सिरियामा  मृत्यु हुनेको संख्या २८  हजार नाघेको छ । 

टर्कीएमा मात्रै २४  हजार ६२७ जना र सिरियामा तीन हजार, ५७५  जनाले ज्यान गुमाका छन्। मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीले करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ। टर्कीए र सिरियाका नौ लाख भूकम्पपीडितलाई  खाना तत्काल आवश्यक भएको बताएका छन्।

टर्कीएले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको जनाएको छ। उद्धारकर्मीहरू भूकम्पपछिका एक सय घण्टादेखि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकेकामा त्यसलाई चमत्कार भनेका छन्। भूकम्प गएको १२९ घण्टापछि एकै परिवारका पाँच सदस्यको जीवितै उद्धार गरिएको छ। 

कठ्याङ्ग्रिने चिसोमा पनि आश मारेका मानिसलाई सकुशल भेट्दा आफन्त भावविभोर भएका छन्। मानवीय सहायतासम्बन्धी राष्ट्रसङ्घका प्रमुखले एक सय वर्षपछि यति शक्तिशाली भूकम्प यस क्षेत्रमा भएको बताएका छन् । भूकम्प आएको १२८ घण्टापछि हटाईमा एक जना १३ वर्षका बालकको भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ। अर्दा क्यान ओभुलाई दक्षिणी टर्कीमा एउटा भत्किएको घरबाट बाहिर निकालेर स्ट्रेचरमा राखिएका तस्बिरहरू सार्वजनिक भएका छन्।


भूकम्पको केन्द्रबिन्दु रहेको गाजियान्टेपमा एकजना गर्भवती महिला र उनकी सानी छोरीको ११५ घण्टापछि जीवित उद्धार गरिएको छ। भत्किएको भवनबाट ती महिला र बालिकालाई निकाल्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखिएका छन्।

टर्कीमा गत सोमवार बिहानै ७.८ म्याग्निच्युडको भूकम्प आएको थियो । अपराह्न पुन ७.५ म्याग्निच्युडको दोस्रो भूकम्पले थप क्षति पुर्‍याएको थियो।

भूकम्प प्रभावित क्षेत्रहरूबाट ११० घण्टा पछिसम्म पनि एक जना किशोरी सहित कैयौँ मानिसहरू जीवितै उद्धार गरिएका विवरण आएका छन्।

जर्मन विपद् प्रतिकार्य संस्थाले भग्नावशेषमा च्यापिएकी एकजना बालिकालाई ११० घण्टापछि जीवितै उद्धार गरेको भिडिओ सार्वजनिक गरेको छ।

टर्कीको मानवीयता सहायता संस्थाले समेत एकजना पुरुषलाई स्ट्रेचरमा हालेर एम्बुलेन्समा लैजाँदै गरेको भिडिओ सार्वजनिक गरेको छ।

पहिलो र सबैभन्दा शक्तिशाली भूकम्पको केन्द्रबिन्दु रहेको गाजियान्टेपमा शनिवार समेत परकम्पहरू महसुस भएका छन्। पछिल्लो परकम्प ४।६ म्याग्निच्युड मापन गरिएको छ। 

सिरियाका सरकारी सञ्चार माध्यमहरूका अनुसार दमास्कसले अब आफ्ना नियन्त्रण रेखा हुँदै विद्रोही नियन्त्रित क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता पठाउने अनुमति दिएको छ।

राष्ट्रसङ्घीय महासचिवका एकजना प्रवक्ताले बीबीसीलाई बताए अनुसार उनीहरू विद्रोही पकड क्षेत्रमा सक्दो छिटो थप सहायता पुर्‍याउने प्रयास गरिरहेका छन्। उनले यति बेला सिरियामा रहेको भन्दा थप जटिल आपत्कालको कल्पना गर्न कठिन रहेकोू बताएका छन्।  सिरियामा मात्र ५३ लाख मानिसहरू घरबारविहीन बनेको आशङ्का गरिएको छ।

संयुक्त राष्ट्रसङ्घले ठन्डी मौसमकाबीच सीमाका दुवैतर्फ झन्डै नौ लाख मानिसहरूलाई तत्काल तातो खाना आवश्यक पर्ने जनाएको छ।

आवास, पानी, इन्धन र विद्युत् आपूर्तिको अभावका कारण टर्की र सिरियामा अझै कैयौँले ज्यान गुमाउन सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआन र सिरियाका राष्ट्रपति बसर अल असदले सोमवार आ-आफ्नो देशमा भूकम्प प्रभावित क्षेत्रहरूको भ्रमण गरेका छन्।

एर्दोआनले भूकम्पप्रति सरकारको प्रारम्भिक प्रतिक्रिया आफूले सोचे जस्तो छिटो नभएको स्वीकार गरे।

विद्रोहीहरूको नियन्त्रणमा रहेको उत्तरी सिरियामा खटिएका एक चिकित्सकले चिकित्सकीय सहायता बढाउन देशहरूलाई आग्रह गरेका छन्।

Advertisement

सम्बन्धित खबर