Tuesday Apr 21, 2026


दिलीप महतो हत्यामा संलग्न दुई जनालाई २५ वर्ष कैद सजाय

Image
१२ फागुन २०७९, शुक्रवार
Avatar
मधेश ब्युरो

काठमाडौँधनुषाका दिलीप महतोको हत्यामा संलग्न विपिन महतो र मुनिन्द्र महतोलाई २५ वर्षको कैद सजाय सुनाइएको छ । अवैध उत्खननको विरोध गर्दा मनसायपूर्वक दिलीपको हत्या गरेको कसुरमा जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले विपिन र मुनिन्द्रलाई उक्त सजाय सुनाइएको हो ।

त्यस्तै हत्यामा स‌ंलग्न जितेन्द्र महतोलाई भने १२ वर्ष कैद सजाय सुनाइएको छ । गत फागुन २ गते अदालतले विपिन र मुनीन्द्रलाई दिलीपको मनसायपूर्वक हत्या गरेकामा दोषी ठहराइएको हो भने जितेन्द्रलाई हत्याको मतियार भएकामा कसुरदार ठहराए पनि शुक्रबार मात्र फैसला निर्धारण भएको हो ।

अभियुक्त विपिन र मुनिन्द्रलाई अदालतले ५र५ लाख जरिवाना पनि तोकेको छ । जितेन्द्रलाई भने साढे २ लाख क्षतिपूर्ति तोकिएको हो । जिल्ला अदालतका श्रेस्तेदार विकास बस्नेतका अनुसार अभियुक्तहरूले आर्थिक अभावका कारण क्षतिपूर्ति दिन नसक्ने अवस्थामा पीडित राहत कोषबाट भए पनि क्षतिपूर्ति भराउने अदालतको फैसला छ ।

हत्याको अभियोग लागेका उद्योग सञ्चालक विनोद महतो र कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार महतोले भने सफाइ पाएका छन् । घर अगाडिको औरही खोलाबाट भइरहेको ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननको विरोध गर्दा दिलीप भनिने ओमप्रकाश महतोले २०७६ पुस २५ मा ज्यान गुमाएका थिए ।

अनियन्त्रित उत्खननविरुद्ध आवाज उठाइरहेका दिलीपको चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक र कामदारले हत्या गरेको अभियोग लागेको थियो । क्रसर उद्योग सञ्चालक विपिनकुमारले अवैध एवं अनियमित रूपमा बालुवा–गिट्टी उत्खनन गरेको भन्दै विरोध गर्न बिहान ४ बजे खोलामा पुगेका बखत दिलीपको हत्या भएको थियो ।

उद्योग सञ्चालक विपिन तथा उनका कामदारहरू मुनीन्द्र र जितेन्द्रसहितका सात जनाले दिलीपलाई फलामको लिभर र पेचकसले शरीरका विभिन्न भागमा क्रूरतापूर्वक प्रहार गरेर हत्या गरेको सरकारी वकिलको दाबी छ । जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्रमा आक्रमणपश्चात् बेहोस भएर ढलेका दिलीपलाई ना७ख ६४१३ नम्बरको टिपरको पछाडि चक्काले टाउकोमा किचेर सडक दुर्घटनाको रूप दिने प्रयास गरिएको उल्लेख छ । त्यसरी क्रूरतापूर्वक हत्या गर्ने व्यक्तिलाई आजीवन कारावासको सजाय हुने कानुनी व्यवस्था छ । सरकारी वकिलले उनीहरू सातै जनालाई आजीवन कारावासको सजाय माग गरेका छन् ।

भारतको भोपालमा इन्जिनियरिङ पढ्दै गरेका दिलीप अन्तिम सेमेस्टरको परीक्षा दिएर घर आएका थिए । हत्या भएको केही महिनापछि उनी अन्तिम वर्षको अन्तिम सेमेस्टरको परीक्षामा पनि उत्तीर्ण भएको खबर आएको थियो । स्थानीयस्तरमा पहिलेदेखि वातावरण संरक्षण र प्राकृतिक स्रोतको गैरकानुनी रूपमा अनियन्त्रित दोहनविरुद्ध त्रियाशील उनलाई २०७६ को पुसमा निसाना बनाइएको थियो । दिलीपको हत्यापछि उनको परिवारले न्यायका लागि संघर्ष गर्दै आएकामा बुधबारको फैसलाले आफूहरूलाई आंशिक रूपमा भए पनि न्याय दिएको महसुस भएको दिलीपकी बहिनी लक्ष्मी महतोले बताइन् ।

जिल्ला अदालतमा दर्ता भएका मुद्दा अधिकतम साढे एक वर्षमा सकिसक्नुपर्ने न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनाको लक्ष्य भए पनि दिलीपको परिवारले भने न्यायका लागि ३ वर्षभन्दा बढी अवधि प्रतीक्षा गर्नुपर्‍यो । जिल्ला अदालतले दोषी ठहर गरेका तीनै जना पुर्पक्षका लागि थुनामा थिए भने सफाइ पाएका ४ जना धरौटीमा तारिखमा छुटेका थिए । समयमा न्याय नपाएको भन्दै दिलीपका परिवारले बारम्बार काठमाडौंसमेत आएर न्यायिक नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।


उद्योग सञ्चालक विनोदले तारिखमा छुटेपछि उल्टै दिलीपको परिवारविरुद्ध नै जनकपुर उच्च अदालतमा मुद्दा हालेका थिए । उनले दिलीपको परिवारले चुरियामाई बालुवा प्रशोधन उद्योगमा हस्तक्षेप गरेको भन्दै दिलीपका बुबा रामजीवन, आमा चन्द्रकलादेवी र दुई बहिनी संगमकुमारी र लक्ष्मीविरुद्ध मुद्दा हालेका थिए ।


घरेलु तथा साना उद्योग कार्यालय धनुषामा विनोदका भाइ विपिनका नाममा दर्ता भएको उक्त उद्योग दिलीपको हत्यापछि सञ्चालन हुन सकेको थिएन । हत्या अभियोगमा विपिन जेल परेका थिए भने विनोद फरार थिए । अवैध बालुवा, गिट्टी उत्खननलाई रोक्न दिलीपले चलाएको अभियानलाई सफल पार्न भन्दै गाउँका अधिकांश परिवारबाट कम्तीमा एक जना जम्मा भएर २ सय ३२ जनाको भेलाले २०७६ फागुन १० मा औरही खोलामा अवैध उत्खनन रोक्ने निर्णय गरेको थियो । उक्त भेलाले दिलीपलाई पर्यावरण सहिदसमेत घोषणा गरेको थियो ।


त्यस्तै मिथिला नगरपालिकाले नगरभित्र सञ्चालित उद्योगहरूको व्यवस्थापनका लागि गठन गरेको अध्ययन टोलीले स्थलगत अनुगमन र निरीक्षणका आधारमा तयार पारेको ‘औरही, जलाद र जगधर खोलाबाट ढुंगा, गिट्टी र बालुवा संकलन एवं उत्खनन कार्यको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन २०७५’ मा पनि चुरियामाई बालुवा प्रशोधन उद्योगले न्यूनतम मापदण्ड पालना नगरेको उल्लेख छ । उक्त उद्योगले तोकिएभन्दा बढी परिमाणमा र गहिरो गरी उत्खनन गरेको तथा निषेध गरिएको क्षेत्रबाट पनि ढुंगा, गिट्टी, बालुवा झिकेको थियो । यस्ता प्रमाणका आधारमा उक्त उद्योगलाई तत्काल सञ्चालन गर्न दिन नहुने राय राखेका दिलीपका परिवारले त्यसपछि मुद्दा मामिला खेप्नुपरेको थियो ।


दिलीपको हत्याविरुद्ध न्यायका लागि प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय र अदालत धाइरहेका उनको परिवारमाथि हत्याका आरोपितले हालेको मुद्दाको अर्को बोझ थपिएको थियो ।


दिलीपको हत्याविरुद्ध दायर भएको अभियोगपत्रमा अपराधमा प्रयोग गरिएको साधन तथा कसुरजन्य सम्पत्ति रोक्का राख्न तथा नियन्त्रण गरी जफत गर्न माग गरिएको छ । गैरकानुनी रूपमा उत्खनन गरिरहेको उद्योग परिसरमै दिलीपको हत्या भएकाले उक्त सम्पत्ति पनि रोक्का राख्न माग गरिएको थियो । त्यसै कारण पनि उक्त उद्योग सञ्चालन हुन सकेको थिएन । तर, उच्च अदालत जनकपुरले दिलीपको परिवारलाई नै आदेश दिँदै भन्यो, ‘कानुनले नदिएको अधिकार प्रयोग गरी उद्योग सञ्चालनमा अनधिकृत हस्तक्षेप नगर्नू\नगराउनू ।’

पीडित परिवारलाई दुःख दिन अभियुक्तहरूका तर्फबाट दायर मुद्दामा सुनुवाइमा अदालतबाट तुरुन्तै फैसला भयो तर दिलीपको हत्या मुद्दा टुंगिन भने तीन वर्षभन्दा बढी समय प्रतीक्षा गर्नुपर्‍यो । दिलीपका बहिनीहरू संगम र लक्ष्मीले अहिले आएर दाइले सुरु गरेको अभियान अघि बढाइरहेका छन् । संगमको अध्यक्षतामा ‘ओमप्रकाश महतो (दिलीप) पर्यावरण संरक्षण प्रतिष्ठान’ दर्ता गरिएको छ । २०७७ भदौ ३१ मा दर्ता भएको प्रतिष्ठानको पहलमा औरही खोलामा ‘दिलीप चुरे वाटिका’ बनाइँदै छ ।

Advertisement

सम्बन्धित खबर