काठमाडौँ — मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । बिहीबार बिहान १० बजेदेखि संसद् भवन बानेश्वरमा मतदान सुरु भएको हो ।
निर्वाचनमा दुई पूर्वसभामुख रामचन्द्र पौडेल (कांग्रेस) र सुवासचन्द्र नेम्वाङ (एमाले) बीच प्रतिस्पर्धा हुँदै छ । कांग्रेसका पौडेललाई ९ दलको साथ छ भने एमालेका नेम्वाङलाईआफ्नो पार्टीको मात्रै भर छ । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल आइतबार सकिँदै छ । निर्वाचन आयोगले उनको कार्यकाल सकिनुअघि नै नयाँ राष्ट्रपति चुन्न लागेको हो । बिहान १० बजे सुरु भई मतदान अपराह्न ३ बजेसम्म हुनेछ । मतदान सकिएको बढीमा ४ घण्टाभित्र परिणाम आइसक्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताए ।
निर्वाचनमा प्रतिनिधिसभाका २ सय ७२ (फरार १ सहित), राष्ट्रिय सभाका ५९ र सातै प्रदेशसभाका ५ सय ५० गरी ८ सय ८१ मतदाताले भाग लिनेछन् । संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार फरक छ । संघीय संसद् सदस्यको मतभार ७९ छ भने प्रदेशसभा सदस्यको ४८ छ । दुवै सभाको तत्काल कायम रहेका मतदाताको कुल मतभार भने ५२ हजार ६ सय २८ रहेको छ । निर्वाचनमा १४ वटा दलले सहभागिता जनाउँदै छन् । राप्रपाले राष्ट्रपति निर्वाचनमा भाग नलिने घोषणा गरेको छ । राप्रपाका प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सांसद छन् । उनीहरूको मतभार २ हजार ४ सय ५० छ ।
तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछ । कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा दोस्रो चरणमा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मतदान हुनेछ । त्यस्तो मतदानमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेछ । निर्वाचनका लागि दुईवटा मतदान केन्द्र कायम गरिएको छ । ५ सय ५० प्रदेशसभा सदस्यका लागि एउटा, प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य ३ सय ३१ जनाका लागि अर्को मतदान केन्द्र निर्धारण गरिएको छ । एउटा केन्द्रमा सात जना कर्मचारी खटिएका छन् ।
यस्तो छ मतभार
संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद र प्रदेशसभाका सदस्यले मात्रै यो निर्वाचनमा मत हाल्न पाउँछन् । मतभार भने राष्ट्रपतिमा निर्वाचित हुन कुल मतदाताको बहुमत प्राप्त गर्नुपर्छ । संघ र प्रदेशका सांसदको मतभार भने फरक–फरक गणना हुन्छ । संघीय सांसदको मतभार ७९ गणना हुन्छ भने प्रदेशसभा सदस्यको ४८ मतभार राखिएको छ । निर्वाचन आयोगका अनुसार सबै मत खसेमा कुल ५२ हजार ६ सय २८ मतभार हुनेछ ।
कुल मतको बहुमत ल्याउने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुनेछ ।
पौडेललाई सत्ता गठबन्धनको समर्थन छ । उनका पक्षमा आठ दल उभिएका छन् । आठ दलीय गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत, लोसपा, जनमोर्चा र नागरिक उन्मुक्ति छन् । नेम्बाङका पक्षमा अरू दल खुलेका छैनन् । राप्रपाको मत पाउने आशा एमालेले गरेको थियो । तर, राप्रपाले कसैलाई पनि मत नदिने निर्णय बुधबार गरेको छ । आयोगका अनुसार यो निर्वाचनमा ८ सय ८२ मतदाता छन् । संघीय संसद्का ३ सय ३२ र प्रदेशसभाका ५ सय ५० जना छन् । संघीय संसदमा एक पद रिक्त र एक पद निलम्बनमा परेका कारण दुई सिट कम भएको हो । कांग्रेसका टेकबहादुर गुरुङको पद निलम्बनमा छ । सर्वोच्च अदालतको आदेशका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको पद रिक्त छ । जसपाका सांसद सहनाज रहमानको निधन भएको छ । दुई जना संघीय सांसद उपचारका लागि विदेशमा रहेकाले निर्वाचनमा दुई मत कम खस्ने छ ।
कांग्रेसका चन्द्र भण्डारी भारतमा उपचाररत छन् । त्यसकारण ८ सय ८० जनाले मात्रै भाग लिने देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि सरकारलाई समर्थन गरिरहेको छ । उसले कसलाई मत हाल्ने भन्ने विषयमा निर्णय सार्वजनीक गरेको छैन ।
कांग्रेसको प्रतिनिधिसभामा ८९ र राष्ट्रियसभामा १० गरी ९९ मत हुन्छ । संघीय संसदमा कांग्रेसको मतभार ७ हजार ८ सय २१ हुन्छ । टेकबहादुर गुरुङ निलम्बनमा छन् । भण्डारी भारतमा उपचाररत रहेकाले कांग्रेसका दुई जना सांसदले मत हाल्न नपाउने स्थिति छ । प्रदेशसभामा कांग्रेसको १ सय ७५ सिट छ । जसको मतभार ८ हजार ४ सय हुन्छ ।
कांग्रेसको जम्मा मतभार १६ हजार २ सय २१ छ । एक निलम्बन र एक बिरामीका कारण कांग्रेसको मतभार १६ हजार ६३ हुन्छ । माओवादी केन्द्रको प्रतिनिधिसभामा ३२ र राष्ट्रियसभामा १५ गरी संघीय संसदमा ४७ सिट छ । प्रदेशसभामा ८२ सदस्य छन् । संघ र प्रदेशसभा गरी उक्त पार्टीको कुल मतभार ७ हजार ६ सय ४९ हुन्छ ।
संघमा १९ र प्रदेशमा २५ सदस्य भएको एकीकृत समाजवादीको २ हजार ७ सय एक मतभार छ । संघमा १५ र प्रदेशमा २२ सदस्य भएको जसपाको २ हजार २ सय ४१ र संघमा ६ र प्रदेशमा १६ सिट भएको जनमतको १ हजार २ सय ४२ मतभार कायम रहेको आयोगले जनाएको छ । संघमा पाँच र प्रदेशमा १२ सदस्य भएको लोसपाको ९ सय ७१, संघमा चार र प्रदेशमा १२ सदस्य भएको नागरिक उन्मुक्तिको ८ सय ९२ मतभार छ । सत्तारुढ आठ दलको मतभार जोड्दा पौडेलको पक्षमा ३२ हजार १ सय २३ मत पाउने सम्भावना देखिएको छ ।
प्रतिनिधिसभामा ७९ र राष्ट्रियसभामा १७ गरी संघीय संसद्मा एमालेको ९६ सिट छ । प्रदेशसभामा एमालेको १ सय ६२ सिट छ । उक्त पार्टीको जम्मा मतभार १५ हजार ३ सय ६० हुन्छ ।
राप्रपाको मतभार २ हजार ४ सय ५० छ । उसका संघमा १४ र प्रदेशमा २८ सदस्य छन् । तर, राप्रपाले कसैलाई पनि मत नदिने निर्णय गरेको छ । रास्वपाको १९ सिट छ । जसको मतभार १ हजार ५ सय १ छ । रास्वपाले कुन पक्षमा भोट हाल्ने विषयमा मतदान गर्नु अघि मात्रै निर्णय गर्ने रणनीति बनाएको छ ।
संघमा एक र प्रदेशमा तीन सदस्य भएको नेमकिपाको २ सय २३, संघमा दुई र प्रदेशमा एक सिट भएको जनमोर्चाको २ सय ६, संघमा (एक मनोनीतसहित) चार र प्रदेशमा नौ सदस्य रहेका स्वतन्त्रको मतभार ७ सय ४८ छ । प्रदेशतर्फ एक सिट ल्याएको नेपाल समाजवादी पार्टीको ४८, दुई सदस्य जितेको हाम्रो नेपाली पार्टीको ९६, एक सिट जितेको नेपाल संघीय समाजवादीको ४८ मतभार छ । आयोगले संसद् भवन बानेश्वरमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र बनाएको छ । बिहीबार १० बजेबाट सुरु हुने मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म चल्ने छ भने विहिवार नै मत परिणाम सार्वजनीक हुने छ ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay